लकडाउनमा खुशीले चिरबिराउँदैछन् चराहरु

  प्रकाशित मिति
८ बैशाख २०७७, सोमबार ०९:४०


भद्रपुर, ८ वैशाख । कोरोना भाइरसको महामारीले धरतीको सबैभन्दा चतुर प्राणी मानिस घरभित्रै बन्दी भएको एक महिना पुग्नै लाग्दा जङ्गलमा रम्दै आएका चराचुरुङ्गी भने सहर र सडकतिर निष्फिक्री कावा खाँदै स्वतन्त्रतापूर्वक चिरबिराउन थालेका छन् ।मानौं चराहरुका लागि यतिबेला हस्तक्षेपरहित अकल्पनीय आनन्दको स्वर्गानुभूति भइरहेको छ ।

सडकमा यातायातका साधन गुडेका छैनन् । कलकारखानाले अहिले प्रदूषणकारी धुवाँ उडाएका छैनन् । हवाईजहाज र गाडीहरुको कर्कश आवाज पनि अहिले छैन । मानिसको हुल पनि छैन । प्रकृतिका अनुपम सङ्गीतकार मानिएका चराहरुको आह्लादकारी चिरबिर अहिलेको बन्दाबन्दीमा थुनिएको मान्छेको कानसम्म गुञ्जिरहेको छ ।

चराविद् देबेन्द्र खरेलका अनुसार स्वतन्त्रता रुचाउने पंक्षीहरु मान्छेको चहलपहल नभएको अहिलेको अवस्थामा ज्यादै रमाएका हुन् । सहरका मुख्य बजार क्षेत्रमा ढुकुरका जोडीहरु ढुकुरकुर गर्दै प्रणयधुन सुनाइरहेको र सडकका सानाठूला रुखहरुमा अनेकौं प्रकारका चराहरुले बच्चा कोरलिरहेको उनले बताए । उनले नेपालमा ८८६ प्रजातिका चरा भएको बताए ।

‘‘ध्वनी प्रदूषण घटेपछि चराहरुले शान्ति अनुभूति गर्छन् र तिनीहरु उडेर, नाचेर र चिरबिराएर रमाउन थाल्छन्,’’ चराहरुको खोज, अनुसन्धान र फोटोग्राफी गरिरहेका झापा मेचीनगरका खरेल भन्छन्, ‘‘चैत–वैशाख धेरै चराहरुले गुँड बनाउने र अण्डा कोरल्ने मौसम हो, लकडाउनले साह्रै राम्रो भएको छ ।’’ राजमार्ग र बजारभित्रका रुखहरुमा यतिबेला शान्तपूर्वक चराहरुले बच्चा कोरलिरहेको उनले जानकारी दिए ।

गर्मी चढेसँगै झापा, मोरङ, सुनसरी र सप्तरीका सिमसार क्षेत्रमा साइबेरिया, श्रीलङ्का र अफ्रिकाबाट समेत पाहुना चरा आइरहेका छन् । ती आगन्तुक चराचुरुङ्गीलाई बन्दाबन्दीले यसअघि कहिल्यै नपाएको स्वतन्त्रता र बच्चा कोरल्ने शान्त वातावरण दिएको नेपाल पंक्षी संरक्षण सङघका आजीवन सदस्यसमेत रहेका चराविद् खरेलको भनाई छ ।

लकडाउनको अवस्थामा नन्दीजन्य सामग्रीको उत्खनन् नभएको कारण पानीचरासमेत उन्मुक्त भएका छन् । हुटिट्याउ, सिम कुखुरा, बटाइ चराहरु खोलाका बगर र सिमखेततिर जताजतै देखा पर्न थालेका छन् । प्रजनन् मौसममा लज्जालु स्वभावका चराहरुलाई मान्छेबाट डरत्रास नहुँदा बच्चा कोरोल्न सजिलो भएको छ ।

जुरे कोइली, ठूलो जुरे कोइली, रङ्गीविरङ्गी काजले चरा, सानो मयुर, निलपुच्छ«ेलगायतका दर्जनौं नयाँ चराहरु यतिबेला झापाको घरगाउँ छेउछाउका साना बनमा भेटिने गरेको उनको भनाई छ । ती चराहरुले सडक आसपासमा रहेका रुखहरुमा बच्चा कोरलिरहेका छन् ।

“लकडाउनले सडक सुनसान छन्, मान्छेको चहलपल छैन”, उनी भन्छन्, “चराचुरुङ्गी साच्चै रमाएका छन् । लज्जालु स्वभावका चराले यो समयमा सहज रुपमा बच्चा कोरलिरहेका छन् ।”

उनले नदीनालामा उत्खनन् रोकिएसँगै पानी सफा भएको र माछा, किरा, लेउ र अन्य जीवको आहारामा निर्भर बकुल्ला, टिकटिकेलगायतका चराहरु खोलाखोल्सीमा बढी देखिन थालेको बताए । यी रैथाने चरासँगै विदेशबाट आएका रातो बकुल्ला, पहेलो बकुल्ला समेत देखिन थालेका छन् । लकडाउनका कारण जमिनबाट हुने प्रदुषण घटेको र वातावरण सफा बनेकाले पनि चराका लागि तराई भूमि अनुकूल बनेको उनको भनाई छ ।

लकडाउनमा जङ्गल पस्न निषेध गरिएको हुँदा झापाको बाँसबारी, पाँचपोखरी, थोप्लेविरान, हरियालीलगायतका दर्जनौं सामुदायिक वनमा मान्छेको चहलपहल शुन्य छ । लोपोन्मूख अवस्थामा पुगेका जङ्गलका रैथाने पंक्षीहरु मयुर, पानीहाँस र बन कुखुरा (कालिज)हरु प्रशस्त देखिन थालेको छ ।

“म जङ्गलमा चराका नयाँ प्रजाति खोज्दै र क्यामेरामा कैद गर्दै हिंड्छु, तर भूईमा चारो खोज्दै हिंड्ने यी चराहरु पहिला हत्तपत्त देखिदैनथ्यो”, उनी भन्छन्– “आजकल जङ्गल छेउछाउ चर्न आएको प्रशस्त देखिन्छन् ।”

उनले कतिपय प्रजातिका चराहरु अझै पनि मानवाश्रित रहेको बताए । उनका अनुसार भँगेरा, काग, रुप्पी, परेवालगायतका प्रजाति मानवमा आश्रित छन् । उनीहरु मान्छेले दिएका वा फ्याँकेको खानामा मै बाँचेका हुन्छन् । तर, लकडाउनमा तिनीहरुले खुला परिवेश अनुभूति गरे तापनि आहारका लागि सकस भोगिरहेको उनले बताए ।

भीडभाडमा नडराउने बानी परिसकेका यी चराहरु मान्छेको घर आँगनमा आएर वा सडकमा फालेका खानेकुरा खाएर पेट भर्ने गर्दथे । यस्ता आश्रित चरा बन्दाबन्दीमा भोकले व्याकुल हुने गरेका छन् ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले रैथाने चराका लागि कार्यालय परिसरमा चारोको व्यवस्था गरेका छन् । उनले दैनिकजसो विहान कार्यालय परिसरमै चारो हालेर मानवाश्रित चराहरुलाई सहारा दिदै आएका छन् ।

( अम्बिका भण्डारी/रासस)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: