राहत पाउनेको घरमा पच्चिस लाख भेटिएपछि सबै अचम्भित

  प्रकाशित मिति
२३ चैत्र २०७६, आईतवार १९:१९


कनकाई । लकडाउनका कारण विपन्नको सूचीमा परेर एक दिन अघि कनकाई नगरपालिकाबाट राहत सहयोग लिएका कनकाई–४ का ५१ वर्षीय ठाकुरसिंह राईको घरमा आइतवार अपरान्ह आगलागी हुँदा करीव २५ लाख नगद भेटिएको छ ।

कनकाई सामुदायिक वनको क्षेत्रभित्र झुपडी बारेर बनाइएको घरमा उनी बस्दै आएका थिए । शनिवार उनको सहित केही घरमा आगलागी भएको थियो ।

कवाडी सामान र प्लाष्टिकका वोतल टिपेर गुजारा चलाउने उनको घरमा सग्लो ९ लाख र आधा डढेको ६ लाख भेटिएको हो । घर जलेपछि उनी पीडामा छन् । तर उनको घरमा त्यत्रो धनराशी कसरी भयो भन्ने प्रश्न भने अनुत्तरित नै छ ।

आगो निभाउने क्रममा राईको घरको भग्नावशेषबाट उक्त नगद फेला पारिएको हो । आगो निभाउन खटिएका कनकाई सामुदायिक वन समूहका अध्यक्ष ख्याम ओलीले राईको घरमा गाडिएको एउटा ठूलो जस्ताको बाकसभित्र हजार र पाँचसय दरका बिटै बिटा भेटिएको बताए ।

आगो निभाउन खटिएका रेडक्रसका पदाधिकारी र प्रहरीले बाकसमा भएको पैसा गने । त्यहाँ नजलेको मात्रै हजार र पाँचसय दरको सग्लो नौ लाख रुपैँया थियो । जलेको तर बैङ्कमा साट्न मिल्ने थप छ लाख रुपैँयाँ थियो ।

बाँकी जलेको पैसा समेत जोड्दा झण्डै २५ लाख हाराहारी भएको बताइएको छ ।

राईले आफूसँग बाकसमा २४ लाख ५० हजार भन्दावढी रकम, डेढ तोला सुन र १८ तोला चाँदी रहेको स्वीकारेका छन् ।

फेला परेको नगद इलाका प्रहरी कार्यालय सुरुङ्गामा राखिएको छ । प्रहरीले रकमको स्रोतवारे अनुसन्धान गरिरहेको जनाएको छ ।

लक डाउनले बजार बन्द भएपछि उनको कमाई बन्द भएको भन्दै नगरपालिकाले प्राथमिकतामा राखेर राईलाई पाँच किलो चामल, दाल, तेल, नुन र सावुन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: