मेचीनगर, १२ असार । भारतबाट लागुऔषध भित्रिने मुख्य चारवटा नाकाहरु मध्ये काँकरभिट्टा पनि एउटा मुख्य नाका रहेको एक तथ्याङ्कले पुष्टि गरेको छ ।
आइतबार मेचीनगर नगरपालिकाको आयोजनामा भएको लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाले सो कुरा सार्वजनिक गरेको हो ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टा प्रमुख डिएसपी ज्ञानकुमार महतोले लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको कार्यक्रममा सो कुराको प्रोजेक्टर मार्फत प्रस्तुतीकरण गरेका थिए ।
भारतबाट नेपाल भित्रिने मुख्य ४ वटा नाकामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नेपालगञ्ज, भैरहवा र काँकरभिट्टा नाका लागूपदार्थ कारोबारीको मुख्य अखडा रहेको उनले बताए ।
‘काँकरभिट्टा लागुऔषधको खतरा जोनमा छ’, डिएसपी महतोले भने–‘बागमती प्रदेशपछि प्रदेश नम्बर १ लागुऔषधको अखडा बन्दै गएको छ । सेवनकर्ता र कारोवारीलाई कानुनी दायरामा ल्याएर कारवाही गर्न सबैको साथ र सहयोगको खाँचो छ ।’
उनका अनुसार मादक पदार्थ सेवन(मापसे) गर्ने भन्दा पनि लागुपदार्थ सेवन(लापसे) गर्नेहरुको संख्या बढ्न थालेको छ । ‘मापसे चेक गर्दा पनि मान्छेले ब्रेथलाइजरलाई नर्टेने भईसके’, डिएसपी महतोले भने–‘अब किटबाट लापसे चेक गरिने छ ।’ उनले लागुऔषधको कुलतमा फसेकाको उद्दार र नियन्त्रणका विषयमा प्रोजेक्टर मार्फत प्रस्तुतीकरण दिएका थिए ।