राष्ट्रिय सहमतिको खाँचो

  प्रकाशित मिति
१२ श्रावण २०७३, बुधबार ११:२०


नेपाली काङ्ग्रेसको महाधिवेशनसँगै सत्ता परिवर्तन खेलका सङ्केतहरु देखा पर्न थालिसकेका थिए । काङ्ग्रेस सभापति शेरबहादुर देउवा पार्टीको आन्तरिक व्यवस्थापन गर्न विफल भएपछि सरकार परिवर्तन गरेरै भएपनि गुटगत भागबण्डा मिलानको निष्कर्षमा पुगेका थिए । र, एमाले–माओवादी गठबन्धन तोडिनुका पछाडि देउवाको यही उद्देश्य निहीत थियो भन्ने प्रष्ट हुन्छ । यद्यपि, संसदीय पद्धतिमा सरकार परिवर्तनको मुद्दा ठूलो पटक्कै होइन, अस्वाभाविक पनि होइन । तर, राष्ट्रिय परिस्थिति, वर्तमान आवश्यकता आदि तत्कालीन महत्वका विषयले धेरै कुरा निर्धारण गर्छ । यतिबेला दलहरुले बहुमतीय आधारमा सरकार परिवर्तनको बेमौसमी खेती लगाउनुभन्दा राष्ट्रिय सहमतिको सरकार निर्माणमा जोड दिनुपर्छ । सहमतिमा सरकारको नेतृत्व जसले गरे पनि हुन्छ । किनभने त्यो नितान्त प्राविधिक र अहिलेको राष्ट्रिय आवश्यकता पनि हो । अर्थतन्त्र र राष्ट्रिय आत्मविश्वासको पुनःनिर्माणका लागि पनि दलहरुबिच निश्चित समयसम्म कार्यगत एकताको टड्कारो आवश्यकता छ ।

प्रमुख दलका बिचमा भएको १६ बुँदे समझदारीबाट नेपाली काङ्ग्रेस पछि हटेपछि नै अल्पमत र बहुमतको चव्रmव्यूह सुरु भएको हो । त्यसै कारणले पनि संविधान कार्यान्वयन जस्तो राष्ट्रिय दायित्वलाई अगाडि बढाउन विलम्ब भइरहेको हो । काङ्ग्रेसले त्यही बेला सहमतीय यात्रा तोडेर गल्ती गर्यो । त्यसमाथि पछिल्लो परिस्थितिको मूल्याङ्कन नै नगरी नेकपा माओवादी केन्द्रसँग गठबन्धन गर्न पुगेको काङ्ग्रेसले सहमतिको अधुरो यात्रालाई अघि बढाउन योगदान दिनुपर्ने बेला आएको छ । राष्ट्रपतिले सहमतीय सरकार गठनका लागि दिएको एकसाताको समयलाई अधिकतम् उपयोग गरी राष्ट्रिय सहमति जुटाउन सार्थक छलफलका लागि अगुवाई गर्नैपर्छ । संसद्को पहिलो दल भएकाले पनि काङ्ग्रेसले अरु दललाई विश्वासमा लिएर अघि बढ्ने साहस देखाउनुपर्छ ।

अहिले राष्ट्रिय सहमतिको सरकार आवश्यक छ । यसका केही वस्तुगत आधार पनि छन् । पहिलो, तराई–मधेसमा थामिएको आन्दोलन हो । मधेस आन्दोलन स्थगन मात्रै हो, टुङ्गिएको होइन । सीमाङ्कनको मुद्दामा तराई–मधेस केन्द्रित दलको असन्तोष यथावत छ । मधेस केन्द्रित दललाई विश्वासमा लिई राज्यको मूलधारमा सहभागी गराएर अघि बढे मात्रै संविधानको सहज रुपमा कार्यान्वयन सम्भव छ । यो दायित्व बहुमतीय यात्राले सम्भव छैन । यसथर्, दलहरु सहमतिको सरकार निर्माणका लागि उदार बन्न जरुरी छ । दोस्रो, स्थानीय निकाय लामो समयदेखि जनप्रतिनिधिविहीन छ । स्थानीय निकायको चुनाव अहिलेको प्राथमिक आवश्यकता हो । यद्यपि, यसका लागि राजनीतिक स्थायित्व र सहमतिको खाँचो छ । यो अभिभारा पूरा गर्न पनि दलहरुबिच कार्यगत एकताको खाँचो छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: