झापा । विगत ६ वर्षयता नेपाली युवाले अङ्ग्रेजी नयाँ वर्ष अर्थात् जनवरी १ तारिखलाई ढाका टोपी दिवसका रुपमा मनाउँदै आएका छन् । यो वर्ष ७ औँ दिवस हो ।
नेपाली ढाकाटोपी प्रतिष्ठानको विज्ञप्तिमा जनवरी १ तारिखका दिन मनाउनुको प्रमुख उद्देश्य, नेपाली टोपीलाई विश्वभर फैलिएका नेपाली नागरिक एवम् नेपालीमूलका नागरिकहरुको अन्तर्राष्ट्रिय पहिचानका रुपमा स्थापित गराउनु रहेको बताइएको छ ।
नेपाल भाषामा काँचो धागोलाई कचिका भनिन्छ । महिलाले कपाल बाट्दा लगाउने अलङ्कारिक धागोलाई सचिका भनिन्छ । म्हपुजा र भाइटीका गर्दा लगाउने काँचो धागोको एक किसिमको मालालाई जजंका भनिन्छ ।
त्यसैगरी, कपडाको टोपी बुन्न प्रयोग गरिने एउटा विशेष प्रकारको धागोलाई धाका भनिन्छ । धाकाबाट बुनिएको टोपीलाई धाका तपुलि भनिन्छ जसलाई खसभाषामा ढाका टोपी भन्ने गरिएको हो ।
ढाका टोपीको ढाका शब्दलाई बङ्गलादेशको राजधानी ढाकासँग जोडेर ढाका टोपीलाई नेपालको आफ्नै होइन, आयातित हो, बङ्गलादेशको राजधानी ढाकाबाट ल्याइएको कपडा वा प्रविधिबाट उत्पादित कपडाबाट बनेको हो भनेर गलत प्रचार गरिएको छ । जुन एउटा अपभ्रम र मिथ्या मात्रा हो ।