लथालिङ्ग पूर्वाञ्चल विश्वविद्यालय तङ्ग्रिँदै

  प्रकाशित मिति
३२ जेष्ठ २०७३, मंगलवार १२:०७


pubbnaya1

इटहरी । राजनीतिक हस्तक्षेप र आर्थिक अनियमितताले लथालिङ्ग बन्न पुगेको पूर्वाञ्चल विश्वविद्यालय विस्तारै सुधारको बाटोमा लम्कन थालेको भुक्तभोगीको भनाइ रहेको छ ।
करोडौँ आर्थिक अनियमितताको तापमा परेको विश्वविद्यालयले बिग्रेको अवस्थाबाट सुधारोन्मुख गति लिनका लागि निकै चुनौतीको सामना गर्नुपरेको उपकुलपति प्राध्यापक डा घनश्याम दासले बताए ।

आजभन्दा २१ वर्षअघि स्थापना भएको विश्वविद्यालयले नेपालका विभिन्न स्थानमा पाँच आङ्गिक र ११६ वटा कलेजलाई सम्बन्धन प्राप्त गरिसकेको पूर्वाञ्चल विश्वविद्यालयले २७ हजार विद्यार्थीको भाग्य र भविष्य बनाउने प्रयत्न गरिरहेको छ ।

विश्वविद्यालयले अहिले कला, कानुन, शिक्षा, विज्ञान तथा प्रविधि, व्यवस्थापन, चिकित्साशास्त्र सङ्कायमा व्यवसायिक र प्राविधिक गरी ७८ विषयका शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
उपकुलपति प्रा डा घनश्याम दासले विश्व बजारमा बिक्रीयोग्य शैक्षिक जनशक्ति उत्पादनको दिशामा अग्रसर विश्वविद्यालयलाई समयसापेक्ष तुल्याउन अहिलेको प्रशासनले भरमग्दुर प्रयास गरिरहेको बताए ।

अर्बौंको लगानीमा मोरङ जिल्लाको सुन्दरदुलारी नगरपालिकाको गोठगाउँमा केन्द्रीय कार्यालयका भवन र चिकित्साशास्त्र अध्यापनको भौतिक पूर्वाधारसहित अस्पताल समेत सञ्चालन हुँदै आएको पूर्वाञ्चल विश्वविद्यालय स्थापना गर्दा केन्द्रीय कार्यालय विराटनगरमा रहनेछ भन्ने उल्लेख भएकाले अहिले पनि प्रसस्त आफ्नो भौतिक पूर्वाधार हुँदाहुँदै पनि किन विराटनगरमा नै केन्द्रीय कार्यालय राखिँदै आएको हो त ? भन्ने प्रश्नमा उपकुलपति प्रा डा दासले राजनीतिक कारणले यसको केन्द्रीय कार्यालय गोठगाउँमा आउन नसकेको बताए ।

आर्थिक, राजनीतिक र शैक्षिक क्षेत्रमा सुधारका सुन्दर दृष्य देखिन थालेको भएपनि अझै केन्द्रीय कार्यालय गोठगाउँमा सर्न नसक्नुले अझै पनि पूर्वाञ्चल विश्वविद्यालयले सुविधा सम्पन्न विराटनगरको मोह त्याग्न नसकेको हो त ? भन्ने प्रश्नमा उपकुलपति प्रोफेसर डा दासले अब त्यस्तो नहुने उल्लेख गर्नुहुँदै अझै पनि पूर्वाञ्चल विश्वविद्यालयलाई सरकारले स्थापना गर्दाका बखतमा निजी क्षेत्रबाट सञ्चालन हुनेछ भनेर सरकारले सञ्चालनको उत्तरदायित्व बहन नगरिदिएकै कारण यसले उद्देश्यमूलक गति लिन नसकेका उनको भनाई हो ।

पछिल्लो समयमा आएर परीक्षा प्रणालीमा पनि व्यापक सुधार भएको चर्चा छ, के साँचो हो त भन्ने प्रश्नमा उपकुलपति प्रोफेसर डा दासले हामीले विगतमा परीक्षा प्रणाली ज्यादै ढिलो हुने गरेको भन्ने व्यापक गुनासो आइरहेको विषयलाई मिहिनरुपमा केलाएर वार्षिक क्यालेन्डरअनुसार तोकिएकै समयमा परीक्षा सञ्चालन गर्ने र परीक्षाफल पनि तोकिएकै समयमा निकाल्ने कार्य गरेर विगतको ढिलासुस्तीमा व्यापक सुधार गरेको सत्य भएको बताए ।

उपकुलपति प्रोफेसर डा दासले अझै पनि पूर्वाञ्चल विश्वविद्यालयमा सुधार गर्नुपर्ने पक्ष धेरै भएको उल्लेख गर्नुहुँदै आर्थिक प्रशासनलाई पारदर्शी तुल्याउने कार्यलाई चुस्त दुरुस्त पारिँदै लगेको पनि जानकारी दिए ।

विश्वविद्यालय सञ्चालनमा आर्थिक स्रोतको कमि देखिएपछि सञ्चालक परिषद्ले राज्यबाट वार्षिक रुपमा उपलब्ध हुँदै आएको रु चार करोडले कुनै पनि समस्या समाधानमा सहजता नआएको भन्दै हरेक वर्ष रु ३० करोड उपलब्ध गराइनुपर्छ भन्ने निर्णय गरी सरकारलाई बुझाइसकेको पनि जानकारी दिए ।
उनले पूर्वाञ्चल विश्वविद्यालयमा काम गर्ने कर्मचारी शिक्षक चिकित्सकलगायतलाई वार्षिक रुपमा तलब दिँदा नै रु १५ करोड खर्च हुँदै आएको र यो वर्षको बजेट प्रस्तुतपछि बढेको तलबले त्यसमा झन् व्ययभार बढाउने निश्चित भएको पनि उनले बताए ।

उपकुलपति प्रोफेसर डा दासले शैक्षिक क्षेत्रमा पनि व्यापक सुधार ल्याउने उद्देश्यले गोठगाउँमा पढाइ हुँदै आएको विएस्सी नर्सिङ र बिएन कार्यक्रममा थप सुधार गरेर पोस्ट ग्राजुयट शैक्षिक कार्यक्रम एमपीएच एम फर्मासम्मको कक्षा प्रारम्भ गरिसकिएको बताए ।

यसैगरी, विभिन्न देशका विश्वविद्यालयसँग आपसी शैक्षिक गतिविधि आदानप्रदान गर्ने विषयमा सम्झौता गर्ने कार्य पनि अघि बढिरहेको उनले जानकारी दिए । यसै क्रममा गोठगाउँमा नै अस्पताल परिसरमा बिरामी कुरुवाघर, ओपीडी भवन र प्रयोगशाला भवन तथा सामग्रीको व्यवस्था गर्ने कार्यलाई पनि विशेषरुपमा अघि बढाएको जानकारी दिए ।

विश्वविद्यालयले विगत लामो समयदेखि बक्यौताका रुपमा रहेको रु १० करोड असुलउपर गर्नेतिर विशेष पहल भइरहेको कलेजलाई सम्बन्धन दिँदा आर्थिक लेनदेन हुने गरेको भनेर सार्वजनिक रुपमा नै चर्चा हुने गरेको विषयलाई पूर्णरुपमा बन्द गरेर विश्वविद्यालयको बदनाम हुने गरेको विषयमा पनि आमूल सुधारसँगै पारदर्शिताको नीतिलाई अवलम्बन गरिएको पनि उपकुलपति प्रोफेसर डा. दासले दाबी गरे ।

पूर्वाञ्चल विश्वविद्यालयको भौतिक पूर्वाधार थप गर्नुपर्ने आवश्यकताअनुसार यसै वर्ष रजिष्ट्रारको अध्यक्षतामा निर्माण समिति गठन गरेर रु आठ करोडको लागतमा विभिन्न स्थानमा भौतिक पूर्वाधार निर्माणको काम थालिसकिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: