दमक । लामो समयदेखि सडक तथा फूटपाथमा बसेर लागूऔषध सेवन गर्दै आएका तीन बालकलाई दमक नगरपालिका र इलाका प्रहरी कार्यालय दमकले उद्धार गरेको छ ।
सवाल नेपाल अनलाइन र लायन्स क्लव अफ दमक माउण्ट एभरेष्टको पहलमा दमक–६ स्थित जेसीज चोकबाट उनीहरुको उद्धार गरिएको हो ।
उद्धार हुनेमा दमक नगरपालिका वडा नम्बर–१३ का दुई श्रेष्ठ दाजुभाइ र एक दर्जी थरका बालक रहेको प्रहरीले जनाएको छ । उनीहरु तीनै जना १५ बर्ष मुनीका रहेका छन् ।
श्रेष्ठ दाजुभाईको बुबाको केही बर्ष अघि मृत्यु भएको र आमा पनि अर्कैसँग विवाह गरेपछि सहाराविहिन भएको र अर्का दर्जी बालकको आमा विदेश गएको र बुबा मिस्त्री काम गर्ने गरेको पाइएको नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले बताइन् ।
उनीहरुलाई उद्धार गरेर दमकमा नै रहेको हेप्पी नेपाल सुधार केन्द्रमा राखिएको उपप्रमुख अधिकारीले बताइन् ।
इलाका प्रहरी कार्यालय दमकका प्रमुख दीपक गिरीले दमकमा मात्र डेढ दर्जनभन्दा बढी बालबालिका लागूऔषधि दुव्र्यसनीमा लागेको बताए ।
उनले प्रायः आमा विदेश गएका, बाबु आमा गुमाएका बालबालिकाहरुको सहाराविहीन भएर कुलतमा फस्ने गरेको अनुसन्धानको क्रममा पाइएको बताए ।
उपप्रमुख अधिकारीले लागूऔषध दुव्र्यसनमामा लागेका सबै सडक बालबालिकाको तीन महिनाभित्रमा उद्धार गर्ने नगरपालिकाको योजना रहेको बताइन् ।
उद्धार कार्यमा दमक नगरपालिकाका सामाजिक शाखा प्रमुख डम्बर बराल, लायन्सकर्मीहरु चन्द्र गजमेर, मनोज अग्रवाल, बुद्धिशेखर भट्टराइलगायतको सहयोग रहेको थियो ।