काँकरभिट्टा । एग्रो फरेस्ट्री वेसिक हेल्थ एन्ड को–ओपरेटिभ (एविसी नेपाल) झापाको आयोजनामा रिले स्टिकर अभियान काँकरभिट्टाबाट सुरु भएको छ ।
रिले स्टिकर अभियान २०२० लाई सफल पारौं, मानव बेचविखन तथा लागुऔषध ओसार पसार अन्त्य गरौं भन्ने नाराका साथ काँकरभिट्टामा नेपाली तथा भारतीय गाडीमा स्टिकर टाँसेर कार्यक्रमको सुभारम्भ गरिएको हो ।
मेचीनगर नगरपालिका उपप्रमुख मीना उप्रेती पोखरेलले रिले स्टिकर अभियानको ब्यानर पढेर कार्यक्रमको उद्घाटन गरेकी थिइन् ।
कार्यक्रममा प्रमुख अतिथि उपमेयर उप्रेती, विशिष्ट अतिथि काँकरभिट््टा प्रहरी डीएसपी राजेन्द्र पोखरेल, माइती नेपालका पूर्वाञ्चल संयोजक गोविन्द घिमिरे, नेपाल उद्यमशील महिला झापा अध्यक्ष पार्वता विमलीलगायतले मानव बेचविखन तथा लागुऔषध ओसारपसार अन्त्य गर्न अभियान सफलताको कामना गरेका थिए ।
नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर जिल्लामा नेपाली र भारतीय नम्बरका सवारी साधनका साना ठुला करिव एकसय वटा गाडीमा रिले स्टिकर टाँसिएको एबिसी नेपाल झापा शाखाकी अध्यक्ष कञ्चना ढकाल सिटौलाले जानकारी दिइन् ।
यो अभियान विराटनगरस्थित मोरङको शाखामा हस्तान्तरण गरिने उनले बताइन् । झापामा यो अभियान माघ १८ गतेसम्म सञ्चालन हुनेछ ।
एविसी नेपाल झापाकी अध्यक्ष कञ्चना ढकाल सिटौलाको सभापतित्व एवम सदस्य सङ्गीता रौनियारको स्वागत र सचिव देविका बस्नेतको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।