मेचीनगर, २१ कार्तिक । मेचीनगर नगरपालिकामा कोरोना संक्रमण नियन्त्रणलाई अझ प्रभावकारी बनाउन सचेतनताका लागि नयाँ मापदण्ड बनाउनु पर्ने भएको छ ।
दमक, विर्तामोड लगायत कोरोना संक्रमण तीब्र गतिमा फैलिइरहेका स्थानीय तहमा पुरानो मापदण्ड र निर्देशिका प्रभावी नबनेपछि हाल नयाँ नियमहरु लागू गरिएका छन् ।
दमक नगरपालिका र जिल्ला प्रशासन कार्यालय झापाले अलग अलग निषेधाज्ञा लागू गरेका छन् । कतै आंशिक लकडाउन भइरहेका छन् ।
मेचीनगरमा कोभिड संक्रमण नियन्त्रण कार्यदलको आज विहान बसेको बैठकले नगरपालिकालाई संक्रमण फैलिन नदिने र विरामीको उपचारको व्यवस्था भरपर्दो हुने गरी नयाँ व्यवस्था लागू गर्न सिफारिस गरेको छ ।
कार्यदलमा मेचीनगरका प्रमुख दलका शीर्ष नेताहरु सदस्य रहेका छन् । दलका नेताहरु नयाँ निर्देशिका ल्याउनु पर्ने निष्कर्षमा पुगेका छन् ।
मेचीनगरमा बजार खोल्ने, यातायात सञ्चालन गर्ने, नाकाबाट आउजाउ गर्ने, बैंक तथा वित्तीय संस्था सञ्चालन गर्ने लगायतका कोरोना फैलिने सम्भावनाका क्षेत्रमा ज्यादै लापरवाही देखिएको छ ।
मास्क, सेनिटाइजर र सामाजिक दूरी अनिवार्य पालना गराउने विषयमा पुरै वेवास्ता हुन थालिसकेको छ ।
नगरपालिकाले समेत सर्वसाधारणको कन्ट्याक्ट ट्रेसिङमा सबैको पीसीआर परीक्षण गराउन सकेको छैन । होम आइसोलेसनमा बसेकाहरुलाई उचित परामर्श र रेखदेख नगरपालिकाले नगरेको गुनासो बढिरहेको छ ।