राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

  प्रकाशित मिति
५ बैशाख २०७५, बुधबार ११:१८


भद्रपुर । प्रतिनिधि सभा सदस्य लालप्रसाद साँवा(एलपी)ले नेपाली खेलकुद क्षेत्रको विकास र उन्नयनमा झापाली खेलाडीले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताएका छन् ।

दशौं झापा जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको मङ्गलबार उद्घाटन गर्दै समारोहका प्रमुख अतिथि साँवाले यस्तो बताएका हुन् ।
“झापाले राष्ट्रिय तथा अन्र्तराष्ट्रियस्तरका खेलाडी उत्पादन गर्दै आएको छ,” मेची रङ्गशाला भद्रपुरमा आयोजित प्रतियोगिताको उद्घाटनका क्रममा उनले भने–“यो आम झापालीका लागि गौरवको विषय हो ।”

झापा खेलाडीहरुको उर्वरभूमिका रुपमा स्थापित भइसकेको तर्क पेश गर्दै झापा निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य साँवाले थपे–“विश्वसामु नेपालको शिर उच्च राख्न झापाले आर्जन गरेको गरिमा मुलुककै लागि प्रशंसनीय छ ।”

उनले खेलकुदको माध्यमबाट झापाले प्राप्त गरेको ख्यातीलाई उँचो राख्न र खेल अभ्यासमा निखारता ल्याउन खेलाडीहरुलाई शुभकामना व्यक्त गर्दै सम्बद्ध खेलका प्रशिक्षकलाई पनि दक्ष खेलाडी उत्पादनमा विशेष जोड दिन अपिल गरेका थिए ।

प्रतियोगिता उद्घाटनका अवसरमा प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, नेपाली काँग्रेसका जिल्ला कोषाध्यक्ष एवँ नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य केशवराज पाण्डे, नेकपा एमालेका जिल्ला सदस्य तथा जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष डिल्लीराम घिमिरेलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतियोगिता उद्घाटन समारोहका सभापति एवँ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापाले गाउँवस्ती, दूरदराजका खेलाडीका अन्र्तनिहीत प्रतिभा उजागर गर्ने पहिलो खुट्किलोका रुपमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितालाई अथ्र्याए ।

“सरकारीस्तरबाट सञ्चालन हुने प्रतियोगिता मध्येको यो एक हो,” कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै अध्यक्ष थापाले भने–“यो प्रत्येक वर्ष सञ्चालन हुँदै आएको छ,, विद्यालयस्तरबाटै खेलाडीको प्रतिभा खोजी गर्ने एउटा महत्वपूर्ण प्लेटफर्म हो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता ।”

उनले प्रत्येक वर्ष हुँदै आएको निर्वाचन क्षेत्रस्तरीय प्रतियोगिता २०७४ मा भने तीन तहको निर्वाचन, राजनीतिक अस्थिरतालगायत विविध आन्तरिक, प्राविधिक कारणले पछि धकेलिएको प्रस्ट्याउँदै प्रतियोगितालाई सभ्य, भव्य र व्यवस्थित रुपमा सफल पार्न सहयोग पुर्याउने विभिन्न व्यक्ति एवँ संघ संस्थाप्रति आभारसहित धन्यवाद प्रकट गरेका छन् ।

३ दिवशिय प्रतियोगिता उद्घाटनका अवसरमा धुलाबारीस्थित इष्ट होराइजन अङ्ग्रेजी आवाशिय माविको स्कटिज ब्याक पाइपर ब्याण्डले डिस्प्लेसहित स्पोर्टस माक्स ड्रिल र नृत्य प्रस्तुत गरेका थिए ।

त्यस्तै झापा स्काउट, राष्ट्रिय सेवा दल, क्षेत्रीय प्रतियोगिताबाट जिल्लास्तरीय प्रतियोगितामा छनोटमा परेका खेलाडी, तेक्वान्डो, उसु, कराँते, बक्सिङ र हक्की खेलका खेलाडीले मार्च पास गरेका थिए ।

त्यसक्रममा विभिन्न जातजातीको साँस्कृतिक पहिचान झल्काउने नेवार समुदायको लाखे, नृत्य, लिम्बू जातीको च्याब्रुङ नाच, किराँत राई जातीको साकेला नृत्य, मेचे, धिमाल, सन्थाल समुदायको नृत्य प्रस्तुत गरियो भने खेलाडीहरुले कराँते इभेन्टको टिम काँता , तेक्वान्दोको डेमोस्ट्रेसन, उसुलगायत खेलको प्रदर्शनी गरेका थिए ।

 

कार्यक्रमका प्रमुख अतिथि, विशिष्ट अतिथिलगायतले हक्कीतर्फका खेलाडीहरु मनोज चौधरी, चिरन प्रधान, सन्तोष बेस्रा, अशोक पौडेल र ब्याडमिन्टनतर्फका प्रमिस सिंह ठकुरीलाई खादा, अविर र सम्मान पत्रसहित सम्मान गरेका थिए ।

कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका उपसचिव लक्ष्मीप्रसाद भट्टराई, जिल्ला प्रहरी कार्यालयका एसपी विष्णुकुमार केसी, सिमा सुरक्षा कार्यालय झापाका एसपी रमेश सुवेदी, भद्रपुर नगरपालिकाका प्रमुख जिवनकुमार श्रेष्ठ, जिल्ला शिक्षा कार्यालयका उपसचिव होमनाथ भण्डारी, जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष गणेशविक्रम नेम्बाङ्ग, युवा परिषद् झापाका अध्यक्ष छवि चुँडाल, वाइसिएलका १ नम्बर प्रदेश प्रमुख कर्मा पुलामी, नेपाल शिक्षक महासंघ झापा अध्यक्ष कर्मा पुलामी, एन प्याब्सन झापा अध्यक्ष सञ्जिव राई, प्याब्सन झापा अध्यक्ष कोषराज प्याकुरेल, उद्योग संघ झापा अध्यक्ष दिपेश ढकाल, उद्योग संघका टिकाराज ढकाल, युवा नेता असारु राजवंशी, वरिष्ठ फुटबल प्रशिक्षक भगिरथ आले, वरिष्ठ कराँते प्रशिक्षक मदन उप्रेती, कालु मेचे, प्रशिक्षण विभाग प्रमुख टार्जन सुब्बालगायतको आतिथ्यता थियो ।

सो अवसरमा विभिन्न खेल विधाका जिल्लास्थित संघका अध्यक्ष, क्षेत्रीय छनोट प्रतियोगिता संयोजन समितिका संयोजक, विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी एवँ खेलाडीहरुको उपस्थिति रहेको थियो ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापाको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा स्वागत उपाध्यक्ष भेषराज भण्डारी(प्रशान्त) र सञ्चालन कार्यालय प्रमुख टहलदाश मैनाली र कराँते प्रशिक्षक दुर्गाराज निरौलाले संयुक्त रुपमा गरेका थिए ।

गत चैत २१ देखि ३० गतेसम्म झापाका ५ वटै निर्वाचन क्षेत्रमा सम्पन्न क्षेत्रीय छनोट प्रतियोगितामा भाग लिई विजेता तथा उपविजेता भएका विद्यालयले जिल्लास्तरीय प्रतियोगितामा सहभागिता जनाएका छन् ।

प्रतियोगितामा क्षेत्र नम्बर १ बाट सामुदायिकतर्फ २० र संस्थागततर्फ ३८, २ बाट सामुदायिकतर्फ १९ र संस्थागततर्फ १४, ३ बाट सामुदायिकतर्फ २३ र संस्थागततर्फ २०, ४ बाट सामुदायिकतर्फ २४ र संस्थागततर्फ २३ तथा ५ बाट सामुदायिकतर्फ २५ र संस्थागततर्फ ३७ वटा विद्यालयले भाग लिएका हुन् ।
भलिबल, कबड्डी र एथ्लेटिक्सका प्रत्येक इभेन्टमा विजयी एवँ उपविजयी बनेका तथा कराँते, उसु र तेक्वान्दोतर्फ छानिएका खेलाडीहरुले जिल्लास्तरीय छनोटमा प्रतिष्पर्धा गरिरहेका छन् ।

युवा तथा खेलकुद मन्त्रालयको वार्षिक कार्यक्रम, राष्ट्रिय खेलकुद परिषद्को संयोजन र जिल्ला खेलकुद विकास समितिको आयोजनामा सुरु सो प्रतियोगिता बिहीबार समापन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: