मेचीनगर । भारतले अतिक्रमण गरेको लिम्पियाधुरासहितको नेपाली भूभाग अब कानुनी रुपमा नै नेपाली भूमि कायम भएको छ ।
संघीय संसद्को दुबै सदनबाट पारित विधेयक बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएको छ ।
संविधान संशोधन विधेयक प्रमाणीकरण भएसँगै नेपाली भूभाग अब कानुनी रुपमा नै नेपाली भूभाग कायम भएको हो ।
संशोधन अनुसार नेपालको नक्सासहितको निशान छाप परिमार्जनको प्रक्रिया पूरा भएको छ । संविधानको अनुसूचीमा पनि अब उक्त नक्सा नै प्रयोग हुनेछ ।
संघीय संसदका दुबै सदनबाट संविधान संशोधन विधेयक सर्वसम्मत पारित भएको थियो । विधेयक बिहीबार राष्ट्रियसभाबाट पारित भएको थियो । विधेयक पारितको जानकारी बिहीबार नै प्रतिनिधिसभामा गराइएको थियो ।
पारितसँगै अपराह्न ४ बजेतिरमात्र विधेयक सभामुखबाट प्रमाणित गरेर राष्ट्रपतिसमक्ष पेस गरिएको थियो ।
भारतले अतिक्रमण गरेको नेपाली भूभाग समेटेर सरकारले गत जेठ ७ गते अद्यावधिक राजनीतिक तथा प्रशासनिक नक्सा प्रकाशन भएको थियो । जेठ ९ गते सरकारका तर्फबाट संविधान संशोधन विधेयक संसदमा दर्ता भएको थियो ।
(पहिलोपोष्टबाट)