झापा, २५ चैत । वन क्षेत्रमा चोरी तस्करी र आगलागी बढेसँगै झापामा वन क्षेत्रमा प्रवेश गर्न निषेध गरिएको छ ।
कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन सरकारले गरेको बन्दाबन्दीको मौका छोपेर वन क्षेत्रभित्र प्रवेश गरेर आगो लगाउने, वन्यजन्तुको शिकार गर्ने र वन पैदावर काट्नेजस्ता कानून विपरीतका कार्यहरु गरिरहेको सूचना प्राप्त भएको भन्दै डिभिजन वन कार्यालय झापाले प्रवेशमा रोक लगाएको हो ।
डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले बन्दाबन्दी अवधिभर जिल्लाका सामुदायिक, कबुलियत वनमा अत्यावश्यक संरक्षण बाहेकका अन्य सबै कार्य वन ऐन २०७६ को दफा ९ बमोजिम बन्देज लगाइएको बताए ।
उनले सामुदायिक वन उपभोक्ता समूहलाई आ–आफ्ना वन क्षेत्रको सुरक्षाका लागि विशेष सुरक्षा योजना बनाई तत्कालै लागू गर्न गराउन पत्राचार गरिसकेको बताए । प्रमुख घिमिरेले अनुमति बेगर वन क्षेत्रमा प्रवेश गरेमा वन ऐन २०७६ अनुसार कारवाही गरिने बताए ।
(रासस)