लकडाउनमा उपचार पाउँदा क्यान्सरका विरामीहरु खुशी

  प्रकाशित मिति
३० चैत्र २०७६, आईतवार १६:०७


विर्तामोड, ३० चैत । मोरङको उर्लाबारीकी ५३ वर्षीया बिन्दु बराल झापाको पूर्वाञ्चल क्यान्सर अस्पतालमा डिम्बासयको क्यान्सरको उपचार पाउँदा खुशी भएकी छन् । यसअघि भारतको राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एन्ड रिसर्च सेन्टरमा उपचार गराउँदै आएकी उनी लकडाउनका कारण भारत जान सम्भव थिएन । नेपालका अस्पतालमा डाक्टर नभेटिएलान् कि भन्ने उनको चिन्ता थियो । तर आइतवार उनले पूर्वाञ्चल क्यान्सर अस्पतालमा ओपीडीमै डाक्टर भेटिन् र उपचार पाइन् ।

झापाकै कमल गाउँपालिका वडा नं. २ की ६४ वर्षीया प्रेमकुमारी खतिवडाको नाकमा मासु पलाएपछि क्यान्सरको पहिलो चरण भएको पत्ता लाग्यो । लकडाउनले नियमित उपचारमा कठिनाई होला कि भन्ने उनलाई पनि चिन्ता थियो । आइतवार विर्तामोडसम्म मोटरसाइकलमा बसेर सोही अस्पताल आउँदा पहिले झैं सबै डाक्टरहरु उपचारमा तल्लिन रहेको उनले देखिन् । आएको केहीबेरमा उनको रेडियसन दिने पालो मिल्यो ।

प्रदेश नं. १ र २ का क्यान्सर विरामीहरुका लागि पूर्वाञ्चल क्यान्सर अस्पताल अहिले सहज र भरपर्दो उपचारको केन्द्र बन्दै गएको छ । विदेशमा यस अघि उपचार गराइरहेकाहरु समेत कोरोना भाइरसको रोकथामका लागि सरकारले गरेको लकडाउनमा नजिकको यही अस्पताल धाउन थालेका छन् ।

अस्पतालका मेडिकल डाइरेक्टर एवम् अङ्कोलोजिस्ट डा. वीरेन्द्र यादवले बन्दाबन्दीमा एक दिन पनि अस्पताल बन्द नरहेको बताए । उनले ओपीडी, रेडियसन, केमोथेरापी, प्रयोगशाला र शल्यक्रिया चालू रहेको जानकारी दिए ।

‘लकडाउनको बेला दैनिक औसत ४० जना ओपीडीमा विरामी आउनुहुन्छ,’ चौबीसै घण्टा उपचार सेवा खुल्ला रहेको बताउँदै डा. यादव भन्छन्–‘हामीले दैनिक ३० जनालाई रेडियसन र १५ जनालाई केमोथेरापी सेवा दिइरहेका छौं ।’

चितवन, भक्तपुर र भारतको विभिन्न अस्पतालमा रेडियसन र केमो लिइरहेका विरामीहरु कोरोनाको कारण उत्पन्न असहज परिस्थितिमा पूर्वाञ्चल क्यान्सर अस्पतालमै आउने गरेको अस्पतालका सञ्चालक दुर्गा प्रसाईले बताए ।

अस्पतालमा चौबीसै घण्टा इमर्जेन्सी सेवा चालु रहेको र विहान ८ देखि बेलुका ६ बजेसम्म क्यान्सर रोगका विशेषज्ञ डाक्टरहरु अस्पतालमै रहने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।

झापाको कमल गाउँपालिकामा बस्ने आफ्नी आमा प्रेमकुमारी खतिवडाको नाकको क्यान्सर उपचारमा आएकी काठमाडौकी खिला खतिवडाले लकडाउनका बेला अन्यत्र धाउनु परेको भए मुस्किल हुने जनाउँदै विर्तामोडमै भर्खरै सञ्चालनमा आएको अस्पतालमा उपचार पाउनु धेरै दृष्टिकोणले सुविधाजनक भएको बताइन् । उनले बन्दाबन्दीका बेला १८ पटक रेडियसन र केमो दिन पाएको जानकारी दिइन् ।

लकडाउनका बेला क्यान्सरका विरामीहरुले उपचार नपाएर छटपटाउनु नपरोस् भनेर स्वास्थ्यकर्मीको जनशक्ति, औषधि र जाँचको प्रबन्ध पर्याप्त र भरपर्दो बनाइएको अस्पतालका जनसम्पर्क अधिकृत प्रमिस गिरीले बताए । उनका अनुसार भारत र मुलुकका विभिन्न अस्पतालमा उपचार गराइरहेका विरामीहरु लकडाउनका कारण सहज उपचार खोज्दै पूर्वाञ्चल क्यान्सर अस्पताल आउने गरेका छन् ।

जुनसुकै अस्पतालमा उपचार गराएर हाल घरमा रहेका क्यान्सरका विरामीहरुले मोवायल फोनमार्फत परामर्श लिन सक्ने व्यवस्था समेत मिलाइएको जनसम्पर्क अधिकृत गिरीले बताए ।

(रासस/अम्बिका भण्डारी)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: