राष्ट्रवादमा सवार नवराजा

  प्रकाशित मिति
२४ पुष २०७६, बिहीबार ०८:४६


सन्दिप ओली

सन् १९९४, अक्टोबरको घटना हो । अमेरिकाको लस एञ्जलस शहरमा मेक्सिकेलीहरुले एउटा विशाल प्रदर्शन गरे, उनीहरुको हातमा मेक्सीकोकै झण्डा थियो । अमेरिकाले लाद्न खोजेको ‘धारा १८७’ को विरोधमा उत्रिएका थिए उनीहरु । सो ऐन लागुहुँदा ‘अवैध’ भनिएका तमाम मेक्सीकेली र तिनका सन्तती केही आधारभूत अधिकारबाट बञ्चित हुनुपर्ने थियो । अमेरिकी भूमिमा मेक्सिकोको राष्ट्रिय झण्डासहितको त्यो प्रदर्शन देख्दा धेरै अमेरिकीले आश्चर्यचकित हुँदै प्रश्न गरे, ‘हाम्रो देशमा बसेर अधिकार मग्न यही देशको झण्डा बोक्नु पर्ने हो, उनीहरु किन मेक्सिकोको झण्डा बोकेर प्रर्दशन गरिरहेका छन् ?’ आखिर यही प्रश्नको अन्तर्यमा त्यो विरोधको मर्म लुकेको थियो । मेक्सीकेलीहरु आफ्नो पहिचानसहित अमेरिकी बन्न चाहान्थे । उनीहरुको सो पहिचान अस्वीकार गर्ने मनसुवासहित ‘धारा १८७’ लागु गर्न खोजिएको थियो ।

यस घटनालाई नजिकैबाट नियाल्नेमा डोनाल्ड ट्रम्प पनि थिए, जो अहिले राष्ट्रपति छन् । ‘आफू र अन्य’ बिचको यो विभाजन एउटा लाभदायक चुनावी तुरुप बन्ने उनले त्यहीबेला बुझिसकेका थिए । त्यसैलाई चुनावी एजेण्डा बनाउने निर्णय गरे । लगभग २२ वर्षपछि डोनाल्ड ट्रम्प ‘मेक अमेरिका ग्रेट अगेन’को नारा सहित २०१६ को अमेरिकी राष्ट्रपतिको चुनावमा होमिए । उनको मूल नारा नै नश्लिय राष्ट्रवाद थियो । उनले अमेरिका÷मेक्सिको सीमामा पर्खाल बनाउने, अवैध आप्रवासीलाई देश निकाला गर्ने, मुसलमानलाई अमेरिका प्रवेशमा रोक लगाउने जस्ता अभिव्यक्ति सार्वजनिक गरे । नश्लीयता प्रधान मान्ने उनको राष्ट्रवादी एजेण्डाले अमेरिकी बजारमा ठूलो भाउ पायो । फलस्वरुप, डोनाल्ड ट्रप्म २०१६ मा ४५औँ अमेरिकी राष्ट्रपतिको रुपमा ह्वाईटहाउस प्रवेश गरे ।

नश्लवादी ताप अमेरिकामा मात्रै बढेको होइन, भारत अर्को उदाहरण हो । गुजरात राज्यको मख्यमन्त्रीको रुपमा उदाएका नरेन्द्र मोदी आफ्नो प्रधानमन्त्री बन्ने सपना साकार पार्न यस्तै ‘उपयुक्त एजेण्डा’को खोजीमा थिए । सन् १९९२ को बाबरी मस्जिद विवादको निहुँमा टेकेर उदाएका राष्ट्रिय स्वयम्सेवक संघ
(आरएसएस)सम्बद्ध लडाकु नरेन्द्र दामोदार दास मोदी २००१ मा गुजरातको मुख्यमन्त्री मात्र भएनन्, सन् २००२ मा गरिएको ‘मुस्लिम–संहार’ (जेनोसाईड)मार्फत असली राष्ट्रवादी नेताको रुपमा स्थापित भए । यही राष्ट्रवादी छविले उनलाई दुईपटक भारतको प्रधानमन्त्री बनायो । २०१४ मा ‘अच्छेदिन आने वाले हैँ’ र २०१९ मा ‘हम देशका चौकीदार हैँ’ जस्ता नारा लगाए, यी दुवै नाराको अन्तर्य हिन्दुत्ववाद हो । उनको अच्छे दिन भनेको हिन्दुको अच्छे दिन थियो । पाकिस्तान र कास्मिरबाट भारतीय हिन्दुको ज्यान रक्षा गर्न उनले आफूलाई चौकीदार भनेका थिए । भारतीय राष्ट्रवादको मूल तत्व नै हिन्दुवादी राजनीति हो ।

यता नेपालमा राष्ट्रवादको तुरुपले राम्रो राजनीतिक फसल उठाउने विल्लेषण गरिरहेका थिए तत्कालीन नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद ओली । सम्भवतः ट्रम्प र मोदी उनका लागि उपयुक्त उदाहरण बने । झापा आएका बेला आफ्ना नजिकका मान्छे भेला पारेर उनले भनेका पनि थिए रे, ‘राजनीतिक उमेरबाट हे¥यो भने, म मोदी भन्दा जेठो छु । उनलाई उछिन्न सक्छु ।’ संविधान निर्माणको सकसपूर्ण संक्रमणमा गुज्रिरहेको नेपालमा आफूलाई स्थापित गराउन सके प्रधानमन्त्रीको जागीर सहजै हत्याउन सकिने उनको आँकलन थियो । नभन्दै, राष्ट्रवादी अस्त्रको प्रयोग गर्ने निधो गरेका उनी सफल भए । ट्रम्प र मोदीबाट सिके, माक्र्सवादको खोलमा महेन्द्रवादको गुदी भरे, भारतलाई देखाएर मधेसको उछित्तो काढे । पहाडीया अहँकारले वशिभूत नेपालको बहुसंख्याले ओलीको तुरुपलाई सहर्ष स्वीका¥यो, उनले राजनीतिक बाजी मारे ।

मधेस आन्दोलनको सुरुवाती दिनदेखि उनले असहिष्णुता प्रदर्शन गरेका हुन् । संविधान निर्माणको निर्णायक समयताका नेपालमा गएको विनाशकारी भुकम्पले आम जनजीवन प्रभावित भएको थियो । आम नागरिकमा चरम निराशा थियो, संविधान उनीहरुको प्राथमिकतामा थिएन । संकटको यही अवस्थालाई पूँजीकृत गर्दै समस्याग्रस्त संविधान जारी गरियो । कतिपय विश्लेषकले दोस्रो संविधानमा दर्जन वकिलहरु बसेर रातारात तयार पारेको संविधानको ड्राफ्टलाई नै ‘ओली डक्ट्रीन’को नाम दिएका थिए । उनीहरुले सो नाम जुराउँदा सम्भवतः नाओमी क्लीनको ‘सक् डक्ट्रीन’ स्मरण गरेका थिए होलान् । उनीहरु पूर्णतया गलत थिएनन् । बिडम्बना, ओली–काल्पनीकिलाई मूर्त रुप दिइएको संविधान जारी गर्ने कार्यकारी हात सुशील कोईरालाको भयो, औपचारिक हात रामवरण यादवको ।

२०७२ सालमा जारी गरिएको संविधानप्रति मधेसको प्रष्टविमति थियो । त्यसैवेला भारतले पनि उक्त संविधानप्रति असन्तुष्टी जनाउँदै नेपालमाथि अघोषित नाकाबन्दी लगायो । मधेस आन्दोलनलाई निहुँ बनाएर भारतले हिन्दु राज्यको खेल खेलेको थियो । भारत रिझाउन धर्मनिरपेक्षताको कुटिल व्याख्या गरिए पनि भारत रोेकिएन । निहत्था मान्छेलाई गोलीले ढालेर मधेसको आक्रोश दबाईयो, भारतको नाकाबन्दीविरुद्ध सिँगै पहाड उचालियो । आखिर खड्गप्रसाद ओलीले नाकाबन्दीको उपयोग गरे, मधेसलाई ‘देखाइदिएर’ पहाडिया अहँकारलाई पुँजीकृत गरे । आफ्नै सोच अनुरुपको संविधान जारी गरेपछि, ओली प्रधानमन्त्री स्वाभाविक थियो ।

समग्रमा डोनाल्ड ट्रप्म, नरेन्द्र मोदी र खड्गप्रसाद ओली तीनै जनालाई सत्तासम्म पु¥याउने साझा अस्त्र राष्ट्रवाद हो । नश्लीय राष्ट्रवादको लौरो समातेर सत्तामा उक्लिन जति सजिलो छ, त्यहि लौरोले सधैँ सत्ताको धुरीमा राईदाईँ गरिरहन सहज हुँदैन । जब मुलुक गतिहीन बन्न थाल्छ, आम नागरिकहरुको असन्तुष्टी सत्ताप्रति सोझिन थाल्छ । राष्ट्रवादको एकोहोरो रटानले नागरिकका असन्तुष्टि साम्य पार्न सक्दैन । यस्तो अवस्थामा शासकहरुले अनेक हथकण्डा अपनाउन थाल्छन् । नक्कली दुष्मन खडा गरेर, जनतालाई त्यता सोझ्याउन खोज्छन् । त्यस क्रममा हुने हिँसालाई पनि आफ्नै हितमा प्रयोग गर्छन् ।

यहाँनेर फ्रान्ज काफ्काद्वारा लिखित ‘द मेटामेरफोशिस्’ कथा सान्दर्भिक हुन्छ । यस कथाको मूख्य पात्र ग्रेगर साम्सा एकदिन विहानै उठ्दा आफूलाई किरामा रुपान्तरित भएको पाउँछ । सग्लो मानिस अचानक किरामा परिणत भइसकेपछि सास्साले भोग्नुपरेका अनेक कठिनाई र परिस्थितिसँग जुध्न अपनाउनु परेका तिकडम नै यसको मूल कथ्य हो । राष्ट्रवादको पगरी पहिरिएर कुटिलतापूर्वक हासिल गरेको सत्तामा आफूलाई स्थापित गरिरहन ट्रम्प, मोदी र ओलिले आँफैलाई ‘मेटामोरफोसाईज’ गर्न थालेका छन् । निर्वाचनमार्फत आएका उनीहरु विस्तारै निरंकुश राजा जस्तो देखिन थालेका छन् ।

सिरियामाथिको अमेरिकी वर्वरताको निरन्तरता डोनाल्ड ट्रम्प एक निरंकुश शासक हुन भन्ने कुरा प्रमाणित गर्न काफी छ । एकातिर आन्तरिक समस्यामा जेलिएका केही इस्लामिक राष्ट्रका मुस्लिमलाई अमेरिका प्रवेशमा रोक लगाए, अर्कातिर पत्रकार जमल खसोगीको हत्यामा साउदीका राजकुमार मोहम्मद बिन सल्मानको हात रहेको स्पष्ट भइरहँदा पनि साउदीसँग प्रगाढ सम्बन्ध कायम राखे । ईरानमाथि उनले हालसालै सुरु गरेको सैन्य–तान्डव निरँकुश शासकले विजयी बन्न केसम्म गर्न सक्छन् भन्ने प्रमाण हो ।

२०१४मा नरेन्द्र मोदीले भारतीय सत्ताको वागडोर हातमा लिए लगत्तै त्यस मुलुकमा धार्मिक असहिष्सुणता चरम विन्दुमा पुगेको छ । गौरीलंकेश जस्ता पत्रकारको हत्या, एमएम कल्वुर्गीजस्ता अभियान्तको हत्या,हुलहुज्जत गरेर ज्यान लिने विभिन्न घटना, र आरएसएसको बढ्दो प्रभावले नरेन्द्र मोदी पनि एक निरंकुश शासक हुन भन्ने कुरा प्रमाणित गर्दछ । यसको अलावा मुस्लिमद्वेषी नागरिक ऐन अनि कश्मिरले पाईरहेको विशेष अधिकारको जफत गर्नुले मोदी निरंकुश भएको तथ्यलाई पुष्टी गर्दछ ।

खड्गप्रसादका कथा मोदी र ट्रम्प भन्दा धेरै फरक छैनन् । मुलुकमा व्याप्त भ्रष्टाचारलाई अन्देखा गर्दै याराना पुँजीवादको प्रवद्र्घनमा दिलोज्यानले लागेका ओलीको आलोचना गर्ने बौद्धिकलाई थला पारीदिने धम्की सानो थिएन । आफ्ना कार्यकर्ताहरुलाई आलोचकहरुमाथी अरिङ्गाल बनेर खनिन उनले जारी गरेको उर्दी नै फासिवादको संकेत हो । त्यसैगरी उनले ल्याएका, ल्याउन लागेका ऐन आम नागरिकलाई प्रजा बनाएर आफू राजा हुने रणनीति हुन् । यसका अलावा भर्खरै नेकपाका सत्ताधारी अध्यक्षद्वयले पत्रकारबाट खोजिएको बफादारी उति नै भयकारी छ ।

कीरामा परिणत हुने ग्रेगोर साम्साको रुचि थिएन । निर्वाचनमार्फत राजा बन्ने नियोजीत प्रपञ्च नै त ओलीहरुको पनि होईन होला । तर राष्ट्रवादको तुरुप उपयोग गरेर आफूलाई शक्तिको केन्द्रमा पु¥याएपछि, उसले थाहा नपाएरै आफू निरंकुश बन्ने बाटो आँफै खनिसक्छ । लोकतन्त्रको मर्म बुझेका नागरिकले सचेतनापूर्वक हस्तक्षेप नगरे लामो संघर्षबाट पाएका उपलब्धि सबै गुम्ने निश्चित छ ।

(लेखक रिडर्स झापाका सदस्य हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: