राहत सामग्री वडामा पुग्यो, बाड्ने तयारी हुँदै

  प्रकाशित मिति
२३ चैत्र २०७६, आईतवार १७:००


।। अर्जुन कार्की ।।

मेचीनगर । विपन्न घर परिवारलाई राहत वितरण गर्न मेची नगरपालिकाले वडा कार्यालयहरुमा खाद्यान्न सामाग्री पुर्याउन शुरु गरेको छ ।

मेचीनगर नगरपालिकाले अति विपन्न तीन हजार घर परिवारलाई एक हप्ताका लागि राहत वितरण गर्न वडा वडामा खाद्यान्न सामाग्री पुर्याउन शुरु गरेको हो ।

१५ वटै वडाका विपन्न परिवारका लागि राहतका सामग्री पुर्याउन थालिएकोले नगरपालिकाले जनाएको छ ।

प्रत्यक वडा कार्यालयमा नगरपालिकाले मापदण्ड अनुसारका खाद्यान्न सामग्री पेकेजिङ गरेर पुर्याउन थालेको हो ।

मेचीनगरपालिकाले प्रत्यक वडामा विपन्न परिवारको संख्या छनौट गरेर राहत सामग्री वितरण गर्न शुरु गरेको छ । जसमा वडा नम्बर १ मा १५०, २ मा १६४, ३ मा २००, ४ मा ११०, ५ मा १३०, ६ मा २७०, ७ मा ३०५, ८ मा २००, ९ मा ३०० जना विपन्न परिवारलाई राहत सामग्री छुट्टाएर वडामा पठाइएको छ ।

त्यस्तै वडा नम्बर १० मा ३५०, ११ मा १४०, १२ मा १६०, १३ मा १६०, १४ मा १८० र वडा नम्बर १५ मा २०० जना विपन्न परिवारलाई राहत सामग्री प्रत्यक वडा कार्यालयमा पठाइएको नगरप्रमुख विमल आचार्यले जानकारी दिए ।

उनका अनुसार वडाले पठाएको लगत भन्दा कम संख्यामा राहत सामग्री पठाइएकोले अपुग भएमा थप वडाको बजेटबाट ३ लाख रुपैयाँ राहत सामग्री बाड्ने गरी व्यवस्था मिलाइएको छ ।

वडा नम्बर २ र ४ मा शनिबार राहत सामग्री पठाइएको नगरपालिकाले जनाएको छ । १, ३, ५, ७, ८, ९ र १० नम्बर वडामा आइतबार ट्रकमा लोड गरेर पठाइएको छ भने वडा नम्बर ६, ११, १२, १३ , १४ र १५ मा सोमबार पठाउने तयारी गरिएको नगरपालिकाका लेखा प्रशासन प्रमुख पदमबहादुर कार्कीले जानकारी दिए ।

वडा नम्बर ४ का वडा अध्यक्ष नविन बरालले शनिबार राहत सामग्री वडा कार्यालयमा आइपुगेको बताए । नगरपालिकाको मापदण्ड अनुसारको खाद्यान्न सामग्री बाड्न समय लाग्ने उनले बताए ।

उनका अनुसार प्रत्येक विपन्न परिवारका लागि छुट्टाइएर राहत नआएकोले मिलाएर राहत सामग्री पेकेजिङ गर्नुपर्छ ।
‘वडामा २१७ जना अति विपन्न परिवार छन्’, नगरपालिकाबाट ११० जनालाई एकहप्ताका लागि राहत सामग्री आएको छ । बाँकी ११७ जनाका लागि पनि राहत व्यवस्था गरिदैछ ।’

राहत अपुग भएकाले वडाको वजेटको कुनै शिर्षकबाट रकम रकमान्तर गरेर थप परिवारलाई राहतसँगै दिने तयारी गरिएको उनले बताए । सोमबार बेलुका वा मङ्गलबार विहानसम्ममा २१७ जना विपन्न परिवारलाई राहत बाडिने तयारी गरिएको वडाध्यक्ष बरालले जानकारी दिए ।
नगरपालिकाले सबै वडामा राहत पुर्याए पनि वडा कार्यालयले राहत बाड्न थोरै समय लगाउने भएको छ ।

नगरपालिकाले पठाएको राहतले नपुग्ने भएपछि वडाले नै थप नगरपालिकाकै दररेटमा मापदण्ड पुर्याएर राहतबाड्न एक दुई दिन लाग्ने छ ।
नगरपालिका कार्यपालिकाको विहीबार र शनिबार बसेको वैठकले उक्त निर्णय गरेको हो ।

वोर्ड वैठकले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा व्यवस्थापन राहत र उद्दार कार्य सञ्चालन कार्य विधि २०७६ पास गरेर उक्त निर्णय गरेको हो ।

नगरपालिकाको मापदण्ड अनुसार एकहप्ताका लागि राहत वितरण गरिने जनाएको छ । तर वडा कार्यालयलाई थप ३ लाख वजेट दिने निर्णय एकहप्तापछि विपन्न परिवारको संख्या र लकडाउन कायम रहे त्यो वजेट चलाउन वडाध्यक्षले सक्नेछन् ।

मापदण्ड अनुसार सात दिनका लागि समेत खाद्यान्न सामाग्री मौज्दाद नरहेको परिवार, यातायात क्षेत्रका परिचालक, रिक्सा, दैनिक ज्यालादारी गर्ने, अनौपचारिक क्षेत्रका असंगठित मजदुर परिवार, अशक्त अपाङगता भएका व्यक्ति घरमुली भएको परिवार हुनु पर्नेछ ।

उल्लेखित क्षत्रेका परिवार भित्र सरकारी वा कुनै संगठित संस्थामा करार वा स्थानीयमा कुनै सदस्य कामकाज गरिरहेको भए त्यस प्रकृतिका परिवारले राहत पाउने छैनन् ।

नगरको १५ वटै वडाका ३ हजार अति विपन्न घर परिवारलाई राहत स्वरुप खाद्यान्न बाडिने नगरपालिकाले जनाएको छ ।

खाद्य सामाग्रीमा ४ जनाको परिवार भए १० केजी चामाल, २ केजी दाल, ३ केजी आलु, खानेतेल आधा लिटर र १ केजी नुन छ ।

त्यस्तै चार जना भन्दा माथिका घर परिवारलाई १५ केजी चामाल, ३ केजी दाल, ३ केजी आलु, खानेतेल आधा लिटर र १ केजी नुन रहेको छ ।

राहतका लागि वडा तथा नगरपालिकाले ७५ लाखको वजेटमा राहत बाड्ने कार्यक्रम बनाएको छ । अन्य संघसंस्थाले दिएको सहयोगसमेत त्यसमा समावेश हुनेछ ।

मेचीनगर नगरपालिकाले अब एकद्वार प्रणालीबाट विपन्न घर परिवारको पहिचान गरी राहत वितरण गर्नेछ । अब विभिन्न संघसंस्था वा व्यक्तिले आफुखुशी राहत बाड्न नपाइने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: