लोकतन्त्रको पहिलो बर्ष

  प्रकाशित मिति
१७ पुष २०७२, शुक्रबार ०३:१७


आम नागरिकलाई सुसूचित गराउने प्रतिज्ञाका साथ २०७१ पुस १६ गते प्रकाशन आरम्भ भएको लोकतन्त्र पोस्ट विहीबार दोस्रो वर्षमा प्रवेश गरेको छ । वितेको एक बर्षमा यसका ३ सय २० अङ्क प्रकाशित भएका छन् । लोकतन्त्र पोस्टले भाषिक शुद्धता र एकरुपतालाई सुरुदेखि आफ्नो विशिष्ट पहिचान बनाउँदै आएको छ । लोकतन्त्र पोस्टले प्रयोग गर्ने वर्ण विन्यासको भाषा प्राथमिक तहदेखि उच्च शिक्षा अध्ययन गरिरहेका नेपाली भाषाका विद्यार्थीका लागि मानकको रुपमा स्थापित हुनु हाम्रा लागि गौरवको विषय हो । हरेक साता साहित्य विशेषाङ्कको रुपमा ‘शनिवार’ प्रकाशित हुँदै आएको छ । मुलुकले गर्व गर्नलायक तिथिहरूमा पनि विशेषाङ्क जस्तै भएर प्रकाशित हुने गरेको छ ।

लोकतन्त्र पोस्टको एक बर्ष मुलुकको इतिहासका लागि पनि उथुलपुथलकारी रह्यो । यही अवधिमा महाभूकम्पले मुलुक थलियो । भारतले निर्लज्जतापूर्वक नेपाली जनतामाथि नाकाबन्दी थोपरेको छ । जनता आफैले लोकतान्त्रिक संविधान बनाएर जारी गरेको क्षण इतिहासकै सबैभन्दा खुशी प्राप्त भएको दिन हो । नागरिक अधिकारका लागि भएका सबै आन्दोलनका उपलब्धिहरूलाई संस्थागत गर्ने संविधान निर्माणको यो अवसरमा हामीले लोकतन्त्र पोस्टको सबैभन्दा बढी पाना खर्चिएका छौँ । संविधान सहमतिको दस्तावेज हो, त्यो गतिशील र सधैँ अपूर्ण नै रहन्छ । संविधानमा आफ्ना अधिकार नसमेटिएको भन्दै असन्तुष्ट भएका नागरिकको भावना पनि समेटिदै जाने लचकता हाम्रो संविधानमा छ । आगामी दिनमा संविधानले दिएका अधिकारहरूको इमान्दार व्रिmयान्वयनमा टेकेर मुलुकलाई अग्रगमनतर्फ अघि बढाउन लोकतन्त्र पोस्ट सतिसाल झैँ उभिने प्रतिबद्धता व्यक्त गर्दछ ।

व्यावसायिक पत्रकारिताको मियो बनेर उभिने हाम्रो सङ्कल्प धरमराएको छैन । पत्रिका समाजको सम्पत्ति हो र यसलाई जगेर्ना गर्ने कत्र्तव्य पनि समाजकै हो । मुलुकले परिवर्तनका नाममा अनेक रङ फेरे परे पनि गरिखाने वर्गका नेपालीले अझैसम्म दुई छाक भरपेट खान पाउने, आङभरि लुगा लाउन पाउने र घामपानी छेल्ने घरमा बस्न पाउने आधारभूत हक पाउन सकेका छैनन् । यसको प्रमाण मेचीनगरका तोयानाथ चेपाङ र बुट्टावारीका लोकबहादुर गन्धर्व हुन् । चेपाङ र गन्धर्व जस्ता सीमान्तकृत वर्गका नागरिकको आँगनमा पनि लोकतन्त्र झुल्किनु पर्छ भन्ने आवाज हामी निरन्तर उठाइरहने छौँ ।

पत्रकारिताका परम्परागत शैलीलाई भत्काएर नविन सोच र खोजका साथ पाठकसमक्ष आउने लोकतन्त्र पोस्टको प्रारम्भकालीन प्रतिबद्धतामा हामी अपेक्षाकृत खरो उत्रिन नसकेकै हो । पत्रिकाको भीडमा हामी अरुभन्दा भिन्न कहाँनेर छौँ भन्ने प्रश्नको छर्लङ्ग जवाफ लोकतन्त्र पोस्टले अझै दिन नसकेको हामीलाई थाहा छ । आत्मप्रशंसाको पुल गाँसेर पाठक एवम् शुभचिन्तक वर्गलाई हामी भ्रमजालमा पार्न रत्तिभर चाहँदैनौँ । जे गर्न सक्यौँ, ती सबै आएकै छन् । जे गर्ने सोच भएर पनि गर्न भ्याइरहेका छैनौँ, त्यसलाई आगामी दिनमा पूरा गर्ने हाम्रो दृढ सङ्कल्प रहेको छ । श्रद्धेय पाठक एवम् शुभचिन्तकहरूले राम्रो गर्दा स्यावासी र त्रुटी हुँदा औल्याइदिएर हामीलाई हौसला प्रदान गरिदिनु भएको छ । जसप्रति हामी आभारी छौँ ।

हामीले अखवार, रेडियो र अनलाइनका माध्यमलाई एउटै छानामुनिबाट सञ्चालन गर्ने सोँच बनाएका थियौँ । पत्रिकाबाट सुरु भएको हाम्रो यात्रा रेडियो र अनलाइनमा समेत एक बर्षभित्रै विस्तारित हुन सकेको छ । www.loktantrapost.com मार्फत हाम्रा समाचार र विचार अब संसारको जुनसुकै स्थानमा पढ्न÷हेर्न सकिने भएको छ । प्रयोगकै रुपमा तीन वटै माध्यम एकै छानामुनिबाट सञ्चालनमा ल्याउने प्रयासमा केही समस्या उत्पन्न भएका छन् । ती समस्याका विषयमा आगामी दिनमा थाहा भइहाल्ने छ । विज्ञ पाठक एवम् शुभचिन्तकहरूबाट अहिलेसम्मको यात्रामा पाएको समर्थन, सद्भाव एवम् सहयोगबाट हामी उत्साहित छौँ । विज्ञापन दिएर आर्थिक रुपमा टेवा पु¥याउने विज्ञापनदाता, ग्राहक बनिदिने संस्था तथा महानुभावहरू, लेख रचना उपलब्ध गराएर पत्रिकालाई पठनीय तुल्याउने लेखक तथा स्रष्टा, समाचार सङ्कलक, पृष्ठ साजसज्जा तथा पत्रिका वितरण गर्ने सहकर्मी सबैप्रति हृदयदेखि नै कृतज्ञता ज्ञापन गर्दछौँ । आगामी दिनमा निरन्तर सद्भाव र हौसला पाइरहने विश्वास व्यक्त गर्दछौँ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: