भद्रपुर १५ जेठ । नेपाल सरकार स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चन्द्रगढी झापाले कोभिड १९ का क्वारेन्टाइन र आईसोलेसनमा बसेका व्यक्तिलाई रोग प्रतिरोधात्मक क्षमता अभिबृद्धि गर्ने आयुर्वेदिक औषधि वितरण गरेको छ ।
केन्द्रद्वारा आयोजित आ.व. २०७६÷७७ को स्वास्थ्य जीवन कार्यक्रम अन्र्तगत भद्रपुर–१० स्थित कलबलगुडीको क्वारेन्टाइनमा रहेका ४५ जनालाई सो औषधि वितरण गरिएको हो ।
कार्यक्रमका बारेमा जानकारी गराउँदै केन्द्रका प्रमुख अनिलकुमार यादवले सरकारको निति अनुरुप पीपला, मरिच, दालचीनी , सुठो लगायतका विभिन्न सामाग्रीहरु मिसाएको चियासहित आमलकी चुर्ण, अश्वगन्ध र यष्ठिमधु चुर्ण ३ प्रकारका रोग प्रतिरोधात्मक औषधि वितरण गरिएको बताए । उनले कोभिड १९ बाट बच्ने उपायका बारेमा समेत जानकारी गराउँदै केन्द्रले जिल्लाभित्र रहेका चार सय माथिका कोरेन्टाइन तथा आईसोलेसनमा बसेका मानिसहरुलाई सो औषधि वितरण गर्ने योजना रहेको बताए ।
कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय झापाका प्रमुख ईश्वरी पौडेलले झापाका १५ वटै स्थानीय तहमा रहेका क्वारेन्टाइनमा बसेका व्यक्तिको परीक्षणका लागि चाहिने विभन्न किट लगायतका सामग्रीहरुको अभाव रहेको बताए । अभावका बावजुद्ध पनि कार्यालयका कर्मचारीहरु अहोरात्र खटिरेको उनले जानकारी दिए ।
भद्रपुर नगरप्रमुख जीवनकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न औषधि वितरण कार्यक्रमको सञ्चालन केन्द्रका बैद्ध मनोज पण्डितले गरेका थिए । कलबलगुढी क्वारेन्टाइनमा झापासहित पर्सा, म्याग्दी काठमाण्डौ लगायतका विभिन्न स्थानहरुबाट आएका ७ जना महिलासहित ४५ जना रहेका छन् ।