लाखौँका दानी भन्छन्–‘मरी लानु नै के छ र !’

  प्रकाशित मिति
२५ चैत्र २०७२, बिहीबार ०२:३८


narendra mevhe - Copyदुहागढी‚ २५ चैत । ‘आफू बदलिए समाज बदलिन्छ, समाज बदल्न सके राष्ट्र समृद्ध बन्छ’ भन्ने उखान झापा दुवागढीका नरेन्द्र मेचे (गछाम)सँग ठ्याक्कै मेल खान्छ । अर्थात्, उनी आफ्ना लागिभन्दा पनि समाजका लागि केही दिइरहेका छन् । उनको सहयोगले समाजको रुपान्तरणमा सहयोग पुर्याइरहेको छ ।

समाजका लागि योगदान पुर्याएर मेचेले दानवीर सामाजिक व्यक्तिका रुपमा आफूलाई चिनाउन सफल भएका छन् । ‘आप्mनो लागि भन्दा पनि समाजका लागि काम गर्ने हो’, उनी भन्छन्–‘मरी लानु नै के छ र !’

त्यसो नरेन्द्रले स्थानीय क्षेत्रका सामाजिक संस्थालाई खुलेर आर्थिक सहयोग गरेका छन् । विद्यालय, मठ–मन्दिर, खेलकुद लगायतका क्षेत्रमा उनको ठूलो योगदान छ । त्यही भएर समाजमा आफ्नो परिचय उनले फराकिलो बनाएका छन् ।

उनीसँग पैसा धेरै भएर सहयोग गरेका भने होइनन् । नरेन्द्र भन्छन्–‘सहयोग गर्न पनि खुला मन हुनुपर्छ, पैसा त मान्छेले कमाउँछ, गुमाउँछ । समाजमा केही योगदान गर्नुपर्छ भन्ने भावना सबैमा जागृत हुन जरुरी छ ।’

२०२५ सालमा धाइजन–५ मा सामान्य परिवारमा जन्मिएका नरेन्द्रको जीवन सङ्घर्षपूर्ण रह्यो । स्थानीय बलभद्र उच्च माविबाट प्राथमिक शिक्षा लिएका उनले घरको आर्थिक अवस्था कमजोर भएपछि बिचैमा पढाइ छाड्नु पर्यो । घरमा खान पुग्ने स्थिति नबनेपछि उनी मुग्लान छिरे ।

‘नेपालमा रोजगारीको अवसर थिएन’, उनी विगत सम्झँदै भन्छन्–‘पैसा कमाउन आसामको गारोहिल गएँ ।’ २०३९ सालतिर उनले आसामको कोइला खानीमा जोखिमपूर्ण काम गरे । चार वर्षमा त्यो बेलाको ३ हजार रुपैयाँँ कमाइ पनि उनले गरे । जोखिमपूर्ण काम भएकाले उनी त्यहाँ धेरै वर्ष टिक्न सकेनन् । २०४२ सालमा नेपाल आए ।

स्वदेश फर्किएर मावली हजुरबुबाको जग्गा लिएर अधियामा खेती गर्न थाले । त्यसमा पनि खासै पैसा कमाउन नसकेका उनले काठ खरिद बिव्रmी व्यवसायमा हात हाले । त्यसमा उनले सोचे अनुरुप पैसा कमाए । भन्छन्–‘काठको व्यापारमा राम्रै आम्दानी लिन सकेँ ।’ निरन्तर काठको व्यापार २०६४ सालसम्म गरेपछि आर्थिक अवस्था उनको दह्रो बन्यो ।

त्यसपछि उनले अरु व्यवसायमा लगानी गर्न थाले । जग्गा व्यापारबाट उनले सोचेभन्दा बढी आम्दानी गर्न थालेपछि अहिले त्यही व्यवसायलाई अघि बढाइरहेका छन् । दुवागढी–९ को मनकामना भेनियर र सोनिया घरघडेरी कम्पनी उनैको हो । ‘यो व्यवसायमा समस्या र चुनौती दुवै छ’, नरेन्द्र भन्छन्–‘निरन्तर लागिपर्ने हो भने व्यापारबाट घाटा छैन, चुनौतीको सामना गर्ने हिम्मत चाहिँ आफूसँग हुनै पर्छ ।’

कमजोर आर्थिक अवस्थाबाट माथि उठेपछि उनले सामाजिक कार्यमा आफूलाई स्थापित गर्दै लगेका छन् । उनले आफूले पढेको बलभद्र उमाविलाई ५ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छन् । त्यस्तै धाइजन–२ मा रहेको स्वास्थ्य केन्द्र निर्माणका लागि २ कट्ठा जग्गा (करिब ४ लाख ६० हजार रुपैयाँ बराबर) दान गरे । धाइजन–३ मा रहेको काली मन्दिर निर्माणका लागि २ लाख ५० हजार रुपैयाँ उनले सहयोग गरेका छन् ।

त्यस्तै, हात्ती पीडित क्षेत्र बाहुनडाँगीमा रहेको टुङ्सी निर्माणका लागि ३२ हजार रुपैयाँ सहयोग गरेको उनी सुनाउँछन् ।
नरेन्द्रले खेलकुद क्षेत्रमा बढी सहयोग गरेका छन् । खेलकुदमा सहयोग गर्नुको कारण भने बेग्लै छ । उनी युवा अवस्थामा फुटलब खेल्न साह्रै रुचाउँथे । २०४४ साल तिरको कुरा हो, उनी त्यसबेला राम्रो फुटबल खेलाडीको रुपमा चिनिन्थे । ‘मेरो नशा–नशामा फुटबल छ’, खेलप्रतिको मोह दर्शाउँदै नरेन्द्र भन्छन्–‘हाम्रो पालामा खेल खेल्ने ठाउँको अभाव थियो तर पनि खेल्न मन लाग्थ्यो ।’

खेलकुद भनेपछि हुरुक्कै हुने नरेन्द्रले त्यो बेला भारतका विभिन्न ठाउँका प्रतियोगिता जितेको शिल्ड तथा प्रमाणपत्र घरमा सजाएर राखेका छन् । भारतको सालुगढा, मतिगढा, वीरपाडा लगायतका स्थानमा भएका फुटलब प्रतियोगितामा राम्रो प्रदर्शन गरेर जीत हासिल गरेको उनी सुनाउँछन् । त्यही भएर पनि उनी खेलकुद भन्ने बित्तिकै सहयोग गर्न हौसिन्छन् । ‘म एउटा राम्रो खेलाडी थिएँ’, नरेन्द्र भन्छन्–‘त्यसैले खेलप्रतिको रुचि जागेको हो ।’

उनले भर्खरै धाइजन सहरेडाँगीमा सम्पन्न पूर्वाञ्चलस्तरीय प्रतियोगितामा १ लाख ११ हजार रुपैयाँ सहयोग गर्न भ्याए । त्यतिमात्र होइन, दुवागढी, धाइजन लगायतका स्थानीय क्षेत्रमा भएका वडास्तरीय प्रतियोगितामा सक्दो सहयोग गरेर खेलकुद क्षेत्रको विकासमा आफूलाई समर्पित गरेका छन् । आगामी वैशाख २ गतेदेखि हुने तेस्रो राष्ट्रिय भलिबल प्रतियोगिताका लागि ६ लाख रुपैयाँ उनैले सहयोग गरेका छन् । सोही प्रतियोगिता सम्पन्न गर्न उनी व्यस्त छन् ।

‘यति ठूलो प्रतियोगिता गर्नु हाम्रो गौरवको विषय हो’, उनी भन्छन्–‘यसखाले प्रतियोगिताले स्थानीय क्षेत्रलाई चिनाउन मद्दत गर्छ ।’ खेलकुदले युवा पुस्तालाई सही बाटोमा डोर्याउन सक्ने उनको बुझाइ छ । खेल क्षेत्रको विकास गर्न राज्यले प्रत्येक गाविसमार्फत लगानी गर्नुपर्ने उनको सुझाव छ । तर, त्यसका लागि खेलकुद नीति आवश्यक रहेको उनको तर्क छ ।

खेललाई सबथोक मान्ने नरेन्द्रकी पत्नी सञ्जल मेरे तथा छोरीहरू मनिका, नामिका र सोनिया मेचे छन् । उनीहरूकै साथ र सहयोगले सामाजिक क्षेत्रमा निरन्तर लाग्न प्रेरणा मिलेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: