विर्तामोड । लोकतन्त्र पोस्ट दैनिकको कार्यकारी सम्पादकमा झुलन रेग्मी र समाचार सम्पादकमा अशोक अधिकारी नियुक्त भएका छन् ।
पत्रिकाको भद्रपुर समाचारदाता पदमा रेवतीराज घिमिरे नियुक्त भएका छन् ।
कार्यकारी सम्पादक रेग्मी यस अघि लोकतन्त्र पोस्ट दैनिकका समाचार संयोजकको जिम्मेवारीमा थिए । उनले विवेचना, प्रतिदिन, कञ्चनजङ्घा र तहल्का दैनिकमा समाचारदातादेखि कार्यकारी सम्पादकसम्मको जिम्मेवारी सम्हालिसकेका छन् ।
समाचार सम्पादक अधिकारीले यस अघि जनसंसद् दैनिक, नेपाल वान टेलिभिजन, आर्थिक अभियान दैनिक, अर्थबिट मासिक र रेडियो सीमानामा समाचार सम्पादकको जिम्मेवारी सम्हालिसकेका छन् ।
समाचारदाता घिमिरे यस अघि अर्जुनधारा दैनिकका भद्रपुर समाचारदाता थिए ।
नवनियुक्त कार्यकारी सम्पादक, समाचार सम्पादक र समाचारदाताले सोमवार विर्तामोडमा आयोजित संक्षिप्त कार्यक्रममा जिम्मेवारी ग्रहण गर्दै लोकतन्त्रलाई अझ पठनीय, स्तरीय र लोकप्रिय तुल्याउन आफ्नो सम्पूर्ण क्षमता लगाउने प्रतिबद्धता व्यक्त गरे ।
पत्रिकाका प्रधान सम्पादक मोहन काजीले सो अवसरमा सहकर्मी तिनै जनालाई अविर र खादा लगाइदिदै पत्रकारिताको व्यावसायिक निष्ठामा अविचलित रहन शुभकामना दिए ।
दलीय आग्रह र पूर्वाग्रहबाट टाढा रहेर निष्पक्ष र स्वतन्त्र रुपमा तथ्य र सत्य सूचना प्रवाह गर्ने प्रकाशनको नीति रहेको बताउँदै प्रधान सम्पादक काजीले हालै प्रकाशित दसैँ तिहार विशेषाङ्क पाठकमाझ लोकप्रिय भएकोमा सहकर्मीहरूलाई बधाइ दिएका थिए ।
सो अवसरमा लोकतन्त्र पोस्ट अनलाइनकी सम्पादक अम्बिका भण्डारी, सहसम्पादक देबु बानियाँ लगायत लोकतन्त्रकर्मी तथा सल्लाहकारहरूको उपस्थिति थियो ।