लायन्सले दियो प्रदेश सरकारलाई ३० बेडको आइसोलेसन वार्ड

  प्रकाशित मिति
२३ आश्विन २०७७, शुक्रबार १८:२३


झापा, २३ असोज । प्रदेश १ सरकारले दुई महिनाअघि एक हजार शैयाको कोभिड १९ आइसोलेसन तयार गर्ने घोषणा गरेको थियो । तर अझैपनि आइसोलेसनको विषयमा सरकार छलफलमै सीमित रहेको छ ।

विराटनगरमा शुक्रबार लायन्स क्लब अफ डिष्ट्रिक्ट ३२५ ए वानले ३० शैयाको आइसोलेसन केन्द्र निर्माण गरी प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ । तर प्रदेश सरकार आफैले घोषणा गरेको एक हजार शैयाको आइसोलेसन निर्माणको कामले पूर्णता पाउन सकेको छैन ।

विराटनगर महानगरपालिका १२ स्थित सामुदायिक भवनमा निर्माण गरिएको आइसोलेसन केन्द्र हस्तान्तरणका क्रममा प्रदेशका मुख्यमन्त्री शेरधन राईले आईसीयुसहितको प्रबन्ध प्रदेश सरकारले गर्ने बताएका छन् ।

कार्यक्रममा मुख्यमन्त्री राईले अहिलेको अवस्थामा आइसोलेसनले मात्र पर्याप्त नहुने हुँदा आईसीयु सुविधासहित सरकारले प्रबन्ध गर्ने दावी गरे । पछिल्ला दिनहरुमा संक्रमितको संख्या बढ्दै गएकाले कोभिड अस्पताल र आइसोलेसन केन्द्रहरुले मात्र थेग्ने अवस्था नभएको मुख्यमन्त्री राईले बताए । घरमै संक्रमित बसिरहेको अवस्थामा उनले आइसोलेसन केन्द्रहरु थप गर्दै लैजाने उदघोष समेत गरे ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेले लायन्सले तयार गरेको आइसोलेसन केन्द्रलाई चिकित्सकीय सेवासहित सञ्चालनमा ल्याउने बताए । केन्द्रको सफाई र स्वास्थ्य व्यवस्थापन प्रदेश सरकारले गर्ने उनले बताए ।

चाडपर्व शुरु भएसँगै संक्रमण गाउँ–गाउँमा पुग्न सक्ने खतरा देखिएको बताएका मन्त्री घिमिरेले दशैं र काठमाडौंसँगको सम्बन्धका कारण प्रदेश १ का सबै जिल्ला र गाउँमा कोरोना फैलन सक्ने अवस्था भएको र चाडपर्व सुरक्षित भएर घरमै बसेर मनाउन आग्रह गरे ।

लायन्स क्लब अफ डिष्ट्रिक्ट ३२५ ए वानका फर्स्ट भाइस डिष्ट्रिक्ट गर्भनर एवं केन्द्र निर्माणका संयोजक रेवतबहादुर कार्कीले ३० जना विरामी र २ जना कर्मचारीलाई व्यवस्थापन गर्ने गरी केन्द्र तयार गरिएको बताए । दुई तल्ले भवनको माथिल्लो भागमा पुरुष विरामीलाई राखिने बताएका उनले भुइँ तल्लामा महिला विरामीलाई राखिने जानकारी दिए ।

यससँगै पहिलो चरणमा लायन्सले एक सय दिनसम्म बिरामीलाई खानाको व्यवस्था गर्ने उनले बताए । तल र माथिको तल्लामा समान २ वटा शौचालय र स्नान घर रहेको छ । विरामीको व्यवस्थापन, हेरचाह र औषधीको कार्य प्रदेश सरकारको जिम्मा रहने कार्कीले जानकारी दिए । सामाजिक कार्यमा खटिँदै आएका कार्की संक्रमणका कारण हाल होम आइसोलेसनमा रहेका छन् ।

लायन्सले यसअघि काठमाडौँको गोकणेश्वरमा ७० शैयाको आइसोलेसन निर्माण गरी हस्तान्तरण गरेको थियो । प्रदेशका ठूलो मानिएका अस्पतालहरुमा आइसोलेसनदेखि आइसियु, भेन्टिलेटरसम्म संक्रमितले उपचारका क्रममा भरिएका छन् । आइसोलेसनमा अक्सिजनसहित शैया खाली नहुँदा मोरङ कारागारका एक संक्रमित कैदीले ज्यान समेत गुमाएका छन् ।

।। अभयकुमार राई ।।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: