लकडाउनमा कविता : ठुल्दाइ

  प्रकाशित मिति
२५ चैत्र २०७६, मंगलवार १४:४१


विर्तामोड । नेपाली आख्यानमा अलग र लोभलाग्दो पहिचान आर्जन गरेका साहित्यकार पुण्यप्रसाद खरेल यतिबेला अरु नागरिकसरह लकडाउनमा छन् ।

उपन्यासकार, कवि, निबन्धकार, समालोचक जे अलङ्कार दिदा पनि शोभायमान हुने प्रखर व्यक्तित्व खरेलले लकडाउनको सदुपयोग कविता कोरेर र पुस्तक पढेर गरिरहेको बताए ।

एउटा सिर्जनशील व्यक्ति कोरोना रोकथामको सरकारी आदेशलाई पालना गर्दै घरभित्रै थुनिएर बस्दा समेत किन मौन रहन सक्छ र ! उनले आफुलाई विश्वको शक्तिमान ठान्ने अमेरिका अहिले कसरी एउटा भाइरससँग भिड्दा लडखडाइरहेको छ भन्ने यथार्थलाई ‘ठुल्दाइ’ शीर्षकको कवितामा बडो सरल लयमा व्यक्त गरेका छन् ।

प्रस्तुत छ कविताको पूरा पाठ–

ठुल्दाइ

ठुल्दाइ ! हैरानै पार्यो नि !
घमण्ड त चूर्णै पार्यो नि !

यसो सम्झन्छु म
म त अलि सानो काँटीकै पनि हुँ
त्यसमाथि अलिक हेपिएरै बाँचिरहेको पनि हुँ
छरछिमेक, जोरीपारीसँग पनि कैल्यै फूर्ति नबघारेको ।

तपाईं त ठुल्दाइ ! साँच्चै आफूलाई विश्वको सम्राटै ठान्थ्यौ
सम्राटै थियौ पनि त !
ठुलो दारकै हौ, धाङरधाङरै हौ
छरछिमेक जोरीपारीलाई ‘उठ् !’ भनेर उठाएकै हौ
‘बस् !’ भनेर बसाएकै हौ
पौंठेजोरीमा नारिनु नै पर्दैनथ्यो तिमीले
परपरै हार्दथे नि जोरीपारीहरु !

साँच्चै लड्नुभिड्नु परिहाल्यो भने
तिमीसँग के थिएन ?
तिम्रा आणविक–परमाणविक बम के गुलेली मट्याङ्ग्रा हुन् र !
युद्धपोत र फाइटरहरु ती कुनै लठ्ठीमा उनेका फिर्फिरे हुन् र !
तिमी छिनमा ब्रह्माण्ड चाहार्न सक्छौ
छिनमा समुद्रको पिंध छानमार्न सक्छौ
रुसले तिमीलाई आँखा तर्यो कि ?
उत्तर कोरियाले आँखिभौं खुम्च्यायो कि ?
लिबियाले बाङ्गो आँखा लायो कि ?
तिम्रा ठाउँठाउँमा खुफिया कम्प्युटर छन्
छुसुक्क गरेको तिमी थाहा पाइहाल्थ्यौ
इँटाको जवाफ पत्थरले फर्काइहाल्थ्यौ ।

ठुल्दाइ !
तिमीले क्यूबालाई कसो गर्यौ ?
लिबियालाई कसो गर्यौ ?
इराक–इरान या प्यालेस्टीनलाई कसो गर्यौ ?
भियतनाम र कोरियाको कुरा छोडौं अहिले
भेनेजुयलाको पनि कुरा छोडौं अहिले
मानवाधिकार नामको तिम्रो मनोमानी ‘मन्त्र’
हँ ठुल्दाइ !
अरुअरुले जे–जे बुझे पनि
अचानोले खुकुरीको चोट त राम्ररी बुझेकै हुन्छ !

यसो सम्झन्छु म,
म त अलि सानो काँटीकै पनि हुँ
अलिक हेपिएरै बाँचिरहेको पनि हुँ
तपाईं त ठुल्दाइ !
विश्वको खटनपटन आफ्नै ठान्थ्यौ
विश्व एउटा घोडा हो भने
त्यसको लगाम आफ्नै हातमा छ मान्थ्यौ ।

कुनै भैंचालोसँग त तिमी टेरेनौ
कुनै आँधी, हुरी, सुनामीसँग त तिमी हारेनौ
कि कसो त ठुल्दाइ !
तिमीले हिसाब राखेकै हौला
तिमीले पठाएका बमले कति मान्छे मार्यो आजसम्म ?
जापानमा, कोरियामा, प्यालेस्टीनमा, भियतनाममा, इराक इरानमा … …
आजको विश्वको जनसङ्ख्यासँग तुलना गर्न सकिन्छ ?
तिमीले बेचेका राइफल, गोलीगठ्ठाले कति रगत बगाए होला ?
प्रशान्त महासागरको पानीसँग तुलना गर्न सकिन्छ ?
अहो ! यी प्रश्न गर्दैगर्दा
मेरा आङभरि काँडा उम्रिए !
म सम्झन्छु मान्छे मार्नका लागि तिमी कति बहादुर रहेछौ !
रगत छ्यालव्याल पार्न कति शक्तिशाली रहेछौ
मान्छे मार्न त तिमी ठुलै रहेछौ ठुल्दाइ !
तर
आज एउटा सानो भाइरसले हामीलाई अँत्याइरहँदा
झुक्किएर मेरा आँखा ठुल्दाइ ! तिमीतिर पनि परे
तिमी पनि आलसतालस पो रहेछौ
आज पो भेन्टिलेटर बनाउन फरमान जारी गर्दैरहेछौ
ती कुनै बमहरु
ती कुनै राइफलहरु
एसएमजी, एलएमजीहरु नकाम भएछन् नि !
ती कुनै फाइटरहरु
ती युद्धपोतहरु, बेडाहरु क्यैनक्यै भएछन् नि !

ठुल्दाइ !
तिम्रो ‘ठुल्दाइ’को बिल्ला पनि अब खुइलिएछ
एउटा सानो भाइरसले हैरानै पारे छ नि !
तिम्रो घमण्ड चूर्णै पारेछ नि !

आऊ अब अरुतिर पनि हेर,
अब ठुलोसानो वरावर नमस्ते गरागर गरौं
यो विश्व साझा हो, हामी सबैको हो !
आऊ नमस्ते गरागर गरौं
साबुनपानीले आ–आफ्नो मन धोएर अङ्कमाल गरौं !

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: