राम्रा जति डुबे

  प्रकाशित मिति
१६ माघ २०७२, शनिबार ०६:०७


hemanta 2
पछिल्ला समयमा आएका केही राम्रा भनिने फिल्मले न त ग्रामीण भेगलाई छोयो न त शहरीया युवापुस्ताको मन नै बहलाउन सक्यो ।

हलिवुड अनि बलिवुड फिल्म जस्तो नेपाली फिल्ममा ग्रेडको विधि अपनाइएको छैन । ए, बी अनि सी ग्रेडमा हिन्दी अनि अङ्ग्रेजी फिल्म छुट्याइएको हुन्छ । यि फरक ग्रेडका फिल्ममा फरक सोच फरक लगानी फरक कलाकार अनि यि फिल्मका फरक फरक दर्शक हुन्छन् । तर नेपाली फिल्ममा भने न त कुनै फरक ग्रेडको व्यवस्था छ न त फरक फिल्मका फरक दर्शक नै । दर्शक पनि आफै दोधारमा देखिन्छन् । आफूले इच्छाएको फिल्म कुन हो भनेर छुट्याउन नेपाली फिल्मका दर्शकलाई चुनौती समान हुन्छ ।

फिल्मकर्मी पनि आफ्नो कुन फिल्म कुन वर्गका दर्शकको लागि हो आफै छुट्याउन नसके जस्तो अन्योलमा फिल्म निर्माण गर्छन् । एउटै फिल्म सबै वर्गको निम्ति हुन सक्दैन । वर्ग विशेषलाई लक्ष्य बनाई आफ्नो फिल्मलाई त्यसै अनुरुप ‘प्रमोट’ गर्न नेपाली फिल्मकर्मी सधैँ चुक्दै आएको महसुस गर्न सकिन्छ । त्यसैकारण नयाँ सोच अनि नयाँ उर्जाका साथमा आएका कतिपय समालोचनात्मक दृष्टिले उत्कृष्ट फिल्म पनि यसै बिलाएर गए ।

ग्रामीण भेगका दर्शकका निम्ति रेखा थापाको मसालादार फिल्म अनि राजेश हमालको चिच्याहटले भरथेक ग¥यो भने शहरिया युवा पुस्तालाई सौगात मल्ल, दयाहाङ राई अनि दिया मास्केले हलसम्म बेलाबेलामा पुग्ने वातावरण मिलाइदिए । यसका बावजुद पनि पछिल्ला समयमा आएका केही राम्रा भनिने फिल्मले न त ग्रामीण भेगलाई छोयो न त शहरीया युवापुस्ताको मन नै बहलाउन सक्यो ।
फिल्म लुटले गाउँदेखि शहरसम्म वाहवाही बटुल्यो । लुटपछि आएका धन्दा, बधशाला, भिजिलान्ते, आचार्य, साँघुरो, बिर्खेलाई चिन्छस, मौन, हाइवे, सुनगाभा, फिटकिरी, उमा, षडङ्ग, नागबेली, अपवाद, मुखौटा, झोले जस्ता फिल्म आफैमा अलगधारमा थिए । सुनगाभाले त अन्तर्राष्ट्रिय स्तरमै केही अवार्डहरू पनि बटुल्न सफल भयो तर नेपालमा भने केही बौद्धिक जमातबाहेक अरु कसैले सुनगाभाको सुवास सुँघ्न समेत पाएनन् । नेपाली फिल्ममा पहिलो पटक समलिङ्गीको कथा बोकेको सुनगाभामा सौगात मल्ल, दिया मास्के अनि निशा अधिकारीको अभिनयको पनि अन्तर्राष्ट्रिय स्तरमा तारिफ भयो ।

भजन शिरोमणि भक्तराज आचार्यको जीवनमाथि बनेको आचार्य जति गम्भीर अनि यथार्थपरक फिल्म थियो त्यति व्यापारमा टिक्न सकेन । फिटकिरीको बिम्ब बनाएर चेलीबेटी बेचबिखन सम्बन्धी बनेको ‘सस्पेन्स थ्रिलर’ फिटकिरीमा सौगात मल्लको अभिनय बाहेक दर्शकले अरु केही मन पराएनन् । हलिवुडको ‘इन्टु द वाइल्ड’ को झझल्को दिने अपवाद पनि आफैमा फरक धारको फिल्म थियो तर यसको महत्त्व नेपाली दर्शकले बुझ्न सकेनन् । माओवादी जनयुद्धमा आधारित उमाले सौगात मल्ल र ऋचा शर्मालाई यथेष्ट चर्चा बटुल्न समर्थ भएन ।
यसबाहेक गरिबीले पिरोलिएको प्रेम कथा अनि यौन मनोविज्ञानमा आधारित साँघुरो जति खुला परिवेशको थियो त्यति नै व्यापारमा साँघुरिन पुग्यो । डकुमेन्ट्री जस्तो लाग्ने यात्राप्रद फिल्म हाइवेले राजमार्ग अनि सामाजिक राजनीतिक बहसलाई अघि बढाए पनि न त यो खुला राजमार्गमा टिक्न सक्यो न त दर्शकको मनमा । सुन्न नसक्ने अनि बोल्न नसक्ने दुई प्रेमी प्रेमीकाको मीठो प्रेमकथामाथि बनेको फिल्म मौनले यु–ट्युबमा जति तारिफ पायो ति सबै अन्तर्राष्ट्रिय तारिफहरु थिए । नेपालमा यो फिल्म कहिले आयो कहिले गयो यो मौनताको विषय नै रह्यो । यस बाहेक व्यावसायिकताको धार पकड्दा पकड्दै पनि केही पृथक बनेको भनिएको रेशम फिलिली पनि वैशाख १२ गते गएको भूकम्पका कारण धराशायी बन्न पुग्यो । पुनः केही समयपछि रिलिज भएता पनि यसले उल्लेखनीय व्यापार गर्न भने सकेन ।
यी त केही दृष्टान्त मात्र हुन् । यी र यस्ता कतिपय फिल्मको व्यापारले नेपाली दर्शक अनि नेपाली फिल्मकर्मीलाई निराश बनायो । के यी यस्ता फिल्मका दर्शक अझै पनि नेपालमा छैनन् त ? यो छुट्टै बहसको विषय बन्न सक्छ । तर सधैँ पुरातनवादी फिल्म बने, नेपाली फिल्ममा अलग अनि मौलिकता छैन भन्ने आरोप लाग्ने गरेको कलिवुडलाई यी पछिल्ला फिल्मले साख जोगाउने कोशिस भने पक्कै गरेको छ । तर यस्ता फिल्मले पनि दर्शक नपाउनु भने अन्यायपूर्ण छ ।

केही त्रुटिगत विशेषता पक्कै पनि भएका छन् तर केही नयाँ गरौँ भन्ने सोचका साथ नेपाली फिल्मलाई भरथेक गर्न आएका फिल्मकर्मी निराश हुनु दुःखद् विषय हो । कमजोर स्व्रिmप्ट अनि केही प्राविधिक त्रुटिले राम्रा बन्न सक्ने फिल्म पनि राम्रा बन्न सकेनन् । कमजोर पारम्परिक फिल्मकर्मी बिच यी जोसिएका फिल्मकर्मी निराश बन्नु नेपाली फिल्मको लागि सुखद् भने होइन । लगातारको फ्लपले आतिएका सौगात मल्ल जस्ता थिएटर कलाकार पनि केही फिल्ममा बाटो बिराएका जस्तो देखियो । शहरिया मल्टीप्लेसमा पपकोर्न खादै शाहरुख खान अनि सलमान खानको फिल्म हेर्ने युवापुस्तालाई यी नयाँ फिल्मकर्मीको आवश्यकता छ ।

नयाँ अनुहारमा पनि अपवादको रुपमा अनमोल केसी, सलोन बस्नेत, संयम पुरी, गौरव पहाडी जस्ता स्थापित कलाकारका सन्तानले भने नाम र दाम दुवै कमाउन सफल भए । पुराना स्थापित कलाकारका यी उत्तराधिकारीहरुले भने लगभग पुरानै पारम्परिक फिल्मलाई निरन्तरता दिए । नाईँ नभन्नु ल को सिरिज नै सुपरहिट भयो अनि यो सिरिजले निरन्तरता पनि पाइ नै रह्यो । होस्टेल, होस्टेल रिटर्नस, शायद जस्ता खासै नवीनता नभएका फिल्मले पनि राम्रो व्यापार गरे ।

hemanta 3

साहित्यकार कृष्ण धरावासीको कृति झोलामा बनेको यादव खरेलको फिल्म ‘झोला’ले विश्व विख्यात फिल्मी पुरस्कार ओस्करसम्मको यात्रा तय गर्नु नेपाली फिल्मका लागि सुखद् खबर थियो । झोला अनि टलकजङ्ग भर्सेस टुल्के कुन चाहिँ ओस्कार अवार्डका लागि परिपक्क छ भन्ने कुरामा पनि बहसको विषय रह्यो ।

यति हुँदाहुँदै पनि स्वदेश अनि विदेशमा फिल्म सम्बन्धी ज्ञान हासिल गरेर यही केही नयाँ प्रयोगका लागि यस क्षेत्रमा प्रवेश गरेका नवप्रवेशीका लागि भने दोधारको स्थिति बन्यो । धेरै समय अघि नै मनोज पण्डितद्वारा निर्देशित फिल्म लक्ष्य आफैमा फरक धारको फिल्म थियो । तर दुई दिनमै यस फिल्मले भोगेको दशाले मनोज पण्डितलाई आहत बनायो । यिनै मनोज पण्डितको दोस्रो फिल्म दासढुङ्गा केही राजनीतिज्ञ बाहेक खासै दर्शकले उत्साहपूर्वक मन पराएनन् । स्व. नेता मदन भण्डारी एवम् जीवरात आश्रितको दुर्घटनामा आधारित यो फिल्म रहस्य अनि राजनीतिक वृत्तमा आधारित रहेर बनेको थियो । तर व्यापारमा सफलता हात पार्न भने यो सफल बनेन ।

लुट, चपली हाइट, टलकजङ्ग भर्सेस टुल्के, कबड्डी अनि कबड्डी कबड्डी केही यस्ता फिल्म थिए जो अलग धार हुँदाहुँदै पनि भरपुर व्यापार गर्न सफल भए । मौलिकता, उत्कृष्ट स्व्रिmप्ट अनि शानदार अभिनयले यी अलग धारका फिल्ममा सुनमा सुगन्ध थप्यो । यिनै २–४ वटा फिल्म बाहेक नयाँ शैली अनि अलगधारका फिल्मले न त व्यापार राम्रो गर्न सके न त समीक्षकको ताली नै पाउन सके ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: