‘रुवाई’ एक चर्चा

  प्रकाशित मिति
१३ पुष २०७२, सोमबार ०६:०८


Prakash-Angdembe

 

नेपाली साहित्यमा ‘रुवाई’को संरचनात्मक मर्म र धर्मका आधारमा ‘रुवाई’को संरचना अनुसार ‘रुवाई’ लेख्ने पहिलो व्यक्ति प्रकाश आङ्देम्बे हुन् । यो खोजीको बिषय छ ।

‘रुवाई’ मूलतः फारसी मूलको एक लोक लय हो । फारसी भाषामा गाइने छोटो गीति लय हो ‘रुवाई’ । यो अनिवार्य चार हरफ भित्र अनुवन्धित हुन्छ । नेपाली लय झ्याउरे, देउडा, हाक्पारे, ख्याली, पालाम, सेलो आदि झैँ यसको पनि आफ्नै संरचना छ । यसको आफ्नै नियम पहिचान छ ।

उदाहरण ः
फड्के दौडे पो जित हुन्छ हाम्रो
छड्के दौडे पो जित हुन्छ हाम्रो
कनिष्टले के ल्याउँछ पदक यहाँ
खड्गे दौडे पो जित हुन्छ हाम्रो

त्यस्तै ः
पहिचान पखाल्नेलाई नागरिकता
गलत कदम चाल्नेलाई नागरिकता
याम थुलुङहरू शरणार्थी सधैँ
जङ्गे पिलर ढाल्नेलाई नागरिकता
(प्रकाश आङ्देम्बे (झापा)

त्यस्तै अर्कोः
एक ठानेको थियौँ हावापानी धर्ती खास निजी हुन्छ,
मौसम फेरि चलिरहन्छ कहाँ बतास निजी हुन्छ ?
घाम लाग्दा संसार उज्यालो मख्ख पर्न हुन्न साथी
छोप्न सक्छ बादलुले कहाँ प्रकाश निजी हुन्छ ?
(भोला सिवाकोटी, अमेरिका)

माथिको ‘रुवाई’मा फड्के, छड्के, खड्के काफियाको रूपमा आएका छन् । त्यसपछि दोहोरिएर आएको बस्तु रदिफको रुपमा छन् । त्यस्तै अर्कोमा खाल्ने, चाल्ने र ढाल्ने काफिया हुन् । अर्को ‘रुवाई’मा खास, बतास र प्रकाश काफियाका रूपमा छन् भने त्यसपछि दोहोरिएर आएको बस्तु रदिफको रूपमा आएको छ । पहिलो दोस्रो र चौथो हरफमा काफियाको अनिवार्यता पर्दछ । तर, रदिफको अनिवार्यता पर्दैन, भइहालेमा सुनमा सुगन्धित हुनेछ ।

पहिलो हरफले विषय बस्तुको उठान गरेको हुन्छ, दोस्रो हरफले थप ब्याख्या गरेको हुन्छ, तेस्रो हरफमा रदिफ काफियाको जरुरत पर्दैन र यो हरफले कोतुहलता प्रदान गर्दछ । तर, चौथो अर्थात अन्तिम हरफले समग्र भावलाई जोड दिएको हुन्छ । यो हरफमा काफियाको जरुरत अनिवार्य पर्दछ ।

‘रुवाई’ एउटै विषय बस्तुमा केन्द्रित हुन्छ । तर, गजलकारहरूले काफियामा अलमल भएका कारण पुरा हुन नसकेको गजलहरूका दुई शेरलाई पनि यहाँ ‘रुवाई’ भन्न पनि थालिएको छ । यसले न गजलकारलाई हित गर्छ न ‘रुवाई’लाई । साहित्यका हरेक विधा झैँ ‘रुवाई’को आफ्नै पहिचान छ, स्वतन्त्रता छ, नियम छ । त्यसको आधारमा सम्मानका साथ ‘रुवाई’ लेखिनु पर्दछ ।
‘रुवाई’को भाव पक्ष कुनै पनि व्यक्तिको आफ्नो बियोग सुख, दुःख, प्रेम, विद्रोहमा आत्माबाटै भक्कानिएर निस्केको शब्द नै ‘रुवाई’ हो । आफन्तको बियोगमा रुनुसँगको अर्थ ‘रो’ बाट ‘रु’ हँुदै ‘रुवाई’ भएको हो । यो एउटा संयोग मात्र हो ।

‘रुवाई’को पूर्वावस्था ः
‘रुवाई’ एक वचन र रुवाइयात बहुवचन फारसी भाषाको लोकलय भए तापनि यसलाई मलजल गरेर उच्च सिर्जनात्मकता दिने कार्य उमर खैयामले गरेका हुन् । ‘रुवाई’को अध्ययन गर्दा उमर खैयामलाई अध्ययन नगरी पूर्णता पाउन सकिदैन । उमर खैयाम (सन् १०३८–११३१) आज भन्दा एक हजार बर्ष पहिले हालैको ईरानको निशापुर भन्ने ठाउँमा जन्मिएका हुन् । खैयाम गणितीय विद्, वातावरण विद्, खनिज विद्, दार्शनिक थिए । खैयाम विविध बिधाका बहुप्रतिभाका धनी थिए । गणितमा विशेषतः अलजेब्राको आधुनिकीकरण र आधुनिक क्यालेन्डरको स्थापना उनैले गरेका थिए । सोही कारणले उनलाई संसारको गणितीय दार्शनिक भनेर पनि उल्लेख गरेको पाइन्छ ।

नेपाली साहित्यमा ‘रुवाई’ः
भारतीय कवि डा.रायबचनले प्रकाशन गरेको मधुशाला ‘रुवाई’ सङ्ग्रहले रायबचनलाई चर्चित मात्र बनाएनन् कि नेपाली साहित्यमा ‘रुवाई’ भित्र्याउनुमा निकट स्रोत पनि बन्यो ‘मधुशाला’ । खैयामका रुवाइयात फारसीबाट उर्दु हुँदै हिन्दीमा आएको तथ्य पाइन्छ । तर, प्रसिद्ध चाहिँ अङ्ग्रेजी र हिन्दीमा भएको पाइन्छ । नेपाली साहित्यमा कहिलेदेखि ‘रुवाई’ लेखन सुरु भयो, त्यो खोजीकै विषय छ । तर ‘रुवाई’ संरचनाका सिर्जना चाहिँ पाँच दशक अघिदेखि थालिएको पाइन्छ । भीमदर्शन रोक्का, भूपी शेरचन, हरिभक्त कटुवाल आदिका रचना पनि ‘रुवाई’कै संरचनामा पाइन्छन् । तर, आधिकारिक ‘रुवाई’को कृति चाहिँ केदार सत्याल (बिराटनगर )द्वारा २०३२ चैत्रमा प्रकाशित कृति उमर खैयामको रुवाइयातको अनुवाद हो ।

केदार सत्यालद्वारा अनुवादित ‘रुवाई’ कृतिका आधारले पहिलो भए तापनि नेपाली साहित्यमा ‘रुवाई’को संरचनात्मक मर्म र धर्मका आधारमा ‘रुवाई’को संरचना अनुसार ‘रुवाई’ लेख्ने पहिलो व्यक्ति प्रकाश आङ्देम्बे हुन् । यो खोजीको बिषय छ । ‘रुवाई’को पहिलो कृति ‘ग्याँस च्याम्बरमा बुद्ध’(२०६१) नै हो । रुवाइयातमा मिथ्या र शीर्षक सहितको कृति ‘चासोक तङ्नाम’(२०६५) पहिलो हो । ‘रुवाई’मा सवालजवाफ ‘दोबाटोको कोशेली’(२०६६) पहिलो हो । नेपाली साहित्यमा ‘रुवाई’ हाल यति व्यापक भयो कि तीन दर्जन भन्दा बढी कृति आएका छन् भने हजारौँले ‘रुवाई’ लेखिरहनु भएको अवस्था छ ।

बिश्वका जुनसुकै देशमा बसोबास गरेका भए पनि नेपाली ‘रुवाई’को लेखन नेपाल भारत सिक्किम, भुटान, म्यानमार, अमेरिका लगायतका देशहरूमा व्यापक रूपमा लेखिदै आएको छ ।

निस्कर्षः
साहित्य सिर्जना भनेको आफैमा सम्मानित र प्रतिष्ठित क्षेत्र हो । संसारका प्रिय बस्तु सुन्दर र रमणीय बनायो त त्यो साहित्य सिर्जनाले बनायो । बिश्व साहित्यमा हरेक बिधाहरूको आ–आफ्नै पहिचान, स्वअस्तित्व छ । हरेकको रङ्ग र अर्थ छ । अर्थ रङ्ग हुनुको मौलिक तथा भौगोलिक सम्मानित कारणहरू छन् । ‘रुवाई’ साहित्यमा पनि त्यस्तै एउटा बिधा हो । आज ‘रुवाई’को आफ्नै इतिहास छ सिद्धान्त छ । प्रमाण छ । जगत, जीवन्तता र हार्दिकता छ । त्यसैका आधारमा नेपाली साहित्य फस्टाएको छ । ‘रुवाई’लाई प्रमाणसहित, प्रेमसहित गर्व र बोधसहित ‘रुवाई’ भनेर सिर्जना गर्नु राम्रो पक्ष हो । तर, यहाँ यता कता नजान्ने नबुझ्नेहरूले ‘रुवाई’लाई ‘मुक्तक’ भनेर भनिरहेको पनि पाइन्छ ।
केही ‘रुवाई’हरू ः
१.स्वाभाविमान ः
मन मेरो भन्नु त यति एउटा न हो,
तन मेरो भन्नु त यति एउटा न हो ,।
एउटा भएको मुटु पनि टुव्रmयाऊ भन्छौँ,
झन् मेरो भन्नु त यति एउटा न हो ।
(राजकुमार खड्का, झापा )

२.तिमी भित्र ः
लुट्नु थियो लुट्याँै मलाई वस्त्र सबै खोलाएर,
के गर्नलाई खोज्यौँ नि त पागल झैँ टोलाएर ।
छि ! त्यस्तो जुनी पाउनु भन्दा नपाए कै वेस,
सौन्दर्य नै लुटिदियोै एकान्तमा वोलाएर ।
(शेर्मा गञ्जुश्री, पाँचथर)

३.उदास उदास ः
साँझ उदास कसैको, कसैको बिहानी उदास उदास,
कविता उदास कसैको, कसैको कहानी उदास उदास ।
के होला र आवाद खोई मनको दुनियाँ तिमी हाम्रो ?
चाहना छ घायल कसैको, कसैको जवानी उदास उदास !
(ज्ञानुवाकार पौडेल, काठमाडौँ )

४.परिस्थितिले नि सिकाउंँदो रै’छ ः
दुःख पर्दा घरी–घरी रुनुहुन्न भन्ने थाहा छ,
दुखाउन चोखो मुटु छुनुहुन्न भन्ने थाहा छ ।
दुःख, सुख, हाँसो, खुशी भोगिसके जिन्दगीमा,
जाने पनि नजाने झैँ हुनुहुन्न भन्ने थाहा छ ।
(राम अप्रिय, साउदी )
५.उस्तै होला ः
तिमी बस्ने म बस्ने सहर उस्तै होला,
मन मिल्दै गएपछि रहर उस्तै होला ।
बाँच्या छु कसरी तिम्लाई बढी थाहा होला,
त्यतातिर तिम्रो पनि खबर उस्तै होला ।
(पुष्कर बराल, अमेरिका)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: