चारआली । कोरोना संक्रमणको आशंकामा मेचीनगरको क्वारेन्टाइनमा उपचार गराइरहेका बिरामीलाई मेचीनगर–१२ मा सञ्चालित रितिका डेरी उद्योगले दूध उपलब्ध गराउने भएको छ ।
क्वारेन्टाइनमा रहेका एकजना विरामी बराबर दुईसय ग्राम दुध आइतबारदेखि उपलब्ध गराइने उद्योगका सञ्चालक राजन चिमरियाले जानकारी दिए ।
कोरोनाबाट उत्पन्न परिस्थितिलाई हेरेर राहत स्वरुप बिरामीलाई दूध सहयोग गरिने उनले बताए ।
जिल्लाकै ठूलो मध्येको एक रितिका डेरी उद्योगले सामुदायिक विद्यालयका विद्यार्थीलाई पनि निःशुल्क दूध वितरण गर्दै आएको छ ।
सामाजिक उत्तरदायित्व अन्तर्गत डेरी उद्योग मानवीय सहयोग गर्ने हेतुले उक्त सहयोगको घोषणा गरेको सञ्चालक चिमरियाले बताए ।
मेचीनगरको पशुपति मावि बाहुनडाँगी, सरस्वती मावि बाहुनडाँगी, स्वास्थ्य चौकी धाइजन र आदर्श मावि इटाभट्टामा क्वारेन्टाइन स्थापना गरिएका छन् ।
ती क्वारेन्टाइनमा ४४ जना कोरोना आशंका गरिएका व्यक्तिलाई राखिएको विपद् व्यवस्थापन समिति मेचीनगरका संयोजक टिकाराम मंग्रातीले जानकारी दिए ।