‘रेफर सेन्टर’ भन्दा माथि उठ्न सकेन

  प्रकाशित मिति
२२ फाल्गुन २०७६, बिहीबार १२:४३


झुलन रेग्मी

मेचीनगर । मेचीनगर तथा आसपासका क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवा दिन धुलाबारीमा सञ्चालित आम्दा मेची अस्पताल उपचारको भरपर्दो थलो बन्दै गएको छ । आवश्यक उपचार सामाग्री अभावमा पनि अस्पतालले नियमित सेवा भने दिइरहेको छ ।

यद्यपि, अस्पतालको मापदण्ड अनुसार बिरामीले सेवा भने अझै चित्तबुझ्दो पाउन सकेका छैनन् । अहिले पनि ‘रेफर सेन्टर’ भन्दा माथि उठ्न नसक्दा सो अस्पतालको सेवाप्रति बिरामीहरुले विश्वास गर्न सकिरहेका छैनन् ।

भौतिक पूर्वाधारमा धनी रहेपनि अस्पताल सञ्चालन भने चुस्त बनाउन नसक्दा थुप्रै अभाव झेल्दै आएको छ । दुईतले पक्की भवनमा अस्पताल सञ्चालनमा छ । तर, माथिल्लो तलामा प्रशासन कक्षबाहेक अन्य कोठाहरु पूरै खाली नै छ । २ विगाहा ५ धुर क्षेत्रफल रहेको सो अस्पताल १५ शैयामा सञ्चालित छ ।

चाहिने स्वास्थ्य सामाग्रीहरु पर्याप्त नहुँदा अस्पतालले बिरामीलाई प्राथमिक उपचार मात्र दिन सकेको अस्पतालका प्रशासन सहायक प्रमुख उज्वल तारा थापा बताउँछन् । उनका अनुसार विगतका दिनभन्दा अहिले अस्पतालको सेवा भरपर्दो चाहिँ बन्दै गएको छ । ‘पहिलेको भन्दा अहिले धेरै बिरामीहरु सेवा लिन अस्पताल आउने गरेका छन्’, उनले भने, ‘तर अस्पतालको यो सेवा पूर्ण भने होइन ।’

प्रशासन सहायक प्रमुख थापाका अनुसार अस्पतालमा विशेषज्ञ चिकित्सकहरुको आगमनसँगै सेवा भरपर्दो बनेको हो । अस्पतालमा तीनजना चिकित्सकले नियमित रुपमा बिरामीलाई उपचार सेवा दिइरहेका छन् । डा. पोषणरमण त्रिपाठीसहित अन्य दुईजना चिकित्सकले नियमित रुपमा बिरामी जाँच गर्ने गरेको उनको भनाई छ ।

बिरामीले उपचार पाएकाले दैनिक बिरामीको सङ्ख्या भने बढिरहेको अस्पताल प्रशासनले जनाएको छ । अहिले इमर्जेन्सी र ओपिडीमा सेवा लिने बिरामीहरु दैनिक १६ जनाभन्दा बढी हुने गरेका छन् ।

विगतमा दैनिक एक÷दुई जना मात्रै बिरामी आम्दा अस्पताल पुग्ने गरेका थिए । अस्पतालमा दम, प्रेसर, सुगर लगायतका बिरामीहरु बढी स्वास्थ्य जाँच गर्न आउने गरेको थापाले बताए ।

२०६५ साल मङ्सिर २० गतेदेखि सो अस्पताल सञ्चालनमा आएको थियो । त्यसबेला अस्पताल खोल्ने चर्चा सुरु भएसँगै स्थानीयले जग्गासमेत दिएका थिए । स्थानीय ठाउँमा भरपर्दो उपचार सेवा पाउने आशामा मेचीनगरबासी खुशी भएका थिए । तर, व्यवस्थापकीय कमजोरीका कारण अस्पताल सेवा सोचेजस्तो हुन सकेन ।

विविध कारणले गर्दा अस्पताल कहिले बन्द त कहिले सुचारु हुँदै आएको थियो । तर, एक वर्षयता अस्पतालले विस्तारै गति लिएको छ । मेचीनगर नगरपालिकाको स्वामित्वमा रहेको सो अस्पताल सञ्चालनका लागि स्वयम् नगरपालिका, मेची उद्योग वाणिज्य सङ्घलगायतका अन्य संस्थाहरुले सहयोग गर्दै आएका छन् ।

मेचीनगर नगरपालिकाले २ लाख ५० हजार बराबरको ल्यावका लागि चाहिने सामाग्री खरिद गर्न सहयोग गरेको छ । उक्त बजेटबाट रगत परीक्षण गर्ने कुलीनका लागि एसी मेसिन खरिद गरिएको अस्पताल प्रशासनले जनाएको छ । त्यस्तै, प्रशासन सञ्चालनका लागि प्रिन्टर, इन्भटरलगायतका सामाग्री जडान गरिएको अस्पतालका सहायक प्रशासन प्रमुख थापा बताउँछन् ।

मेची आम्दा अस्पतालको अवस्था

फार्मेसी बाहिरकालाई

अस्पतालले सुरुमा फार्मेसी आफैँ सञ्चालन गर्दै आएको थियो । त्यसबेला आम्दाले बिरामीलाई औषधि किन्न सजिलो होस् भनेर फार्मेसी खोलेको थियो । तर, विविध कारण देखाउँदै उक्त फार्मेसी अहिले बाहिरका व्यक्तिबाट सञ्चालित छ ।

कोटेसन आह्वान गरेर सञ्चालन गर्न दिइएको अस्पताल प्रशासनले जनाएको छ । यद्यपि, बिरामीले फार्मेसीबाट सहजरुपमा औषधि लिन भने पाइरहेका छन् ।

स्वास्थ्यकर्मी उत्पादनमा गर्दै

अस्पताल प्रशासनले उपचार सेवासँगै दक्ष स्वास्थ्यकर्मी उत्पादनमा पनि जोड दिएको छ । ल्याव एसीस्टेन्ट कक्षा सञ्चालन गरेर युवाहरुलाई स्वास्थ्य क्षेत्रमा आकर्षित गर्ने योजना सञ्चालन गरिरहेको छ । उक्त कोर्ष १८ महिने हुन्छ ।

गत भदौदेखि सुरु भएको यो वर्षको परीक्षा साउन र भदौतिर हुन्छ । ६ महिनापछि विद्यार्थीहरु ओजिटीमा जाने थापा बताउँछन् । अहिले चलिरहेको कक्षा पाँचौं ब्याज हो । तर, अस्पतालले ४० जनाको कोटाका लागि विद्यार्थी आह्वान गरे पनि १२ जनाले मात्रै फर्म भरेर कक्षा लिइरहेका छन् ।

जेष्ठ र अशक्तलाई छुट

अस्पतालले जेष्ठ नागरिकको उपचारमा विशेष छुट दिँदै आएको छ । जेष्ठ नागरिकको हकमा बेड चार्ज निशुल्क र ल्यावमा २५ प्रतिशत छुटको व्यवस्था गरिदिएको छ । अशक्त नागरिकलाई पनि त्यहीखालको सुविधा दिने गरेको छ । यस अलवा अस्पतालले हरेक महिनाको १५ र १६ गते निशुल्क परामर्श सेवा दिने गरेको छ ।

मधुमेहका बिरामीलाई लक्षित गरी निशुल्क रगत जाँच गरेर रिपोर्ट दिने गरेको जनाइएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पताल बाहिर चिकित्सकको टोली पठाएर पनि स्वास्थ्य शिविरमा सहयोग पुरयाउँदै आएको प्रशासन सहायक प्रमुख थापाले बताए ।

कवाडी बन्यो एम्बुलेन्स

दमक आम्दाले दिएको एम्बुलेन्स बिग्रिएपछि पाँच वर्षदेखि चल्न छाडेको छ । रिपेयरिङ गरे पनि चलाउन नमिने भएकाले एम्बुलेन्स अहिले कवाडीमा परिणत भएको छ । सुरुवाती समयमा उक्त एम्बुलेन्सले बिरामीलाई सेवा दिँदै आएको थियो । अस्पतालको उक्त एम्बुलेन्स कवाडीमा बेच्ने तयारी भइरहेको छ ।

कामै नलाग्ने भएकाले एम्बुलेन्स डिस्पोजल प्रोसेसमा रहेको प्रशासन सहायक प्रमुख थापाले बताए । ‘अब एम्बुलेन्स खर्च गरेर बनाए पनि चलाउन नमिने अवस्थामा पुगेको छ,’ उनले भने, ‘टेन्डर आह्वान गरेर विक्री गर्ने तयारीमा छौं ।’

‘व्यवस्थित गर्दैछौं’

मेचीनगर नगरपालिका प्रमुख विमल आचार्यले अस्पताललाई व्यवस्थित रुपमा सञ्चालन गर्ने प्रक्रिया अघि बढेको बताएका छन् ।

लोकतन्त्र पोस्ट दैनिकसँगको कुराकानीमा उनले अस्पतालको स्वामित्वका विषयमा आम्दा नेपालसँग छलफल भइरहेको जानकारी दिए ।

‘यो अस्पताल नगरबासीकै साझा सम्पत्ति हो । यसलाई व्यवस्थित गरेर चलाउने विषयमा नगरपालिका गम्भीर छ,’ उनले भने, ‘आउँदो चैत या बैशाख भित्रमा मेची आम्दाको स्वामित्वका विषयमा हामी टुङ्गोमा पुग्नेछौं ।’

उनले मेची आम्दामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने विषयमा पनि छलफल भइरहेको र छिट्टै उक्त कार्यक्रम लागू गरिने उनले बताए ।

स्वामित्वको विषयलाई टुङ्ग्याएर अस्पताललाई ट्रमा सेन्टरको रुपमा विकास गरिने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: