मेचीनगर, १४ पुस । बङ्गलादेश सरकारले भूकम्प पीडितका लागि ८ महिना अघि पठाएको चालम खाद्य संस्थान कार्यालय झापाकै गोदाममा थन्किएको छ ।
खाद्य संस्थान कार्यालय मेची अञ्चल प्रमुख मार्कण्डयप्रसाद उपाध्यायका अनुसार देशको अहसज परिस्थितिका कारण ६१ हजार कुइटेल चामल गोदामै थन्क्याउनु परको हो ।
उनले बङ्गलादेश सरकारले भूकम्प प्रभावित क्षेत्रका लागि नेपाललाई प्रदान गरेको १ लाख कुइटेल चालम पूर्वी नाका काँकरभिट्टा हुँदै गत जेठमा ल्याएर खाद्य संस्थान कार्यालय मेचीको गोदाममा थन्काएको बताए ।
अञ्चल प्रमुख उपाध्ययाले हालसम्ममा ३९ हजार कुइटेल चामलमात्र प्रभावित क्षेत्रमा पठाइएको बताउँदै भने–‘हाम्रो खुशीले काम गर्ने कुरा आउँदैन, सरकारको नीति अनुसार चल्नुपर्दा आजसम्म चालम गोदाममै राख्नुपरेको हो ।’
उनले सरकारले प्रभावित क्षेत्रमा चामल ढुवानीको लागि हरहर महादेव ढुवानी सेवा सङ्घ हेटौडासँग सम्झौता भइसकेको जानकारी दिँदै भने–‘अब चाडै प्रभावित क्षेत्रका पीडित सामु चामल पुग्नेछ ।’
हाल राहतको लागि आएको चामल खाद्य संस्थान कार्यालय विर्तामोड र चन्द्रगढीका ५ वटा गोदाममा रहेको छ ।
त्यसैगरी बंगलादेश, भारत र सिक्किमबाट रहातका लागि प्राप्त ३ ट्रक कम्बल मङ्गलबार झापाबाट गोर्खा, नुवाकोटलगायतका प्रभावित क्षेत्रमा पठाइएको छ ।
मेची भन्सार परिसरस्थित इन्टरमोडल कम्पनीको गोदाममा रहेको ५ ट्रक कम्बल मध्ये सोमबार २ ट्रक सिन्धुपाल्चोक र रसुवाका लागि पठाइएको प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले बताए ।