रेशु र देशुको हुँदैछ मिलन

  प्रकाशित मिति
३ फाल्गुन २०७२, सोमबार ०४:१८


resu

विर्तामोड । एउटी महिला आमा बनेको बेला खुसीको क्षण हुन्छ । मेचीनगर–४ की मीना तामाङले माघ २ गते दमकस्थित आम्दा अस्पतालमा छोरालाई जन्म दिइन् । सन्तान जन्मदै गर्दा उनको खुसीको आकार जति ठूलो थियो त्यो भन्दा कम थिएन पति रेशबहादुर दुर्घटनामा घाइते भएको खबरको पीडा ।

एउटा अस्पतालमा उनले शिशु (देशबहादुर)लाई जन्म दिएकी थिइन् भने अर्काे अस्पतालमा मोटरसाइकल दुर्घटनामा परेका शिशुको बाबु (रेशबहादुर) मृत्युसँग सङ्घर्ष गर्दै थिए । एक महिनासम्म विर्तामोडको वीएन्डसी अस्पतालको आइसीयुमा मृत्युसँग सङ्घर्ष गरेका मेचीनगरका रेशबहादुर तामाङ विस्तारै सामान्य अवस्थामा आउन थालेका छन् ।

रेशबहादुरको पहिलो सन्तानको नाम लामाहरूले जुराए तेन्जिङ ग्याल्छो । सोही दिन काङ्ग्रेसका युवा नेता विश्वप्रकाश शर्मा अस्पतालै पुगेर अर्को नाम राखिदिए देशबहादुर । उपचारपछि स्वास्थ्यमा सुधार हुँदै गरेका बाबु रेशबहादुर र उनका छोरा देशबहादुरको अब चाँडै मिलन हुँदैछ ।

माघ १ गते सडक दुर्घटनामा परेका रेशबहादुर २० दिनसम्म आइसीयुमा रहेका थिए । केही दिन यता उनलाई नर्मल वार्डमा राखेर उपचार गरिँदैछ । उपचारमा संलग्न डाक्टरद्वय चन्द्रप्रकाश लिम्बू र रोविन भट्टराईले रेशुलाई नयाँ जीवन दिएका हुन् ।

‘सुरुमा बोल्न नसकेपछि उनका अगाडि डाक्टरले कपी र कलम राखिदिएका थिए’, रेशुका दाजु भूपेन्द्र तामाङ भन्छन्–‘रेशुले ३ पटक मीना र एक एक पटक बाहुनडाँगी, ठुल्दाइ र विशु दाइ लेखे ।’ सुरुका दिनदेखि भाइको उपचारमा रहेका भूपेन्द्र उपचारपछि रेशुको पुनर्जन्म नै भएको बताउँछन् । उनले उपचारमा संलग्न डाक्टरलाई भगवान मानेको बताए । उनले अहिलेसम्म उपचारमा ८ लाख भन्दा बढी खर्च भएको र १५ लाख भन्दा माथि खर्च हुने अनुमान गरेका छन् ।

आर्थिक अवस्था कमजोर भएकाले यति धेरै पैसा आफुहरूसँग नभएकाले सहयोग गरिदिन सबैलाई उनले आग्रह गरेका छन् ।

शुव्रmवार राति लोकतन्त्रकर्मी अस्पतालको ३४ नम्बर बेडमा पुग्दा उनी हँसिलो मुद्रामा थिए । उनीसँग बोल्ने त्यति धेरै शब्द नभए पनि उनले मृत्युलाई समेत जितेको प्रष्ट देखिन्थ्यो । रेशुको जीवनले परिवारलाई मात्र होइन सबैलाई खुसी दिन सफल भएको छ ।

थोप्लेविरान सामुदायिक वनको बाटोमा हरिणसँग मोटरसाइकल ठोक्किएर दुर्घटनामा परेका रेशु अहिले नर्मल वार्डको ३४ नम्बर बेडमा छन् । उनी होशमा आएको खबर पाएपछि उनलाई हेर्न जानेको घुइँचो लागेको छ । तर, डाक्टरले धेरै मान्छेको भीड नगर्न सुझाव दिएको दाजु भूपेन्द्र बताउँछन् । टाउकोमा रहेको चोटमा इन्फेक्सन हुने जोखिम भएकाले धेरै नजिक गएर उनलाई नछोइदिन डाकटरले आग्रह गरेका छन् ।

उनी होसमा आए पनि सबै कुरा सम्झेर भन्न सक्ने अवस्थामा उनी छैनन् । उनको शिरको खबटा (स्कल) जोडिइसकेको छैन । उनी अहिले पनि गम्भिर उपचारकै व्रmममा छन् । ‘उनले पुनर्जन्म पाएका छन्’, अस्पताल स्रोत भन्छ– ‘हामी सकेसम्म चाँडो होसमा ल्याउने प्रयास गरिरहेका छौँ । तर, गहिरो चोट भएका कारण केही समय भने लाग्ने छ ।’

उनको उपचारका लागि पैसा उठ्ने व्रmम जारी रहेको छ । दुर्घटना भएको भोलिपल्टै नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ ले ‘रेशबहादुर बचाउँ अभियान’ सुरु गरेको थियो । अभियानमा अहिलेसम्म ५ लाख ५९ हजार ६ सय ५५ रुपैयाँ सङ्कलन भएर धुलाबारीस्थित नेपाल बैङ्क लिमिटेडमा जम्मा गरेको अभियानका संयोजक मणिकुमार उप्रेतीले बताए ।

विभिन्न व्यक्ति, समुदाय, विद्यार्थी, पार्टीको नगर तथा वार्डबाट सङ्कलन भएको रकम बैङ्कको ८२६०९ खाता नम्बरमा जम्मा गरेको उप्रेतीले बताए ।

‘अझै पनि रकम अभाव भइरहेको छ’, संयोजक उप्रेतीले भने–‘उनको उपचारका लागि १५ लाख भन्दा धेरै लाग्ने भएको छ, अहिले उठेको आधा मात्र हो ।’

रेशुको उपचारका लागि कञ्चनजङ्गा एफएमले पनि अभियान सञ्चालन गरेर सहयोग गर्दै आएको छ । अहिलेसम्म एफएममार्फत ५१ हजार रुपैयाँ बराबर रकम जम्मा भएर परिवारलाई बुझाउने काम भइसकेको छ । ‘सबैले सक्दो सहयोग गरौँ’, कञ्चनजङ्गा एफएमका प्रबन्ध निर्देशक चन्द्र भण्डारीले भन्छन्–‘जात, धर्म, पार्टी, लिङ्ग नहेरी सबैले सद्भाव राखी सक्दो सहयोग गर्ने बेला हो ।’

रेशबहादुर विस्तारै निको हुँदै गएका छन् । होश फर्किएको छ । शरीर चलेको छ, आँखा खुलेको छ अनि बोली फर्किएको छ । सचेत स्मरण शक्ति पुरै फर्किन बाँकी रहेकाले उनलाई देशुको बारेमा कति थाहा छ अनुमान गर्न सकिन्न । तर अब छिटै उनीसँग देशबहादुरको भेट हुनेछ । त्यो क्षण तामाङ परिवारका लागि मात्र होइन, उनका सम्पूर्ण शुभचिन्तकका लागि अपूर्व हर्षको क्षण बन्ने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: