राम्रो “म”

  प्रकाशित मिति
२५ पुष २०७८, आईतवार ११:२७


।। कमरेड विकास ।।

पेन्सिल समाएर कपुरी “क” हुँदै ज्ञानी “ज्ञ” सम्म लेख्दै गर्दा बीचमा लेखिएको थियो राम्रो “म” पनि । सानोमा त्यो राम्रो “म” र त्यो “म” लेख्ने म दुबै राम्रा थियौँ ।

अहिले त्यो म अनि यो म (लेखक) मा आकाश पातालको फरक छ । ठ्याक्कै चुम्बकको दुई ध्रुब जस्तै, या त पृथ्वीकै हिस्साको कुनै बिपरित क्षितिज हेरेर बसेका पहाड जस्तै । उसलाई सबैले राम्रो भनेर उ राम्रो भयो र भै रह्यो, अझैँ उ झन् भन्दा झन् राम्रो हुने दिशामै छ । यता म भने राम्रो बन्ने दौडको प्रतिस्पर्धामा अल्झनु पर्यो । उसलाई त अरुले राम्रो भनेरै उ राम्रो भइरह्यो तर बिडम्बना म (लेखक) भने अझ राम्रो बन्न सकेको छैन् । त्यो राम्रो “म” लेखेर हुर्किएको मलाई अझ् याद छ उ त्यो बेला नि राम्रो थियो, अझ छ र रहिरहने छ । कालान्तरसम्म यो लिपी र भाषा रहिञ्जेलसम्म उसलाई कसैले नराम्रो बनाउन पाउने छैन÷सक्ने छैन ।

मैले लेख्दासम्म त्यहि “म” राम्रो छ भने अनि बयान गरेर सदा उत्कृष्टताको पाती चढाई रहेँ जस्तो राजतन्त्र रहँदा बाबुको झोलुङ्गोमा रहेकाहरु पछि जन्मिएर क्रुरताको पर्यायवाची राजावादलाई काँध हाले जस्तो । उबेला देखि कै राम्रोलाई मैले पनि त्यही पढेँ, जे सिकेँ र उहि भनिरहेँ – राम्रो “म”…

राम्रोलाई राम्रो कुनबेला भन्ने ? के आधारमा भन्ने ? राम्रो देखिनु राम्रो हो कि राम्रो लाग्नु राम्रो ? तिमीले झुक्किएर नै एउटी स्त्रीको उठेका छाला देख्याँै भने लाज मान्नु ठिक कि घुर्नु ठिक ? तर तिमी त उही नाङ्गो कल्पनामा आफूलाई सुख दिलाउने काम गर्न समेत पछि पर्दैनौ । यो राम्रो हो कि नराम्रो हो ? यही बखत झुक्किएर देखिएको नग्नतालाई लाजको कपडाले छोपेर अघि बढ्नु राम्रो हो । कसैले सुरुमा देखेर लगाएको नजर अन्दाज नै वास्तवमा राम्रो देखिनु या राम्रो लाग्नुको यथार्थ हो ।

आत्मसन्तोषी सौन्दर्य जस्तो सुन्दरता आफैमा देखिनु जस्तो अरु देखिनुमा हुँँदैन । पहिला सौन्दर्य बिशेषको पाटोमा आफूलाई ननियाली अरुको सुन्दरताको निर्णायक बन्ने पनि भेटिन्छन् । ठिकै पनि हो, आफ्नो सुन्दरताको बेवास्ता गर्नु तर अरुको सुन्दरताको उमेद्वारीमा आफ्नै सुन्दरताको जाँच नगरी न्यायाधीश बनिहाल्नु चाहिँ उचित हुँदैन । हेर्दै बिचरा जस्ता अनुहारले पनि राम्रो म भनेर घमन्डको शिखर चड्लान् तर कसैको वास्तविक निर्णयको हिमपहिरोमा पर्दा अस्तित्व नै नासिने गरि पुरिन पनि बेर लाग्दैन ।

राम्रो म बन्ने प्रतिस्पर्धामा कतिले कतिका खुट्टा तान्लान्, हपार्लान्, झपार्लान् तर वास्तवमै निर्णायक नै खुट्टा झारी झ जस्तो अन्योल बनेको अवस्थामा कस्ले आश्वासन देला ? चिच्याउन पर्खिएका बन्द मुखको आवाज कण्ठमै बिलाउँछ, काटिएका कुम सही निर्णय गर्न कुद्लान् तर ठुटो हल्लिनुको अवस्था देखेर आफैँ न्यास्रिनु सिवाय अरु के बाँकी रहला र ?

निश्चित नियमको परिधिमा रहेर छुट्टिने राम्रो “म” को अर्थ बुझ्न सक्नु नै राम्रो “म” को सान्दर्भिकता हो । झिगाको टाउको जति बुद्धि लिएर आफ्नै बिजोग प्रदर्शन गर्नु भन्दा राम्रो “म” बन्न गर्ने लडाईको आकाङ्क्षा त्याग्नु वेश हुन्छ । तथापि अहम्ता पनि सिमा बुझेर उचित अनुभवको साथमा आफूले आफूलाई दावी गर्न सक्नु राम्रो “म” को गुण हो ।

हावाले उडाएको देखी–देखी आफूले फुँ फुँ गरेर उडाएँ भन्नुको कुनै अर्थ रहदैँन । यही भावमा न त राम्रो “म” स्वयम्को अर्थ लाग्यो न त घोक्नेले लगाउन सके न त व्यञ्जनवर्णको त्यो राम्रो “म” सुरुवात गर्नेले, बरु उही राम्रो “म” जस्तो राम्रो बन्ने तर्खरमा कागले अरु हिड्ने शैली सिक्दै गर्दा पछि आफ्नै सुरुवाती हिँडाई बिर्सिएको यथार्थ दोहिरिन पुग्यो । यता अरु कसैले सुरुवात गरेको राम्रो “म” सुकेकै कण्ठद्वारा चिच्याएर भए पनि झन् झन् राम्रो हुँदै गयो । उता मैले भने राम्रो बन्ने दौड नै त्याग्न परो ।

( लेखक मेची बहुमुखी क्याम्पसमा नेपाली साहित्यमा स्नातक गर्दै छन् । )

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: