रुदालीको रौद्र रुप

  प्रकाशित मिति
१ आश्विन २०७३, शनिबार १०:२९


pink980-1473947016_980x457सभ्यताको आकार दिनानुदिन बढ्दै गए पनि आधा आकाश ढाकेका नारीवादी चिन्तन पुरुषवादी समाजमा अझै खण्डित नै छ । समाज पलपल नयाँ दिशातर्फ अग्रसर छ । जीवनरुपी गाडाको दुईचक्के पाङ्ग्राको महत्त्वपूर्ण एक पाङ्ग्रा नारीलाई पुरुषवादी समाजले जहिल्यै पनि निच देखाउन अग्रसर हुँदै आएको छ ।

कला, साहित्य अनि फिल्ममा नारी पात्रलाई ‘सो पिस’को रुपमा मात्र देखाउने बलिवुडलाई निर्देशक अनिरुद्ध चौधरीले फिल्म पिङ्कमार्फत् झापड हान्ने प्रयास गरेका छन् । कुनैपनि फिल्म नारीको पहिरनको बहसलाई लिएर बनाइएको कमै होला तर निर्देशक चौधरीले पिङ्कमा अत्याधुनिक नारीवर्गको सोच उसको छोटो लुगाले नबताउने तर्क पेस गरेको छ ।

सहरीकरणको यो युगमा छोटा लुगा लगाउने केटीलाई असभ्यताको प्रतीकको रुपमा हेर्ने पुरुषवादी समाजको कमी छैन । तर, छोटो लुगा लगाउँदैमा उसको सभ्यता कतिको सस्तो छ भन्ने आँकलन गर्ने जिम्मा त्यो पुरुषवादी समाजलाई पक्कै पनि हुँदैन । पिङ्कले यही बाहिरी आवरण र नारीशक्तिको विषयलाई बहसमा उतार्ने प्रयास गरेको छ ।

कुनै पार्टीमा भेटिएका आधुनिक केटी जो रक्सी र डिनरमा रमेका छन्, उनीहरुलाई मित्रताको प्रस्ताव गर्ने अनि त्यो मित्रतालाई अत्यन्त स्वाभाविक रुपमा लिँदा आफ्नो अस्तित्व नै सुम्पेको सम्झने पुरुषको कथा पिङ्कले भन्छ । जब सेक्सको प्रस्ताव अस्वीकार गरिन्छ तब पुरुषलाई हिनताबोध हुन्छ । यही एउटा दुर्घटना हुन्छ र ती पुरुषमाथि बोतल प्रहार गर्न ती केटी बाध्य हुन्छिन् ।

मुद्दा अदालतसम्म पुग्छ र बहस सुरु हुन्छ । यही बहसको माध्यमबाट पिङ्कले पुरुषवादी समाजको ‘पोस्टमार्टम’ गर्न सुरु गर्छ । अनुरानन् र अन्तहीन जस्ता उत्कृष्ट बङ्गाली फिल्मका निर्देशक चौधरी पिङ्कमा आधुनिक नारी अश्लिलताकी प्रतीक होइन बरु शक्तिको विष्फोट हुन् भन्ने सन्देश प्रदान गर्न सफल भएका छन् । बलिवुड महानायक अमिताभ बच्चन ती केटीहरुको वकिल दीपक सहगलको रुपमा जमेका छन् । तिनजना केटीको भूमिका निभाउने मिनल अरोडा, फलक अली र एन्ड्रिया तेरियाङ्गले आधुनिक नारीको प्रतिबिम्ब झल्काउन सफल भएका छन् ।

pink2-1473946782

फिल्म अत्यन्त सरल तर सोचनीय तर्कको साथ बहन्छ । अदालतमा गरिने बहस अनि तर्कले फिल्म बनाउनु अघि धेरै रिसर्च गरेको अनुभूति दिँदैछ । सभ्यता जटिलतातिर प्रवेश गरेको छ । सभ्यताको यो चरणमा केही पक्षलाई आत्मस्वीकृति गर्न जरुरी छ । नारी सधैँ कुवाको भ्यागुता बनिन सक्दिन । नारीको विष्फोटक रुपलाई अबको समाजले आत्मसात गर्न जरुरी भएको छ ।

मिर्च मसाला अनि रुदाली जस्ता चरित्रको निर्माण गरी बलिवुडले नारीलाई कमजोरीबाट शक्तिको रुपमा प्रस्तुत गरेको थियो । नारी अब आधुनिक समाजमा एउटा शक्तिको नाम हो । सहरिया वातावरणमा हुर्किदा नारीको पहिरनमा मात्र फरक आएको छैन । उसको सोच, चिन्तन अनि उपस्थितिमा पनि फरकपना आएको पुरुषवादी समाजले भुल्न हुँदैन । खुला समाजको वकालत गर्ने पुरुषवादी चिन्तनले नारीलाई भने पर्दाको घेरामा राख्दा आफूलाई सर्वशक्तिमान सम्झन्छ । भाषण र तर्कमा महिला अधिकारको खोब्रmा बहस फुक्ने पुरुष अझै पनि सङ्कीर्णताको घेराभन्दा बाहिर निस्क्न सकेको छैन ।

छोटो लुगा लगाउँदैमा अनि बेवाक बोल्दैमा नारीलाई अश्लिलताको उपज सम्झने पुरुषवादी समाजले के बुझ्न जरुरी छ भने नारी आज पनि सभ्यताकी धनी छिन् । आजकी नारी रुदाली जस्तो अरुको लहलहैमा लागेर रुन बाध्य छैन । आज रुदालीको रुप रौद्र बनेको छ । ऊ आज पुरुषवादी समाजको हैकमलाई चुनौती दिन तयार छे । नारीलाई उसको स्थान अनि उसको अधिकार स्थापित गर्न पिङ्क जस्ता फिल्म बारम्बार बनेर पुरुषवादी समाजलाई झक्झकाउन जरुरी भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: