रेवतिराज घिमिरे
भद्रपुर । झापा जिल्ला अदालतमा विभिन्न मुद्धाहरुमा दशी स्वरुप दाखिल हुन आएका तथा जिन्सीमा आम्दानी बाँधिएका दर्जनौँ थान मोटरसाइकल तथा अन्य मालसामानहरुको समयमा लिलाम बिक्री नहुँदा कवाडीमा परिणत भएको छ ।
१० बर्षदेखि विभिन्न देवानी तथा फौजदारी मुद्दाहरुमा ४६ जना बादी– प्रतिवादीबाट दशी तथा जिन्सी सामान स्वरुप प्राप्त भएका ५६ वटा मोटरसाइकल तथा ४ पाङ्ग्रे सावरी साधनसहितका जिन्सी सामानहरु अहिलेसम्म लिलाम बिक्री नगरिँदा कवाडीमा परिणत भएको हो ।
सवारी साधन लगायत खुकुरी, मोवाइल, थाल, कम्युटर, बन्चरो, फलामे रड, कचौरा, फरुवा जस्ता विभिन्न ४५ प्रकारका दशीका मालसामान सहितका लाखौँ मुल्य बराबरका सामानहरुको लिलाम बिक्री वितरण गरिएको छैन् ।
सरोकारवाला निकायहरुले समयमै चासो नदिँदा यस्ता सामग्रीहरु माटोमा परिणत हुने स्थिति आएको जानकारहरुले बताउने गरेका छन् । अदालतका अतिरिक्त अबैध रुपमा सामान भन्सार छली सीमा वारपार गराउने क्रममा प्रहरीले पक्राउ गरी भन्सारमा रहेका २ पाङ्ग्रे तथा ४ पाङ्ग्रे सवारी साधनहरुको समेत समयमा लिलाम बिक्री गरी प्रयोगमा ल्याउने गरिएको छैन् ।
जसले गर्दा लाखौँ राजश्वमा समेत गिरावट आउने गरेको स्थानीयहरु बताउछन् ।जिल्ला अदालत झापाका तहसिल्दार टिकाप्रसाद नेपालले अदालतले सस्तो मुल्यमा पटक–पटक लिलाम बिक्रीको सुचना सार्वजनिक गरे पनि कुनै पक्ष अहिलेसम्म सम्पर्कमा नआएको दावी गरे ।
अदालतले श्रेस्तेदारको संयोजकत्वमा मुल्याङ्कन समिति बनाएर सबै स्थानीय तहलाई लिलाम बिक्रीको सुचना सार्वजनिक गरे पनि हालसम्म कोही सम्पर्कमा नआएकाले सामानहरु रहिरहेको उनको भनाइछ ।तहसिल्दार नेपालले जतिसक्दो छिट्टो १ नं न्यायधीशको सल्लाह र सुझाव अनुसार समस्याको समाधान खोजी गरिने बताए ।
मुद्दा टुङ्गीएर लिलाम गर्न मिल्ने अभियोगका साथ आएका र लिलाम बिक्रीका लागि दर्ता नभएका मोटरसाइकल ८ हजार र दर्ता भएका मोटरसाइकलको बढीमा ३० हजारसम्म मुल्य कायम गरेर सुचना प्रकाशित गरिएको अदालतले जनाएको छ ।
अदालत परिसरमा डाक लिलाम बडाबड गरी मुल्य निर्धारण गरिएका अन्य सामानहरुमा खुकुरीको २० रुपैयाँ, कत्तिको ४ रुपैयाँ, बन्चरोको ८ रुपैयाँ लगायतका १६ सय मुल्यसम्मका विभिन्न प्रकारका मालसामानहरु छन ।
३० जना वादी–प्रतिवादीहरुबाट चन्दा आतङ्क, कर्तव्य ज्यान, लागुऔषध, अपहरण, चोरी, किर्ते लगायतका विभिन्न मुद्दाको दशी प्रमाणको रुपमा उक्त जिन्सी सामानहरु आएको अदालतले जनाएको छ ।