विर्तामोड । किरात याक्थुङ चुम्लुङ विर्तामोड नगर समितिले लिम्बु भाषा र संस्कृतिको उत्थानमा योगदान पुर्याएको भन्दै रेडियो भिजनलाई सम्मान गरेको छ ।
उधौली पर्वको अवसरमा शनिवार आयोजना गरिएको विशेष समारोहमा रेडियो भिजनका प्रबन्ध निर्देशक गणेश पोखरेललाई सम्मान र सोही रेडियोका समाचारवाचक दुई जनालाई पुरस्कृत गरिएको हो ।
पुरस्कृत हुनेमा रेडियो भिजनका समाचार वाचकद्वय भविहाङ नेम्वाङ र मनु मेयाङ्वो रहेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि एवम् चुम्लुङका केन्द्रीय नेता कृष्णकुमार थेबेले सो अवसरमा पुरस्कार र सम्मान प्रदान गरेका थिए ।
विर्तामोडमा रहेको रेडियो भिजनले गत असोजदेखि लिम्बु भाषामा समाचार नियमित प्रशारण गर्दै आएको छ ।
प्रबन्ध निर्देशक पोखरेलका अनुसार रेडियो भिजनबाट हरेक विहान ९ बजे लिम्बु भाषामा समाचार र हरेक आइतवार साँझ ७ः१५ मा लिम्बु भाषा र संस्कृति बारेमा जानकारी दिने कार्यक्रम ‘माङ्गेना’ प्रशारण हुँदै आएको छ ।
दुबै कार्यक्रम भविहाङ नेम्वाङ र मनु मेयाङ्वोले सञ्चालन गर्दै आएका छन् ।
लिम्बु समुदायले आफ्नै भाषामा देश विदेशको खबर सुन्न सकुन् भनेर रेडियोले लिम्बु भाषामा समाचार भन्न सुरु गरेको पोखरेलले बताए ।
कार्यक्रममा लिम्बु भाषा र संस्कृतिको उत्थानमा सहयोग पुर्याउने थुप्रै व्यक्ति तथा संस्थालाई सम्मानित गरिएको थियो ।
(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित).