लकडाउनले बारीमै कुहिए टमाटर

  प्रकाशित मिति
१ बैशाख २०७७, सोमबार १८:१४


।। अर्जुन कार्की ।।

मेचीनगर । दुहागढीका कृषकले उत्पादन गरेको टमाटर लकडाउनका कारण बारीमै कुहिन थालेको छ ।

मेचीनगर–१४ स्थित दुवागढीका ५० वर्षिय कृषक राजु राईले उत्पादन गरेको टमाटर बारीमै कुहिन थालेको हो ।

धाइजन मोडदेखि दक्षिण एक किलोमिटरको सडक छेउकै जग्गामा राईले २ वर्ष अघि मेवाहाङ कृषि तथा पशु पालन फार्म स्थापना गरेका छन् ।

‘गत पुस महिनामा १८ हजार टमाटरको विरुवा रोपिएको थियो’, कृषक राईले भने–‘लकडाउनका कारण उत्पादन भएका टमाटर बारीमै कुहिएको छ । अरुबेला व्यापारी तथा विचौलिया बारीमा नै तरकारी लिन आउने गरेका थिए । तर यसपटक व्यापारी आएका छैनन् ।’

वार्षिक २ लाख तिर्ने गरी लिजमा लिइएको तीन विगाह क्षेत्रफलको जग्गामा टमाटर, बन्दकोपी, आलु, लगायतका तरकारी तथा माछा, बङ्गुर समेत पाल्ने गरेको राईले जानकारी दिए ।

तरकारी बारीमा युरिया, पोटास, डिएपी, हाइजेनिक, गाईको गोवर, लगायतका किटनाशक मल प्रयोग गर्ने गरिएको उनले बताए ।

‘झापा तथा इलामका व्यापारीहरुले टमाटर लिन आउने भनेर थोरैभएपनि बारीबाट टिपेर आगनमा राखेको छु’, राईले भने–‘साँझ भइसक्यो व्यापारी आइपुगेका छैनन् । यो पनि आगनमै बिग्रीने भयो ।’

करिव ५० कुइँन्टेल टमाटर बारीमै कुहिन लागेको उनले बताए । बन्दकोपी थोरैभएपनि व्यापारीले लगेपनि अझै ५ कुइँन्टेल बन्दकोपी बारीमानै बिग्रीन आटेको उनको भनाई छ ।

वार्षिक २ लाख भन्दाबढी आम्दानी हुन्थ्यो, यसपटक आफ्नो खर्च पनि नउठ्ने हो की भन्ने चिन्ता लाग्न थालेको उनले बताए । बारीमानै आएका व्यापारीलाई टमाटर प्रति केजी २० देखि २५ रुपैयाँ र बन्दकोपी १० देखि १५ रुपैयाँ सम्मले राईले दिने गरेका छन् ।

‘तरकारीका लागि मौसमले त साथ दिएन–दिएन’, कृषक राईले भने–‘लकडाउनले त झनै सत्यनास पार्यो । यसपटक लगानी र मेहेनत दुवै खेर जाने भयो ।’

विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट नेपालमा पनि संक्रमितको संख्या १४ जना पुगिसक्यो ।
यो क्रम बढ्ने सम्भावना देखिँदै छ । त्यसैले सरकारले लकडाउनको अवधि फेरे बढाउने संकेत गरेको छ ।

‘नागरिकको सुरक्षाका लागि सरकारले लकडाउन बढाएकोमा मेरो आपत्ति छैन’, राईले भने–‘तर, सरकारले कृषकको समस्या बुझिदिनु पर्छ । उत्पादन गरेको बस्तुलाई सहजरुपमा बिक्री वितरणको व्यवस्था गरि दिनु पर्यो ।’

उत्पादन गर भनेर सरकारले हौसला चाहिँ दिने तर, उत्पादन भएको वस्तु कसरी बजारीकरण गर्न सकिन्छ भन्ने कुरामा सरकारले चासो नदिने गरेको उनको आरोप छ ।

उनका अनुसार भारतीय सब्जी सस्तो पाउने वित्तिकै लिने, नेपालमा उत्पादन गरेका तरकारी महङ्गो भयो भन्नुचाहिँ ठिक होइन । उनले सरकारले कृषकले उत्पादन गरेको वस्तुको भण्डारण, बजारीकरणमा ध्यान दिन आवश्यक रहेको दावी गरे ।

‘हामी दुःख गरेर उत्पादन गछौँ’, राईले भने–‘तर वस्तुको मुल्य व्यापारी र विचौलियाले तोक्छन् । घाटा–नाफा जे भए पनि उनिहरुको मुल्य अनुसार हामीले वस्तु बिक्री गर्नुपर्छ । यस्तो कुरामा स्थानीय सरकारले ध्यान दिन जरुरी छ ।’

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: