राष्ट्रिय एकता दिवसको प्रत्यागमन

  प्रकाशित मिति
२९ पुष २०७४, शनिबार १४:१७


हामीले यसै २०७४ सालको पुस २७ बाट सरकारी स्तरमा राष्ट्रिय एकता दिवस मनाउन फेरि सुरु गरेका छौं । ०६२÷६३को आन्दोलनको सफलतापछि यो दिवस विवादको विषय मात्र होइन रोष र आव्रmोसको विषय पनि बनेको थियो । राजा महेन्द्रले दलीय व्यवस्थामाथि गरेको प्रहार र प्रवर्तन गरेको पञ्चायती व्यवस्था, त्यही व्यवस्थाका पृष्ठपोषक रहेका राजा वीरेन्द्र र अझ वीरेन्द्रको वंशनाशपछि गद्दीनसीन बनेका राजा ज्ञानेन्द्रका जनविरोधी कर्महरुले सम्पूर्ण शाहवंशीयहरु उपर सृजना गरेको रोष, आव्रmोसको शिकार बनेको थियो यो पुस २७ को एकता दिवस, आव्रmोसकै तारो बनेको थियो पृथ्वी नारायण शाहको बिम्ब पनि । अझ पृथ्वी नारायण शाहसँग त राष्ट्रिय एकताको सन्दर्भमा राजा–रजौटाहरुसँगको लडाइँमा भएनभएका होची अर्घेल्याइँ पनि थपिएर प्रतिहिंसाभाव थपिएको थियो । त्यसैले पृथ्वी नारायण शाहलाई ‘साम्राज्यवादी’, ‘प्रभुत्ववादी’ आदिका विशेषण पनि लागे । उनका सालिकहरु उपर त्यही आव्रmोसका घनहरु पनि बजारिन पुगे । म आजको मेरो लेखमा थोरै यसै वारेमा चर्चा गर्न चाहन्छु । मलाई थाहा छ, म इतिहासको विद्यार्थी नभएका कारण यस विषयमा मेरो दखल सिमित छ । जो धेरै जान्दछन्, उनीहरु धेरै पैसा पाए लेख्ने नत्र ज्ञान आफैंमा फत्काउने गर्दछन् । अढाइ–तीन सय वर्षपूर्वका घटना अब यथार्थभन्दा ‘होहोरे’मा धेरै बहकिन लागेका छन्, र इतिहासका पूजनीय व्यक्तिहरु उपर अन्याय हुनसक्ने पनि बन्दैछ ।

पृथ्वी नारायण शाहको एकताको महत्त्वलाई बुझ्न एकतापूर्वका पचास भन्दा बढी राज्यहरु र ती राज्यहरुमा एकार्का विरुद्धको लडाइँ, आधिपत्य, फेरि अर्काको अर्कासँगको लडाइँ बुझ्नु पर्छ । लडाइँमा राजा राजा मात्र लडाइँ गर्थे कि ‘जिउ धन राजाको’ मानिएको, ‘राजा के आगे बाबा की दुहाइ’ मानिएको त्यो बेलामा राजाको पक्षमा धुर लागेर सबै रैतिहरु पनि मुसेताँत लाग्नु पथ्र्यो ? त्यो पनि बुझ्नु पर्छ । लडाइँका लागि चाडबाड भन्न पाइन्थ्यो ? चुहुँदो झरी भनेर ओतमा बस्न पाइन्थ्यो ? कहिले पाकेको बाली अर्को राज्यकाले लुटेर लगिदिन्थे, कहिले खलामा थुपारेको अन्नबाली आगो लगाएर भष्मीभूत पारेर छोड्थे । विचरा रैतीहरु रगतका पिरा आँसु चुहाउँदै अझ उर्दी अनुसार कहिले खुँडा र खुकुरी बोकेर राजालाई साथ दिन लाग्नु पर्ने, कहिले भागसिं ठुलो भनेर ज्यान जोगाउन धाइफल तोड्नु पर्ने । कस्तो त्रासपूर्ण थियो ती भुरेटाकुरे राज्यका प्रजाहरुको, रैतीहरुको जीवन ! हरक्षण उनीहरुका मनमा, ‘कुनै एउटा बलियोले सदाका लागि राज्य कब्जा गरेर ढुक्कले खनीखोस्री गरिखान पाए कस्तो हुन्थ्यो !’ भन्ने रहन्थ्यो । हामीले माओवादी द्वन्द्वकालमा अलिअलि भोग्यौं । त्यो पनि रजौटा युगका रैतीको, प्रजाको व्यथाको तुलनामा सामान्य नै हो । छोरी लग्दैन थिए त्यति बेला, तर जुँघाका रेखी बसेदेखि बृद्धसम्म खुँडा खुकुरी बोक्नैपथ्र्यो, जायजेथा जे भएको भनेका बेलामा समर्पण गर्नै पथ्र्यो ।
इतिहासमा दुई भाइ छोराको निरन्तरको लडाइँ र झगडाबाट दिक्क भएर आमाले चेपे नदीमा आफ्नो दुध बगाउँदै सिमाना बाँधेर( “लु, अब यो खोलो दुबै भाइले नतर्नू ! तरेमा मेरो सराप लाग्ला !” भनेर लमजुङ र गोर्खाका दुई भाइ छोराहरुलाई मिलाउन कोसिस गरेको पढ्नु पर्छ । यसको तात्पर्य हो ती टाकुरे राज्यका जनता सदाको लडाइँ र युद्धबाट आजित थिए । त्यति मात्र हो र ! दक्षिणतिर कलकत्ताबाट व्यापारिक भेषमा पसेको अङ्ग्रेज भारतका रजौटाहरु निल्दै, त्यहाँ धार्मिक र सांस्कृतिक रुपमा पनि समाप्त पार्ने गरी बाइवल बोकेर आइरहेको थियो । यही बेलामा गोर्खा दरबारमा राजा नरभूपाल र रानी कौशल्यावतीबाट वि. सं. १७७९ पुस २७ का दिन पृथ्वी नारायण शाह जन्मिए । बाल्यावस्था देखि नै कुस्तीवाज, पौडीवाज उनी शारीरिक रुपमा बलिया, मानसिक रुपमा त्यस्तै साहसी, शूरवीर र सपनाशील व्यक्ति थिए । पृथ्वी नारायणले आफ्ना देशका प्रजाहरुको मनोदशा त बुझेबुझे । व्रmमशः उनले अरु राज्यका जनताको पनि त्यो त्रस्त मनोविज्ञान बुझे र नितान्त रुपमा एउटा बलियो र विशाल देश मात्र यसको स्थायी औषधी हुनसक्छ भन्ने पनि बुझे ।

उनले बडो चातुर्याइँसाथ युद्धलाई अगाडि बढाए । उनले जोगीहरु उपयोग गरेर घरघर “अब गोरखा जाग्यो ! अब राजाको शक्ति जाग्यो !! भगवान गोरखनाथबाट गोरखाका राजालाई आशिर्वाद प्राप्त भयो !!! जय गोरखनाथ !” भन्दै सन्देश प्रसारण गर्न लगाए । गाइनेहरुलाई सिकाएर घरघर “अब गोरखा जागेर आयो, हाम्रा दुःख सन्ताप हरायो !” भनेर गाउँदै हिँड भने । मानसिक रुपमा लडाइँले दिक्क भएका जनतामा गोरखाका राजाप्रतिको भरोसा प्रक्षेपण गर्ने राम्रो जुक्ति रचे । यसरी आफ्नै ससुराली राज्य मकवानपुर विजय गरेर राज्य एकीकरणको अभियान सुरु गरे पृथ्वी नारायणले । त्यसपछि नुवाकोट जिते । नुवाकोटको जित गोरखाका लागि ठुलो सामरिक जित थियो । भोटतिरको व्यापारको नाका भनेकै नुवाकोट हो । अब काठमाडौंलाई पनि नाकाबन्दी गर्न सकिने भयो । यसरी नुवाकोटपछि सकेसम्म साम, दान, दण्ड, भेद नीति अपनाएर सकेसम्म युद्ध नै नगरी राज्यहरु जित्न कोसिस गरे उनले । सफल पनि हुँदै गए । वि.सं.१८२५ भदौमा त उनले काठमाडौं उपत्यकाका तिन वटै राज्य विजय गरेर अनि मकवानपुर पूर्वका चौदण्डी, विजयपुर आदितिर लम्किए । यसरी राष्ट्रिय एकीकरणको बलियो जग राखेर ५१÷५२ वर्षको उमेरमा वि.सं.१९३१मा नुवाकोटको देवीघाटमा आफूलाई विसर्जन गर्न पुगे उनी ।

जसरी माओको चिनियाँ कम्युनिष्ट पार्टीको जनताप्रति इमान्दार र भरोसापूर्ण नभई गरिने युद्ध टिकाउ हुँदैन भन्ने नीति थियो, त्यस्तै पृथ्वी नारायण शाह त्यो बेलामा पनि जनताको मन नभाँची युद्धमा अघि बढ्न चाहन्थे । स्थानीय जनताको चलन, रीतिथिति, संस्कृतिलाई हार्दिक सम्मान गर्दथे । उनी अप्ठेरो परेको बेला जनतासँग राय सल्लाह लिन पनि पुग्थे भन्ने कुरा ‘बिसे नगर्चीसँग रु १ लिएको कथा’ पर्याप्त छ । युद्धमा उनी विजयी हुन्थे भने सांस्कृतिक रुपमा उनी आत्मसमर्पण गर्दथे । भन्नुको मतलब जितेको राज्यमा पनि जनताको सांस्कृतिक चलन कायमै रहन दिन्थे, त्यहाँ यो वा त्यो आफ्नो चलन चलाउन वाध्य पार्दैन थे । यो नै उनको सबभन्दा बलियो हतियार भयो आखिरमा ।
पृथ्वी नारायण शाहका विरुद्धमा ०६२÷६३ पछि कसरी भड्काउ आयो त ? यस वारेमा बुझ्न युद्धका सामान्य प्रभावको मूल्याङ्कन गर्नै पर्छ र पृथ्वी नारायणसँग रुष्ट भएका अङ्ग्रेजका बुद्धिजीवीको करामतलाई पनि बुझ्नु पर्छ ।

सामान्यतया युद्धमा पराजित हुनेहरु विजयीसँग सन्तुष्ट हुँदैनन् । आफ्नो ऐस आराम गुमेको, आफ्नो साख खत्तम भएकोमा हुनसम्म रुष्ट हुन्छन् नै । तिनका आफन्तमा पनि अलिअलि सहानुभूति रहेकै हुन्छ । अलिअलि यसै कुराको अवशेष हो भने मुख्य कुरा अङ्ग्रेजले विकृत गरिदिएको इतिहासको कारणले सृजना गरेको आव्रmोस हो । इतिहासमा मूल विवाद भनेको कीर्तिपुरमा विजयपछि प्रतिहिंसास्वरुप कीर्तिपुरेहरु सबैको नाक काटिएको दुस्प्रचारित कुरा हो । यस्तो हुनुका पछिको कारण भनेको पृथ्वी नारायण शाह र अङ्ग्रेज आव्रmमणकारी बिचको द्वेषपूर्ण सम्बन्ध नै हो ।

मकवानपुरका राजा, पृथ्वी नारायण शाहका आफ्नै जेठान दिगबन्धन सेनले अङ्ग्रेजसँग मद्दत लिएर पृथ्वी नारायणसँग युद्ध गरेका थिए । पृथ्वी चाहिँ अङ्ग्रेजसँगको मद्दत लिनेलाई सबैभन्दा ठुलो दुश्मनको रुपमा लिन्थे । त्यसैले सम्पूर्ण शक्ति खन्याएर मकवानपुरमाथि विजय गरेर अङ्ग्रेजलाई लखेटी दिगबन्धन सेनलाई छिँडीमा थुनेर राखे । त्यहीँ छिँडीमै जेठानको जीवन समाप्त भयो । काठमाडौंका राजा जयप्रकाशले राज्य पुनप्र्राप्तिका लागि अङ्ग्रेज सेनाको मद्दत लिएर लडाइँ गर्न कोसिस गरे । त्यो बेलामा किनलकको नेतृत्वमा आएको अङ्ग्रेज सेनालाई सिन्धुली गढीमै घेराबन्दी गरेर चढाइ गरी लज्जाजनक रुपमा भाग्न बाध्य पारे । त्यसपछि उपत्यकाभित्र पादरी भेषमा बसेका ६० जना जति व्रिmस्चियन खुफियालाई पृथ्वी नारायणले समातेर निकाला गरे । यो कार्यबाट रुष्ट भएका अङ्ग्रेजहरुले पृथ्वी नारायणलाई दानवीकरण गर्ने नै भए । त्यसैले पृथ्वी नारायणको यो राज्य एकीकरणको लडाइँ र विजयलाई सकेसम्म बिभत्स बनाउने, विरुप पार्ने पराजितको मनमा आव्रmोस उत्पन्न गराउने तथा प्रतिशोधको बिज रोप्ने किसिमले समाचार लेख्ने काम गरे । उनीहरुकै करामत हो ‘कीर्तिपुरमा १७ धार्नी नाक काटिएको कुरा र कीर्तिपुरलाई ‘नकटापुर’ नाम दिन कोसिस भएको कुरा । होइन भने कवि ललिताबल्लभले ‘कायश्च विरुपिण’ (केहीलाई विरुप पारियो) लेखेका छन् । प्रशिद्ध इतिहास शिरोमणि बाबुराम आचार्यले ‘८÷१० जनाको नाकको टोप्रो काटिदिए’ लेखेका छन् । यसको कारण उल्लेख छ इतिहासमा । गोरखाबाट बोलाएर कीर्तिपुरमा लगी वास बसेका केही गोरखाली सैनिकलाई राती सुतेकै ठाउँमा कीर्तिपुरका वासिन्दाले लाठा र फलेकले ठोकीठोकी झुक्याएर मारेका थिए । पछि ती मार्नेहरु पत्ता लगाएपछि त्यति बेलाको चलन अनुसार ज्यान मार्नेलाई ज्यानै मार्नु पर्ने भए पनि आफ्नै नागरिक ठानी राजा पृथ्वीको आज्ञाअनुसार नाकको टोप्रो काटेर छोडि दिएको घटनालाई विकृत पारेर यस्तो प्रचार भयो । निकाला गरिएका रुष्ट पादरी जिसेप्पीले बेतियामा बसेर र लेखक ब्रायन हड्सनले दार्जिलिङमा बसेर “१७ धार्नी नाक काटेका थिए, ३५ हजार किराँत मारे, लिम्बुलाई सखापै पारे, बालबालिकालाई ढिकीका ओखलमा किच्याएर मारे” भन्ने जस्ता दुस्प्रचारलाई दस्तावेज बनाएर लण्डन पठाए । यही दुस्प्रचार पढेका हाम्रा केही मान्छेहरुको अफवाहको प्रतिव्रिmयास्वरुप ०६३ सालपछि नेपाली जनजाति जगत आव्रmोसित बन्यो र पृथ्वी नारायण उपर आगो ओकल्ने भयो । भेटेसम्मका उनका सालिक तोडिए । उनको बदनाम गर्न उद्यत भए । तर साँचो डग्दैन, झुटो टिक्तैन भन्ने कुरा यथार्थ ठहरियो ।
विस्तारो विस्तारो सत्य उजागर हुँदै आयो । वास्तवमा वहुमत जनताका मनमा राक्षसी रुप देखिएको शासक लामो समय टिक्तैन नै । तर पृथ्वी नारायण प्रतिको श्रद्धा त्यस्ता दुस्प्रचारले छोप्न सकेन ।

आज प्रश्न मनमा खेल्छन्– पृथ्वी नारायण शाहले एकीकरण नगरेर टुव्रmाटुव्रmा नै रहेको भए आज स्वतन्त्र लिम्बुवान, स्वतन्त्र खम्बुवान, चौदण्डी, विजयपुरहरु, स्वतन्त्र कान्तिपुर, भक्तपुर, पाटन, नुवाकोटहरु स्वतन्त्र नै रहेका हुन्थे होलान् ? आज मिथिला, कपिलवस्तु, थरुवानहरु स्वतन्त्र झण्डामुनि रहिरहेका हुन्थे होलान् ? आज हामीले मान्ने गरेको नेपाली गौरव रहेकै हुन्थ्यो होला ? कि पृथ्वी नारायण शाहको साहस, वीरता र उनको बलियो र विशाल देश निर्माणको भावनाले ठिकै गरेको हो त ! मलाई लाग्छ, गरीवाल्डीले इटली एकीकरण गरेर ठिकै गरे । मस्कोका वहादुर राजकुमार (ग्राण्ड प्रिन्स अफ मस्को) इभान तृतीयले रुस एकीकरण गरेर ठिकै गरे । छिङ सम्राटले हान, झाओ, यान, वेई, चू, छिङ आदि राज्यमा बिभाजित र टुव्रmाटुव्रmा रहेको चिनलाई एकीकरण गरेर ठिकै गरे । त्यस्तै इतिहासको आवश्यकता पृथ्वी नारायण शाहले नेपाल एकीकरणको बलियो जग राखेर ठिकै गरे । उनका छोरा जेठा प्रताप सिंह र पछि बहादुर शाहले नेपालको एकीकरणको उनको सपना पुरा गरे । त्यसकारण राष्ट्र निर्माताका रुपमा पृथ्वी हाम्रा पूजनीय छन्, श्रद्धेय छन् । यस २९६ औं जन्मजयन्तीको अवसरमा उनीमा भावपूर्ण श्रद्धाञ्जलि ! पृथ्वी नारायणका बिभिन्न व्यक्तित्वका पाटाका वारेमा, उनका देशभक्तिका वारेमा, उनका दिव्य उपदेशका तात्पर्यहरुका वारेमा अनेक लेख लेख्न सकिन्छ । यी सब समय सन्दर्भसँग छलफल हुने नै छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: