मेचीनगर । रिदम नेपाल मेचीनगरको संयोजनमा खुट्टीडाँगी समाजले अति विपन्न परिवारलाई राहत दिनेगरी १ हजार ८० केजी चामल वडा कार्यालयलाई हस्तान्तरण गरेको छ ।
मेचीनगर वडा नं ९ का वडाध्यक्ष गोपाल खड्कालाई उक्त राहत वापतको चामल मङ्गलवार हस्तान्तरण गरिएको हो ।
प्राप्त चामल वडाभित्रका अति विपन्न परिवारलाई राहत स्वरुप उपलब्ध गराइने वडाध्यक्ष खड्काले बताए ।
वडाध्यक्ष खड्काले अबको राहत चुलो नबल्ने परिवारको पहिचान गरेर मात्रै वितरण गरिने प्रतिबद्धता व्यक्त गरे ।
स्थानीय गरिब परिवारलाई राहत स्वरुप खान पुगोस् भन्ने हेतुले समाजसेवीहरुबाट स्वेच्छिक सहयोग संकलन गरिएको थियो ।
स्थानीय समाजसेवीबाट संकलित करिब ५० हजार बराबरको चामल वडा कार्यालयमा बुझाइएको क्लबका अध्यक्ष रुद्र रोक्काले बताए ।
लामो समयदेखि लकडाउन भइरहँदा यो बेला अति विपन्न परिवार समस्यामा परेका छन् ।
अभावको बेला उनीहरुलाई सकेजति मानवीय सहयोग गरिएको अभियन्ता प्रकाश चापागाईंले बताए ।
गरिबको घरमा चुलो बल्ने वातावरण बनाउन आफूहरु सधैँ तयार रहेको अर्का अभियन्ता कुमार तामाङले बताए ।
क्लबले राहत संकलनमा खटिने सदस्य तथा सहयोग गर्ने दानवीरहरुलाई धन्यवाद व्यक्त पनि गरेको छ ।
मेचीनगरमा सो क्लब सामाजिक क्षेत्रमा सक्रिय छ ।