धुलावारी । मेचीनगर–१ को खयरडाँगीमा सडकको ड्रेन खन्दा पर्खालले किचिएर मृत्यु भएका भारतीय नागरिक सुबोल सिंहका परिवारका सदस्यहरू राहतको आशा गर्दै धुलावारी आइपुगेका छन् ।
भारतको विहार राज्यको कटियार जिल्लाको बहिरगनिया–१३ बाट अन्य मजदुरसँगै काम गर्न आएका ५५ वर्षीया सुबोलको गत १५ गते ड्रेन खन्दै गरेको अवस्थामा पर्खालले किचिएर मृत्यु भएको थियो ।
सुबोलकी वृद्ध आमा नियादेवी, पत्नी सुमित्रादेवी, छोरी राखी र कान्छो छोरा कीर्तनकुमार सिंह मङ्गलवार धुलावारी आइपुगेका हुन् । उनीहरु सुबोलको दाहसंस्कार सकेर शोककै अवस्थामा धुलावारी आइपुगेका छन् ।
आइपुगेका कान्छो छोरा कीर्तनकुमार बरखी बारेको सेतो कपडामै छन् । उनी कक्षा ८ मा पढ्दै गरेका छन् । सुबोलको मृत्युले परिवारको भरणपोषणको लागि आयआर्जन गर्ने आधार गुमेको उनकी पत्नी सुमित्रादेवीले बताइन् ।
मृतकलाई नेपालबाट एम्बुलेन्समार्फत भारतस्थित उनकै घर पुर्याइएको थियो । राहतका लागि कुराकानी गर्न भनेर भारतबाटै गाउँका मुखिया समेत धुलावारी आइपुगेका छन् ।
यता मृतकका परिवारलाई राहत प्रदान गर्नका लागि ड्रेन निर्माण उपभोक्ता समितिले हरेक उपभोक्तासँग चन्दा सङ्कलन सुरु गरेको छ ।
सो पर्खाल भत्किएको घटनामा परी घाइते भएकामध्ये एक जना तिलक सिंहको अझै पनि विर्तामोडको वीएन्डसी हस्पिटलमा उपचार भइरहेको छ भने अन्य दुई घाइते नाहिद आलम र वीरन सिंहलाई उपचारपछि हस्पिटलले डिस्चार्ज दिएको छ ।