लकडाउनमा पल्टिएका पाना

  प्रकाशित मिति
१ आश्विन २०७७, बिहीबार १३:०३


रिसब आचार्य

विश्वको अधिकांश देश प्रायः सबै मान्छेमा कोभीड-१९ कोरोनाले पारेको प्रभावबाट म अछुतो रहने कुरा नै भएन। कोरोनाका कारण सृजित परिस्थिति जसमा नयाँ लाग्ने शब्द लकडाउनले त झन हरेक तह र तप्काको मान्छे कसैलाई असर नगरेको छैन। निरन्तर स्नातक तहको इन्जीनियरिङ्ग बिषयको अध्ययन, असाइङ्मेन्ट, प्राक्टिकल, ट्यूटोरियल, टेस्ट, आन्तरिक परिक्षा जस्ता बिबिध कुरामा चलिरहेको जिवन चक्र एकाएक संसारका बिभिन्न गतिविधि झै ठप्प भयो। कहिले सम्म निश्चित नहुँदै गर्दा कलेज, पढाई, किताब लगायतका चीजबाट टाढा आफ्नै घर फर्किन बाध्य सँगै रोमान्चित बनाउने पक्का भयो। घर फर्कियो, कोरोना चर्कियो हिन्डुल, गफगाफ, चिया चौतारी र गाऊँघरको मैदानमा जमघट भने निकै कडा भएको प्रशासन र कोरोनाको भय दुवैले खासै छेकेन।

हरेक नेपाली नागरिकको गफको मेनुमा अटाउने राजनीति, खेलकुद, बिकास र बिनासका कुरा, देश बनाउने कुराबाट सुरु भएर गाऊँ बनाउनेमा टूङ्गिने छलफल, सामाजिक संस्था बिचलित भएका कुरा, टोले नेताका चतुर्याई देखी अन्तराष्ट्रीय शक्ति सन्तुलनमा ठुला देशहरुको भूमिका र नेपाललाई परेको प्रभावको विश्लेषण लगायतका थुप्रै बिधाका कुरा हाम्रो भेटघाटमा नचर्किदा आफु जान्ने बुझ्ने भएको प्रमाणित हुदैन कि भन्ने डर, जसका कारण समेत धेरै बिषयमा थोरै बुझे पनि धेरै नै बोल्न र लेख्न खोज्नु स्वाभाविक पनि देखिन्छ। सबैमा भएको प्रबृत्ति म आफुमा नहोस भन्नु वा मेरो वरिपरि छैन र पाइदैन भनी हिड्नु अतिशयोक्ति पनि हुनसक्छ।

फाइल फोटो ः एजेन्सी

बाँधेर नराखे पनि खुल्ला सहज रुपमा हिड्ने, घुम्ने वा नियमित गरिने काम ठप्प झै हुँदा मानिस आफुलाई समय दिन पुग्ने रहेछ। आफ्ना रुचि, चाहना, खुसी लगायत अनेकौ कुरा आफुमा केन्द्रित भएर सोच्न भने कोरोनाले प्रशस्त समय दियो। सधैजसो अन्य जिल्ला वा घर बाहिर बसेका युवा पङ्गति घर फर्किनुले एक्लो हुँदा आफ्नो र भविष्यको बारे सोच्न समय ब्यतीत गरे जस्तै समुहमा गरिने छलफल र गफगाफले गाऊँ-ठाउमा प्रभाव पर्ने काम गर्न सधै ऊर्जा, हौसला र नयाँ योजना तयार गर्छ, कति छलफलमा सिमित हुन्छन कति अधकल्चो छाडिन्छन भने थोरै केहि सफल समेत बनिदिन्छन। सामुहिकता र सामाजिकता सिद्धिदै जानु नै एक किसिमले गाऊँ-ठाउँले फडको वा छलाङ्ग मार्न नसक्नुको कारण समेत होला भन्ने बुझ्न थालेको छु।

