रुमालले मुख बाँधिएको अवस्थामा भेटिएको महिलाको शबको पोस्टमार्टम रिपोर्ट आज आउँदै

  प्रकाशित मिति
२४ असार २०७७, बुधबार १२:२६


बुधवारे, २४ असार । एक साता अघि उत्तरी झापाको बुद्धशान्ति गाउँपालिका वडा नं. ४ स्थित बर्ने चिया बगानभित्र अर्धनग्न अवस्थामा मृत भेटिएकी एक महिलाको पोस्टमार्टम जाँचको रिपोर्ट बुधवार आउने भएको छ । तर, मृतकको हालसम्म सनाखत हुन सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाका अनुसार मेची राजमार्गबाट ३ सय मिटर पूर्व बर्ने चिया बगानमा घोप्टो परेको अवस्थामा महिलाको शब भेटिएको थियो ।

मृतकको सनाखत हुन नसकेपछि शबलाई धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।

सोही प्रतिष्ठानमा शबको पोस्टमार्टम जाँच गरिएको छ । इलाका प्रहरी कार्यालय धुलावारीका प्रहरी निरीक्षक कैलाश चौधरीले बुधवार रिपोर्ट लिन प्रहरी टोली धरान गइसकेको जानकारी दिए ।

शबको प्रकृति हेर्दा कसैले महिलाको हत्या गरेको हुनसक्ने अनुमान छ । मृतकको मुख रुमालले बाँधिएको, शरीरको कम्मरमुनिको पछाडिको भागको कपडा खोलिएको र निधारमा ताजा चोट भएको प्रहरीका जिल्ला प्रवक्ता थापाले बताए । घटनास्थल नजिकैबाट प्रहरीले पेप्सीको बोतलमा मदिरा, आधा प्याकेट चाउचाउ र छाता भेटेको जनाएको छ ।

प्रहरीले घटनाको अनुसन्धान अघि बढाउनुका साथै मृतकको सनाखतका लागि आफन्तको खोजी कार्य जारी राखेको छ । घटनास्थल इलाम जाने मेची राजमार्ग नजिक रहेको हुँदा मृतक इलामको हुनसक्ने ठानेर झापा र इलामका प्रहरी इकाई मार्फत आफन्तको खोजी अघि बढाइएको प्रहरीको भनाई छ ।

पोस्टमार्टम रिपोर्ट आइसकेपछि घटनाको बारेमा धेरै जानकारी हुने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: