रुग्ण कृषिः दोष कसको ?

  प्रकाशित मिति
६ आश्विन २०७४, शुक्रबार १८:२२


gobinda-neupane

हामीले चाहेको विकास के हो भन्ने बारेमा त विभिन्न कोणबाट बहस गर्न सकिन्छ । तर पनि हिजोआज नेतागणका भाषणमा अबको आवश्यकता देशको सम्वृद्धि हो भन्ने प्रशस्तै सुन्न सकिन्छ । नागरिकले यो भन्ने मात्र हो, गर्ने हैन भन्ने बुझिसकेका भएपनि त्यसको अनुभूति नेतागणमा पटक्कै छैन । यदि भएको भए नागरिकको दयनीय अवस्था भइरहेको अवस्था आफ्ना लागि सेवासुविधा बढाउनेमा कमै ध्यान दिएका हुन्थे । संंसारका धेरै देशहरुले कृषिको विकास गरेका छन् । कृषिबाट आफ्नो आवश्यकता पूरा गरी निर्यातसम्म गरेका छन् ।

हाम्रोमा भने कृषि क्षेत्रका योजना र वैदेशिक सहयोगहरु निकम्मा सावित भएका छन् । कृषि खस्कँदै गएपनि मन्त्रालय र मन्त्रीहरुको संख्या बढेको छ । कृषिबाट पशुपंक्षी मन्त्रालय बढेको छ । पशुको संख्या र उत्पादन नबढेपनि मन्त्री र राज्यमन्त्री बढेका छन् । अदुवा, अलैँची जस्ता कृषि उत्पादनहरुको बजारको समस्या देखिए पनि हामी आफैँलाई चाहिने अन्न तथा तरकारीबालीको उत्पादन बढ्न सकेको छैन । उत्पादन भएर पनि उपयोग हुन नसकेको एउटा उत्पादन आलुको अवस्था के छ भन्ने बारेमा आज चर्चा गर्ने जमर्को गरिएको छ ।

नेपाली भान्सामा सधैँ भूमिका निर्वाह गर्ने आलु तराईमा कात्तिक मंसिरमा लगाइन्छ र फागुन चैत्रमा भित्र्याइने गरिन्छ । व्यावसायिक रुपमा खेती गर्दा समेत प्रशस्त लाभ हुने आलुखेती पूर्वका तराईमा भने व्यावसायिक प्रयोजनका लागि खासै खेती गरेको पाइँदैन । किनकी भारतीय बजारबाट आउने आलुको मूल्यको तुलनामा उत्पादन लागत बढी हुने भएकाले व्यावसायिक रुपमा खेती नगरिएको हुन सक्दछ । तर, घरायसी प्रयोजनकै लागि समेत एक कृषकले १० केजी आलु खेती गर्दा १६० केजीदेखि २४० केजीसम्म उत्पादन गर्न सकिन्छ । यति उत्पादन गर्नका लािग सामान्य गोवरमल र ढुसीनासक विषादीको प्रयोग गरे पुग्छ । यो अर्गानिक उत्पादन बजारमा पाइए भन्दा स्वादिलो र स्वस्थ हुनेमा त कसैको विमति नहोला । यति उत्पादनले सामान्य अवस्थामा एक परिवारको आवश्यकता पूरा हुन्छ ।
यसरी उत्पादन गरिएका आलु एक महिना पश्चात उपयुक्त भण्डारनको व्यवस्था नभएका कारण हरेक दिन फ्याल्दै जानुपर्ने हुन्छ । उपयुक्त भण्डारनको व्यवस्था नभएका कारण आलु चाउरिँदै जाने र उम्रन थाल्ने भएकाले आफैँले उत्पादन गरेको वस्तु समेत निकम्मा सावित भएको छ । घरमा भएको आलु भाद्रबाट खानै नमिल्ने भएका कारण फ्यालेर बजारमा भरपर्नु पर्ने स्थिति हरेक कृषकले भोग्दै आएको विषय हो ।

अब राज्यले हरेक कार्यक्रममा कृषिलाई प्राथमिकतामा राखेको यत्रतत्र सुन्न पाइन्छ । तर, हरेक कृषकलाई फाइदा पुग्ने गरी शितभण्डारको व्यवस्था गरेको पाइँदैन । यदि शितभण्डारको व्यवस्था गर्ने हो भने आफूलाई तत्काल नचाहिने आलु शितभण्डारमा राखेर आवश्यकता अनुसार उपभोग गर्न सकिन्छ भने आफूले उत्पादन गरेका आलुबाट नै आगामी खेतीका लागि बीउ समेत राख्न सकिन्छ । हाल भारतीय बजारमा पाइने आलुहरु खेतीबाट खनेर ल्याइएका होइनन् । ती शितभण्डारबाट निकालेर ल्याइएका हुन् । झापामा शित भण्डार नभएको भने होइन, विर्तामोडमा रहेको शितभण्डार (कोल्डस्टोर) ले झापाका कृषकहरुको माग पूरा गर्दैन ।

बैंक तथा वित्तीय संस्थाहरुमा तरलताको प्रचुरता छ । सहकारीले समेत हरेक वर्ष गर्ने साधारण सभामा मुनाफाको ठुलो अंक प्रस्तुत गरेका हुन्छन् । वाणिज्य बैँकहरुलाई समेत कृषि क्षेत्रमा आफ्नो लगानीको १० प्रतिशत हुनुपर्ने नीति बनाए पनि शित भण्डार किन बनाइँदैन त ? यो विचारणीय विषय छ । दलाल पुँजीवादी अर्थ व्यवस्थामा लगानीको प्रतिफल सोझै र तत्काल खोजिन्छ । शित भण्डारबाट हुने प्रत्यक्ष प्रतिफल थोरै र दिर्घकालीन प्रतिफल धेरै हुन्छ । सवारीसाधनमा लगानी गरिएको रकमले छोटो समयमा लाभ दिए पनि आयात बढ्ने र इन्धन पार्टपूर्जा लगायतका शीर्षकमा खर्च बढी निर्यातकर्ता मुलुकमा नै रकम थुप्रिने गर्दछ भने शितभण्डार निर्माण गर्दा कृषकको उत्पादन खेर जाँदैन र आयात प्रतिस्थापन हुन्छ । यस्तो अवस्थामा सहकारी र सरकारी लगानीमा खोलेका बैँक तथा वित्तीय संस्थाहरु सबै नै दलालीमा लाग्ने र बढीभन्दा बढी मुनाफा आर्जन गर्ने ध्याउन्नमा छन् । औद्योगिक पूँजी भएको भए उत्पादनमा ध्यान दिइन्थ्यो । जसका कारण रोजगार सिर्जना हुने र आयात प्रतिस्थापन हुने हुन्थ्यो ।

आलु, गोलभेँडा, कागती जस्ता भान्साका दैनन्दिन आवश्यकताका लागि गरिने आयात सानो अंकमा देखिए पनि समग्रमा ठुलो हुन्छ । नेपाल सरकारको भन्सार रेकर्र्ड अनुसार आ.व. २०७३ ÷७४ को ११ महिनामा २२ अर्बको चामल, १० अर्बको तरकारी र ४ दशमलव ६ अर्बको फलफूल भारतबाट आयात भएको छ । भन्सारको न्युन बिजकीकरणका कारण यो रकम ६ गुणा बढी हुनेमा ढुक्क भए हुन्छ भने खुल्ला सिमानाका कारण उपभोक्ता आफैँले र बिना भन्सार नेपालमा आउने तरकारी र फलफूलको मूल्य १ खर्बभन्दा माथि हुनेमा विश्वास गर्न कुनै कठिन छैन ।

कृषि प्राथमिकता हल्लैहल्लामा बित्ने र कृषिजन्य वस्तु आयात गर्ने हाम्रो प्रवृत्तिले हामी कता जाँदैछौँ भन्ने छर्लङ्ग हुन्छ । मेचीनगरको ज्यामिरगढीमा हिउँदे खेतीको लागि अव्बल देखिएको छ । मागुरमाडी लगायतका क्षेत्रहरु तरकारी र पशुपालनका लागि प्रशस्त सम्भावना भएका क्षेत्रहरु हुन् । गोलभेँडाका लागि बाहुनडाँगी पकेट क्षेत्र बनाउँदा फरक पर्दैन । हालैका दिनमा बौद्धमोडमा टनेलभित्र रायोको साग उत्पादन सफलतापूर्वक भएको छ । ती क्षेत्रहरुमा कृषि उत्पादन बढाउन सामान्य ध्यान दिए मात्र पनि पुग्दछ । तर, उपयुक्त बजार र भण्डारणको व्यवस्था नहुँदा कृषक व्यावसायिक खेतीका लागि तयार हुँदैनन् । यो कृषकको दोष हो कि नीति निर्माताको ? आजको आवश्यकता स्मार्ट सिटीको हो कि कृषि उत्पादन, भण्डारण र बजारीकरणको हो ?

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: