लागुऔषध सेवनसँगै जोखिम उच्च

  प्रकाशित मिति
२७ श्रावण २०७४, शुक्रबार १३:३६


gobinda-neupane

हालसालै काँकरभिट्टास्थित लागुऔषध उपचार केन्द्रमा अर्जुन बस्नेत नामका लागुऔषध प्रयोगकर्ताको उपचारका क्रममा निधन भएको सञ्चार माध्यमवाट जानकारीमा आएको छ । सञ्चारमाध्यमका अनुसार उपचारका क्रममा निजमाथि शारिरीक सजाय दिइएको कारण मृत्यु भएको उनका परिवारले वताएका छन् भने लागुऔषध उपचारमा संलग्नहरु निजले आत्महत्या गरेको दाबी गरिरहेका छन् । यी आशङ्काको वारेमा सम्वन्धित निकायहरुले सत्यतथ्य वाहिर ल्याउने नै छन् तर जे भए पनि व्यक्तिको जीवन जानुभन्दा ठूलो क्षति केही हुँदैन । जीवन दिन सकिदैन त्यसैले जीवन लिने अधिकार पनि कसैको हुँदैन ।

महत्वपूर्ण कुरा चाहिँ लागुऔषध प्रयोगकर्ता (दुब्र्यसनी) विभिन्न प्रकारका जोखिमहरुको सामना गरिरहेका हुन्छन् ।
सुइद्वारा लागुपदार्थ लिनेहरु एचआइभी, हेपाटाइटिस (वि र सि ) को पलपलमा जोखिम लिइरहेका हुन्छन् भने मुखवाट सेवन गर्नेहरु समेत विभिन्न दुर्घटनाका (सवारी, यौनजन्य) शिकार हुने गर्दछन् । हामी कहाँ लागुऔषध प्रयोकर्ताको वारेमा अत्यन्तै कम अध्ययन अनुसंधान गर्ने गरिएका कारण अन्य परिणामहरुको वारेमा यकिनका साथ भन्न सकिदैन । लागुऔषधको सेवनले धनी, गरीव, वालक वृद्धलगायतका सवै मानिसलाई अन्ततः मृत्युको मुखमा नै पुर्याउने नै हो । त्यसर्थ यस्तो खतरनाक पदार्थको वारेमा आम मानिसमा जानकारी पुगोस् भन्ने ध्येयले अबका केही आलेखहरु प्रस्तुत गरिने छ ।

967af8c83b3a81d5f1fa3e96c75e0bcc_L

आज भन्दा करिव ५ वर्ष अगाडि २०६९ सालमा नेपाल सरकार गृहमन्त्रालयको साझेदारीमा केन्द्रीय तथ्याङ्क विभागले गरेको सर्भेक्षण अनुसार नेपालमा लागुऔषध प्रयोगकर्ताको कुल सङ्ख्या ९१ हजार ५ सय ३४ देखिएको छ । यो वि.सं. २०६३ मा ४६ हजार ३ सय ९ रहेको थियो । यी दुवै तथ्याङ्कको विश्लेषण गर्ने हो भने ६ वर्षको अवधिमा लागुऔषध प्रयोग गर्नेको सङ्ख्या करिव दोब्बर देखिन्छ । पछिल्लो सर्भेक्षण भएको पनि ५ वर्ष पुगिसकेको अवस्थामा यो सङ्ख्या यसैगरि वढ्दै जाने हो भने हालसम्म करिव १ लाख ५० हजारको हाराहारीमा पुगेको हुन सक्ने देखिन्छ ।
कुल ९१ हजार ५३४ लागुऔषध प्रयोगकर्ताको तथ्याङ्क विश्लेषण गर्ने हो भने ७० हजार ३ सय ९० जना ३० वर्ष मुनिका छन् । १ हजार २ सयको हाराहारीमा १५ वर्ष भन्दा कम उमेरका छन् । अझ रोचक त १५ वर्ष भन्दा कम उमेरमै लागुऔषधको पहिलो चोटी प्रयोग गर्नेहरु ३२.३ प्रतिशत रहेका छन् । यो तथ्याङ्कमा गाँजा र अल्कोहल प्रयोकर्ताहरु समावेश गरिएको छैन ।

झापा पनि यो समस्यावाट मुक्त छैन । तथ्याङ्क अनुसार ६ हजार ०८ जना लागुऔषध प्रयोगकर्ता अनुमान गरिएको छ । जिल्लामा जुन २०६३ को सर्भेक्षणमा ३ हजार ५०० को हाराहारीमा भएको अनुमान गरिएको थियो । लागुऔषधको प्रयोगमा महिलाहरु समेत देखिएका छन् । झापामा २४४ जना महिला रहेको अनुमान गरिएको छ जुन २०६३ मा १४५ अनुमान गरिएको थियो ।

यो भयावह देखिएको समस्या न्यूनिकरणका लागि सरकारी तथा गैरसरकारी प्रयासहरु के–के छन् भन्ने बारेमा समेत आम मानिसमा जानकारी हुन आवश्यक देखिन्छ । लागुऔषध नियन्त्रण ऐन २०३३ यस अघि नै जारी गरी कार्यान्वयन गरिएको थियो । युवा समुदायमा परेको भयावह प्रभावलाई न्यूनिकरण गर्नका लागि ‘लागू औषधरहित स्वास्थ्य र समुन्नत समाजको प्राप्ति’ को सोच र स्वास्थ्य र समुन्नत समाजको लागि आर्थिक, सामाजिक, साँस्कृतिक पक्षमा ‘वहु आयामिक’ कार्यक्रम सञ्चालन गरी लागुऔषध दुव्र्यसनरहित समाजको सिर्जना गर्ने दिर्घकालीन लक्ष्यका साथ लागुऔषध नियन्त्रण रणनीति २०६६ जारी गरिएको छ ।

यस निर्देशिकाका रणनीतिका उद्देश्यहरुमा
१. उत्पादन ओसार पसार र वेचविखनमा नियन्त्रण गर्ने
२. जोखिम समूहमा यसको प्रयोगमा न्यूनिकरण गर्ने
३. गुणस्तरीय र भरपर्दो उपचार सेवामा पहुँच बढाउने
४. लागू औषध प्रयोगकर्ता र प्रभावित पक्षमा एचआइभी हेपाटाइटिस लगायत यौनजन्य रोगको सङ्क्रमणलाई न्यूनिकरण गर्ने
५. नीतिगत तादाम्यता र सहकार्य वढाउने
६. आवधिक र आधारभूत सर्वेक्षण गर्ने रहेका थिए ।

उपरोक्त उदेदेश्यहरु मध्येको तेस्रो उद्देश्य पुरा गर्नका लागि लागु औषध प्रयोगकर्ताहरुका लागि उपचार तथा पुनःस्थापना केन्द्र सञ्चालन निर्देशिका २०६८ नेपाल सरकारबाट मिति २०६८÷३÷२८ मा स्विकृत गरी लागु गरिएको थियो ।
यस निर्देशिकाको उद्देश्य संस्था दर्ता ऐन २०३४ बमोजिम खोलिएका उपचार तथा पुनस्थापना केन्द्रहरुद्वारा प्रदान गरिने सेवालाई समयानुकुल परिवर्तन र परिमार्जन गर्ने । उपचार तथा पुनः स्थापना केन्द्रको सेवालाई प्रभावकारी तुल्याउने । वितरित सेवाको स्तरमा एकरुपता कायम गर्ने । वितरित सेवाको विस्वसनीयता र दिगोपना कायम गर्ने । क्रियाशील संस्थाहरुको कार्य सम्पादनस्तरको अनुगमन र मूल्याङ्कन गर्ने । राष्ट्रिय नीति तथा रणनीतिको उद्देश्य हासिल गर्ने रहेको थियो ।

निर्देशिकाले उपचार तथा पुर्नस्थापना केन्द्रको भौतिक अवस्थाको वारेमा समेत व्यवस्था गरेको छ जस अनुसार स्वास्थ्यवद्र्धक तथा शान्त बाताबरण भएको स्थान हुनुपर्ने । कम्तीमा १ रोपनी जग्गामा कम्पाउण्ड सहितको भवन हुनुपर्ने । मोटरबाटो, पानी बत्तिको राम्रो सुविधा भएको हुनुपर्ने । अन्य भौतिक सुविधा (पुस्तकलाय, शौचालय, बस्न,े सुत्ने कोठा, भान्साकोठाको) राम्रो प्रबन्ध भएको हुनुपर्ने । पोषणयुक्त आहारको व्यवस्था भएको हुनुपर्ने । औषधीहरु चिकित्सको सिफारिसमा मात्र दिइनुपर्ने । भरपर्दो सुरक्षा व्यवस्था हुनुपर्ने । आवश्यक तथा बिज्ञ जनशक्ति भएको हुनुपर्ने । उपचार तथा पुनस्थापना केन्द्र सञ्चालनको लागि गृह मन्त्रालय लागुऔषध शाखामा आबद्धता भई प्रमाणपत्र लिएको हुनुपर्ने । सञ्चालनमा आइरहेका केन्द्रहरुले ३ महिना भित्र आवद्धता गराई प्रमाणपत्र लिनुपर्ने ।
सेवाको प्रकृति अनुसार नागरिक वडापत्र राख्नुपर्ने । उपचार पद्दति ऋयकत भााभअतष्खभ र प्रभावकारी हुनुपर्ने । मनोबैज्ञानिक र परामर्शदाताको लागि सेवा प्रदायकले तोकिएको संयन्त्रबाट स्वीकृति लिएको हुनु पर्ने लगायतका अन्य व्यवस्थाहरु गरेको छ ।

यसका अलावा उपचार केन्द्रको लापरवाहीका कारणले बिरामीको मानसिक÷शारीरिक क्षति पुगेमा क्षतिपूर्तिको व्यवस्था हुनुपर्ने र त्यसका लागि क्षतिपुर्ति निर्धारण समितिको व्यवस्था समेत गरिएको छ । निर्देशिकामा उल्लेखित प्रावधान उल्लघङ्न गरेमा त्यस्ता उपचार तथा पुनःस्थापना केन्द्रको खारेजी हुने ब्यवस्था निर्देशिकामा रहेको छ भने साथसाथै उपचार तथा पुनःस्थापना केन्द्रको कार्य प्रभावकारीता मूल्याङ्कन गरि राम्रो परिणाम दिने उपचार केन्द्रहरुलाई प्रोत्साहन र पुरस्कारको व्यबस्था समेत गरेको छ ।

यी कानुनी प्रावधान अनुसार कार्य गर्नु सेवा प्रदायकहरुको दायित्व हो भने कानुनी प्रावधान उल्ङ्घन भएको छ या छैन नियमन गर्नु सरोकारवाला नियमनकारी निकायको हो । हुन त सरकारी या गैरसरकारी संस्थाहरु जहाँ पनि निर्धारित मापदण्ड अनुसारका संरचना भेटिदैन । उपलव्ध साधन स्रोतको समुचित उपयोग गरेर भए पनि हालसम्म यस्ता केन्द्रहरुले उपचार गरि प्रयोगकर्ताको जीवन रक्षा गरेका छन् । यस्ता उपचार केन्द्रवाट सेवा लिएकाहरु आज स्वस्थ जीवन विताइ विभिन्न सामाजिक क्रियाकलापमा आवद्ध रहेका छन् ।

। कुनै पनि उपचारका क्रममा हुने मृत्युमा आफन्त गुमेको पीडा उसका परिवारलाई हुन्छ साथसाथै उपचार गर्ने व्यक्ति र निकायलाई समेत पीडा थपिन्छ । किनकी उपचारको सफलतामा उसको प्रशंसा हुन्छ भने विफलतामा वर्षौको ख्याती गुम्दछ । अध्ययनले करिव ८० प्रतिशत लागुऔषध प्रयोगकर्ताहरुमा मानसिक समस्या निहित हुने भएका कारण उपचारमा मात्र हैन अनेकन क्षेत्रमा जोखिम वढ्दै गएको देख्न सकिन्छ । जोखिम न्यूनीकरणका लागि उपचार केन्द्र मात्र हैन वहुपक्षीय सहकार्य आवश्यक छ । रोग लागेर उपचारमा लाग्नु भन्दा रोगै नलाग्ने तिर सवैको ध्यान जान जरुरी छ । मानववाट गल्ती हुन सक्छ, गलतवाट सिकेर अगाडि वढ्नु उपयुक्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: