लाखौंले हेरे पत्रकार बिजयको भिडियो लाइभ

  प्रकाशित मिति
२६ बैशाख २०७७, शुक्रबार १२:२५


भद्रपुर, २६ वैशाख । झापाका पत्रकार विजय बरालले कोभिड १९ को विश्वव्यापी सङ्क्रमण रोक्न गरिएको बन्दाबन्दीको अवधिमा जुम सफ्टवेयरको प्रयोग गरेर सामाजिक सञ्जालमार्फत निरन्तर देश विदेशका नेपालीमाझ भर्चुअल छलफल कार्यक्रम सञ्चालन गरिरहेका छन् । प्रत्यक्ष प्रशारण हुने उनको छलफल कार्यक्रमले ५० औं श्रृङ्खला पूरा गरिसकेको छ ।

पचास हजारभन्दा बढी ‘फ्लोवर’ रहेको बिन्जु मिडिया कर्नर (फेसबुक पेज) मार्फत सञ्चालित उनको कार्यक्रममा बन्दाबन्दीको ताजा अवस्था, समस्याको पहिचान, राहत वितरण र समाधानको उपाय बारेमा जनप्रतिनिधि, पत्रकार, समाजसेवी र सर्वसाधारणबीच अन्तरक्रिया हुने गरेको छ । लाखभन्दा बढी दर्शकले कार्यक्रम हेरिसकेका छन् ।

‘‘बन्दाबन्दीका समस्याहरु जनताले जनप्रतिनिधिलाई सुनाउन पाउन् भनेर नगरपालिकाका मेयर र गाउँपालिकाका अध्यक्षहरुसँग भिडियो कन्फरेन्स गराएँ,’’ पत्रकार बराल भन्छन्, ‘‘हजारौं दर्शकबाट सकारात्मक प्रोत्साहन पाएपछि कार्यक्रमलाई श्रृङ्खलाबद्ध बनाउँदै लगेको छु ।’’

‘सकारात्मक सन्देश हाम्रो अभियान’ भन्ने नाराका साथ सञ्चालन गरिरहेको भर्चुअल छलफल कार्यक्रममा सङ्घीय सांसद्, प्रदेश सांसद, नगरपालिका प्रमुख, गाउँपालिका अध्यक्ष, पत्रकार, सामाजिक अभियन्ता, शिक्षक, साहित्यकार, कलाकार र राजनीतिक दलका नेताहरु सहभागी भइसकेका छन् । जिल्लाका प्रमुख प्रशासक र प्रहरी प्रमुखहरु समेत प्रत्यक्ष प्रशारणमा सहभागी बनिसकेका छन् ।

झापा जिल्लाका सबै १५ वटा स्थानीय तहका प्रमुखहरुसँग उनले कार्यक्रममार्फत छलफल गरिसकेका छन् । कार्यक्रममा देशभन्दा बाहिर रहेका नेपालीले समेत सहभागी हुँदै कोरोना कहरका क्रममा आफुले भोग्नु परेको सकस सुनाउँदै स्वदेश फर्काइदिन आग्रह गरेको पाइएको छ ।

‘‘यो मैले मात्र होइन, सबै मिडियाले गर्न सक्छन्,’’ पत्रकार बराल आफ्नो कार्यक्रम बारे भन्छन्, ‘‘बन्दाबन्दीका बेला पत्रपत्रिकाहरु बन्द भएको र टेलिभिजन स्टेसनसम्म पहुँच गाह्रो भएको यो बेला सर्वसाधारण जनतालाई सरकारका प्रतिनिधिहरुसँग प्रत्यक्ष प्रशारणमा ल्याउन जुम सफ्टवेयरले ठूलो अवसर सिर्जना गरेको छ, सबै पत्रकार र मिडियाले यसको प्रयोग गर्न सक्नुहुन्छ ।’’

पत्रकार बराल प्राइम टेलिभिजनका झापा सम्वाददाता समेत हुन् । उनले आफ्नै घरको कोठालाई स्टुडियो ठानेर भर्चुअल छलफल कार्यक्रम चलाइरहेका छन् । कार्यक्रमको एक श्रृङ्खलामा कम्तीमा चार जनाले छलफलमा भाग लिने गरेका छन् । उनले कार्यक्रमको विषय प्रवेश र मोडरेटरको भूमिका निर्वाह गर्छन् भने मुख्य जवाफदेही वक्तासमक्ष पत्रकार वक्ताहरुले प्रश्न र टिप्पणी प्रस्तुत गर्दछन् ।

नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटाले पत्रकार बरालको कार्यक्रम आम पत्रकारका लागि अनुकरणीय र घरमै बसिरहेका सर्वसाधारणका लागि उपयोगी रहेको बताए । उनका अनुसार कार्यक्रमले स्थानीय सरकार र जनप्रतिनिधिहरुसमक्ष जनताको गुनासो र सुझावहरु पुर्याउन मदत गरेको छ ।

बन्दाबन्दीमा घर बस्नुपर्दा कसरी पत्रकारितालाई निरन्तरता दिने होला भनेर सोच्ने क्रममा फुरेको भर्चअल छलफल कार्यक्रमले पत्रकार बराललाई लोकप्रिय बनाएको छ । बन्दाबन्दी पछि समेत अभियानलाई नयाँ स्वरुपमा निरन्तरता दिने उनले बताए ।

(अम्बिका भण्डारी/रासस)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: