मेचीनगर, १६ भदौ । सामुदायिक बनको सखुवाको रुख काट्न निर्देशन दिएको आरोप लागेका धरान उपमहानगरपालिकाका मेयर तिलक राईलाई धरान–२० स्थित भालढुंगा सामुदायिक वन उपभोक्ता समुहले कारवाहीको माग गरेको छ ।
भालढुंगा सामुदायिक वनद्वारा संरक्षित वन क्षेत्रमा विना सूचना ढुंगे पानी भन्ने ठाँउमा अन्दाजी २ सय ५० किवी आउने सालको रूख काट्न मेयरले निर्देशन दिएको आरोप लगाउँदै उपभोक्ता समुहले कारवाहीको माग गरेको हो ।
काँचो सखुवाको रूख काटेको व्यक्ति उपर कारवाहीको मागसहित उपभोक्ता समुहले इलाका वन सब डिभिजन कार्यालयमा निवेदन दिएको छ ।
इलाका बन डिभिजन कार्यलय धरानमा बुझाएको माग पत्रमा मेयर राईको निर्देशन र प्रत्यक्ष उपस्थितीमा दुईवटा विधुतिय आरा प्रयोग गरी व्यक्तिगत प्रयोजनका लागि वा कुनै नियतले निकासी गर्ने तयारी गरीरहेको अवस्थामा वनको उपभोक्ताहरूले फेला पारेको उल्लेख छ ।
वनका अध्यक्ष बुद्धिमान तामाङद्वारा हस्ताक्षरीत पत्रमा मेयर राईसहित कटानमा संलग्न अन्यलाइ पनि कारवाही गर्न माग गरेको छ । इलाका सब डिभिजन वन कार्यालय विष्णुपादुकाका प्रमुख राजेन्द्रप्रसाद यादव, रेञ्जर इश्वरी बाँस्तोला, सशस्त्र वन रक्षक सहितको टोलीले स्थलगत अध्ययन समेत गरेको छ ।
(प्रदेश पोर्टल)