सुरूवाती लकडाउनमा चोक-बजार डुल्दा सरकारी डण्डाको डर, घरभित्र बसौ अल्छी र सैतानले खाली भेट्ने दिमागमा अड्डा जमाउने डरले समेत ढोका थुनेर बस्न त दिएन सँगैमा घुमुवा टोली बनेर प्रशासनसँग भिड्ने कुरा नै भएन। त्यो समय हिडेर खेतबारी, सामुदायिक बन, खोला-पैनी, गाऊँ-घर डुलिरहदा भेटिनु भएका थुप्रै मान्छेहरु सम्झिरहेको छु। १२/१३ बर्षको उमेरमा भारतको बिहार प्रान्तबाट त्यसबेलाको ठुलो ब्यापारिक बजार धुलाबारी आएर आठ दशक यही बिताउनु भएका एक जना बुवासँग भैसी चराउदै गरेका गफ धुलाबारीको इतिहास, प्रधानपञ्चका बिबरण र त्यसबेलाको समाज, पहाडबाट झरेर देउनियाका जग्गा हड़पेका कुरा, राजा बिरेन्द्रको धुलाबारी भ्रमण, हङ्गकङ्ग बजार भनेर चिनिदै एउटा उत्कर्षमा पुगेको बजार आज सिद्धिदै गएका जस्ता थुप्रै धुलाबारीको इतिहास छिचोल्ने गफ फगत गफ मात्र नभएर ठुलो शिक्षा भएको छ। शनिश्चरे र बाहुण्डाँगी जस्ता हिजोका ठुला बजारमा त्यसबेलाको साप्ताहिक हाटबजार लगाउन पाल बिछाएर थापिने पसलहरु गोरुगाढाको ड्राइभर बनी ढुवानी गर्दा वहाँले देखेका थुप्रै कुराहरु आज इतिहास बनेका छन, जुन कुरा प्रत्यक्ष साक्षीबाट सुन्न पाउनु एउटा सौभाग्य लागेको छ। धुलाबारीको त्यसबेलाको रवाफ देखेका इतिहासका साक्षी अझै नेपाली नागरिक भने रहेनछन। नियम कानुनको घेरा नाघ्न हुन्न भन्नेमा म दृढ हुदाहुदै पनि बुवाले नेपाल सरकारले बितरण गर्ने बृद्ध भत्ता पाउने सम्म ब्यवस्था हुनपाए त्यसबेला नेपालमा बगेको रगत पसिनाले निसाफ पाउने थियो कि, खैर जे होस यो मेरो स्वैरकल्पना हुनसक्छ।

कालिका सिमसार पर्यटकीय क्षेत्र पश्चिम हडिया खोलाको डिलैडिल हिडिरहदा ढुङ्गा बालुवा झिक्न डोजरको प्रयोग गर्दा बनेका भौडी वा ठुला पोखरि जस्ता लोकल स्विमिङ्ग पुलमा हाँस्दै खेल्दै नाङ्गै नुवाउदै गरेका कलिला भाईहरु सँग पौडी खेल्न पुगियो। उमेरमा १६ नकटेका साना भाईहरु अधिकांश मेचे, राजबंशी र केहि अन्य समुदायको हुन्थिए। उनीहरुको बोलीमा देखिने रुखोपन, उश्रृंखलता, थेत्तरोपन नै उनीहरुसँग नजिक बनाउने कडी बन्दै गयो। जति छाडारुपमा अनुशासनहीन पूर्ण ब्यवहारमा उनीहरु प्रस्तुत हुन्थिए त्यतिनै मलाई नजिक हुन र उनीहरु बारे बुझ्न उत्सुकता जाग्ने गर्थ्यो। स्थानीय सरकारी स्कूलमा प्राथमिक तहमै पढिरहेका उनीहरुका अनुभव, रमाईला कुरा, फटाही र चतुर्याई पढाईमा स्नाकोत्तर सकेकाले समेत नदेखेको नसुनेको र कल्पना समेत नगरेका हुनसक्छन। म आफै सानोमा निक्कै फटाही गरेको महसुस गर्नेलाई तँ जाबोले के चाही गरिस र भन्ने भावमा आउने उनीहरुका फटाही र रमाइला किस्साहरुले मलाई हिस्सा बनाउथियो। झ्यालबाट स्कूलको ब्यागको फालेर सु गर्न टोइलेट जाने निहुँले पर्खाल नाघेर भागेका कुरा होस या आजसम्म कसको भन्ने थाहा नै नभएको बाख्रालाई ढुङ्गा हानेर निसान लगाउने सुरमा मारेको कथा सबै जिरिङ्ग बनाउने हसाउने र सोच्न बाध्य बनाउने खाल्का छन। उनीहरुले सुनाउने चुरोट खाएका कहानी देखी रक्सीले मातेका कुरा, हाँसी-हाँसी निसंकोच उनीहरुले गाऊँने छाडा भनिएका शब्दहरु मिश्रित गित र मज्जाले सुनाउने कथा, हसौली-ठ्टयौलीहरु असिमीत थिए। शैक्षिक रुपमा निकै कमजोर प्रस्तुत हुने उनिहरुलाई माछा मार्न, जंगलमा निउरो टिप्न, पौडी खेल्न, गफ गर्न, हसाँउन, जिस्किन जस्ता अन्य क्रियाकलापमा भने धेरै धेरै तेज पाए। आज बाल दिवसको दिन सानो कार्यक्रममा सहभागी भएर बेलूकी फेसबुकमा केहि लेखेर पोस्ट गरीरहदा म हिजो अस्ति हप्ता दिन जति संगत गरेको आदिवासी जनजाति समुदायका ति भाईहरुलाई सम्झिरहेको छु। हरेक दिन शारारिक श्रम गरी बेलूकी दुई चुस्की हान्ने बुवाहरुले दिनभरी ती भाईहरु कहाँ जान्छन के गर्छन कुन बाटो लिदै छन भन्ने सोच्नु हुन्छ होला त? बिचारा यो सब सोचेर त्यसमा लागेर बेलूकी भोकै सुत्ने कुरा पनि त भएन। गाँसको ढुक्क भए न आनन्दको सास र बास अनि छोराहरुमाथि आसको कुरा आउने थियो।

धेरै मान्छे भेटिए, गफिए र थोरै मात्र यादमा रहे। जति रहे निकै गढिएर रहेका छन, सायदै उनीहरुबाट धेरै केही सिकेको छु वा मलाई केहि दिएका छन। आफुलाई केहि नदिने मान्छे वा हामीले केहि लिन नसक्ने मान्छेहरु खासै केहि कामको हुन भन्ने हामीलाई लाग्दै लाग्दैन। सायदै धेरै कुरा लिएको भएर त्यस्ता मान्छे सधै आँखा अघि भए झै यादमा रहन्छन। कामबाट फर्किदा इण्डियन लरी ट्रकले हानेर खुट्टा झण्डै चुटीएको निकै लामो कसरत, चन्दा संकलन र बिरामी आफैको अथक आत्मविश्वास र मिहेनतले पुरानो जस्तो नभई केहि बाङ्गो वा आकार बिग्रिएर खुट्टा भने जोडियो। धेरै नै सिधा अबिबाहित जेठो छोरा वा गाँउले भाषामा लठेब्रो भनि बुझीनेको आमा सधै दुर्घटनाको शिकार देखिएर बसिरहदा जिन्दगी गारो हुने निश्चित थियो। उमेरमा रिक्सा तानेर थालिएका श्रीमानको हेरचाह र बैदेशिक रोजगारीको शिलशिलामा रहेको कान्छो छोरोलाई छोडेर भागेकी बुहारिले छोडीदिएको तीनि आमाको नतिनीको समेत खानपान गराउने, लुगाफाटो ठिक गराउने, बिद्यालय पठाउने कामहरु उनकै थाप्लोमा आउने निश्चित भयो। यस्ता हरेक काम गर्न ढलानमा फलामको छडी जोडे झै खप्टीएर बाङ्गो जोड़ाई परेको खुट्टाको भर पर्नुपर्यो। दुर्घटना हुँदाको उपचार खर्च, बुढाको औषधि खर्चको जोहो मात्र नभएर फोगटमा समय खेर के फाल्नु घर बनाउने मिस्त्रीहरुसँग सिमेन्ट र बालुवाको मसला मुस्दिने ज्यालादारी काम पनि गर्छु भनेर मुसुक्क हाँस्दै सुनाएको कुराले त्यसबेला आँखा भरीएका थियो। शारारिक रुपमा कमजोर भएता पनि अपाङ्गता स्वीकार नगर्ने हाम्रो सरकारी संयन्त्रबाट सायदै कुनै राहत, सहयोग वा सहूलियतको आशा गर्नु भएको छैन होला, त्यसैले तीनि आमाले बाचुन्जेल सकुन्जेल श्रम गरेर धेरैको पेट पाल्ने अठोट लिएको बुझिन्छ।

यस्ता प्रसंगहरु भन्दा भिन्न प्रकृतिका थुप्रै अनुभवहरु यस लकडाउनमा बनेका छन, कति अपुरा छन कति पुरा होलान कति स्मृतिमा रहन पनि सकेनन्। हाम्रो समाज वरिपरि हजारौ कहिलै नसुनिएका कसैले वास्ता नगरेका कैयौ कथा, ब्यथा र कहानीहरु छन। त्यस्ता कहानीहरु हुन्छन जसले सानो आशमा सास अड्याउन सफल भएका छन। थोरै खुसीमा धेरै जीवन बाँचेका छन। रूवाउने कथाहरु बिझाउने चोटहरु हाँस्दै सुनाउने तागत र साहस असीमित पाइन्छन। सम्भावना र आवश्यकता अनेकौ छन, काँचो छ, चोखो छ, मिठो छ तर ब्यवस्थित बनाउन श्रोत धेरै छ। भएको केहि नै छैन, गर्न धेरै बाँकी छ। आज हाम्रो गाऊँ-ठाउँ धनी भएर पनि बिजोक अवस्थामा छ। नेपालका धेरै गाऊँहरुले जन्माएर, हुर्काएर, पढाएर, बढाएर, सिकाएर, बुझाएर बिधवान बनाएर त्यो कंक्रीटको खाडल भर्न, बिदेश र सहरहरु बनाउन यान्त्रिक मानवहरु निर्यात गरीरहेको छ। हामी सबै आफ्नो गाऊँ-ठाउँ प्रति जिम्मेवार बन्नुपर्छ, नेपाल धेरै गाऊँहरुले बनेको ठाउँ हो। त्यसैले पनि हामी सबैलाई याद रहोस जब सम्म गाऊँहरु सुबिधा सम्पन्न हुदैनन् वा हामी सहर बनाउन गाऊँ मासिरहेको हुन्छौ तबसम्म हामीले आधुनिक बन्न चेतनशील देखिन सिकेका, बुझेका, बोलेका, पढेका, देखेका सम्पुर्ण कुराहरु अर्थहीन ठहरिन्छन। अन्तः आफ्नो गाऊँप्रति आफ्नो ठाउँप्रति जिम्मेवार नहुने जो सुकै हामिले ब्यक्तिगत रुपमा जतिसुकै उन्नति, प्रगति र प्रतिष्ठा आर्जन गरेपनि हामी विवेकहिन मान्छे ठहरिन्छौ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: