लोकतन्त्रमा कोही सत्रु हुँदैन

  प्रकाशित मिति
९ चैत्र २०७२, मंगलवार ०५:१८


nagarik samaj
मेचीनगर । मानव अधिकारवादी नेता कृष्ण पहाडीले लोकतन्त्रमा कोही पनि कसैको सत्रु नहुने बताएका छन् । सोमवार मेचीनगरको धुलाबारीमा आयोजना गरिएको ‘शान्ति, अहिंसा, राष्ट्रिय स्वभिमानः एकता सद्भाव र आत्मसम्मान’ विषयक जागरणसभामा पहाडीले लोकतन्त्र भनेको नै सत्रुताविहिन आचरण भएकोले कोही पनि सत्रु नहुने बताएका हुन् ।

नेता पहाडीले लोकतन्त्रमा ‘यो प्रतिगामीको घर हो, यो अग्रगामीको घर हो भनियो भने त्यो लोकतन्त्र हुँदैन’ भन्दै नागरिकको सर्वाेच्चता नै लोकतन्त्रको सुन्दरता भएको बताए ।

‘संविधानमा सबैका केही न केही असहमतिहरू छन् । हाम्रा पनि केही असहमति छन्’, पहाडीले भने–‘हामीले संविधानको प्रस्तावनामा अंहिसा लेखिनु पर्छ भनेको थियौँ । लेखिएन । तर, हामी सडकमा आन्दोलन गर्न गएनौ । टायर बालेनौँ ।’ हिंसा अस्वीकार्य भएको उल्लेख गर्दै उनले राज्यलाई पनि अहिंसात्मक आन्दोलनलाई दमन नगर्न आग्रह गरे ।

कार्यव्रmममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले जवसम्म सबै नेपाली राजनीतिक दलभन्दा माथि उठेर राष्ट्रिय निर्माणतर्फ उन्मुख हुँदैनन् तबसम्म देशले शान्तिको अनुभव गर्न नसक्ने बताए । ‘अहिले पनि नेपाल दुई वटा छ’, केन्द्रीय सदस्यमा निर्वाचित भएर सोमवार मात्र झापा आएका शर्माले भने–‘एउटा नेपाल १० बजे सुकिलो मुकिलो भएर विद्यालय जान्छ, अर्काे नेपाल दिउँसो दुई बज्दा पनि होटलमा भाँडा माझिरहेको हुन्छ । एउटा नेपाल देशका हरेक क्षेत्रमा महिलाको नेतृत्व गर्छ भने अर्काे नेपाल भारतको कोठीमा बेचिएर रोइरहेको छ ।’

यी दुई वटा नेपाललाई एक बनाउन नसकेसम्म देश निर्माण नहुने भन्दै नेता शर्माले जागिरमा सोर्सफोर्सले युवामा ठूलो निराशा आएको बताए ।

एमालेका केन्द्रीय सदस्य भाष्कर काफ्लेले संविधान निर्माणमा सबै दलहरूको सहमति भएकाले अहिले प्रतिपक्षमा रहेको काङ्ग्रेसलाई पनि राष्ट्रिय सरकारमा आएर संविधान कार्यान्वयनमा सघाउन आग्रह गरे । उनले सहमतिको आधारमा देश निर्माणमा लाग्नु पर्ने बताउँदै सबैको सहकार्य र एकताले हरेक काममा सफल हुने उल्लेख गरे ।

एकीकृत माओवादीकी केन्द्रीय सदस्य धर्मशिला चापागाईले देशमा छुवाछुतको अन्त्य भएको भने पनि अझै बिभेद हट्न नसकेको बताइन् ।
‘महिलामाथि विभेद अझै छ’, नेता चापागईले भनिन्–‘जबसम्म महिला र पुरुषबीचको भिन्नता हट्न सक्दैन, तबसम्म एक दुई महिला राष्ट्रपति र सभामुख बन्दैमा आम महिला अधिकारसम्पन्न भएको मानिने छैन ।’

पूर्व स्वास्थ्य मन्त्री समेत रहेकी चापागाईले मानव अधिकारवादीलाई समेत प्रश्न गर्दै भनिन्–‘महिला मारिन्छन्, महिला बलात्कृत हुन्छन्, महिलालाई अनेकन दुःख र कष्ट दिइन्छ तर कोही मानवअधिकारवादी किन बोल्दैनन् ?’

उनले आफनो श्रीमानलाई चारआली व्यारेकमा ३४ दिन राखेर हत्या गरिएको द्वन्द्वकालीन घटनाको चर्चा गर्दै आम मानिसको मुहारमा हाँसो र समृद्धि ल्याउन नसकेसम्म संविधानको कार्यान्वयन हुन र शान्ति छाउन मुस्किल हुने धारणा व्यक्त गरिन् ।

राप्रपा नेपालका केन्द्रीय सदस्य भक्ति सिटौलाले असहमति थाती राखेर भए पनि राष्ट्र निर्माण र संविधान कार्यान्यवनमा सबै एक भएर अघि बढ्नु पर्ने बताए ।

नेपाल पत्रकार महासङ्घ नेपालका पूर्व केन्द्रीय सदस्य मोहन काजीले जनताको ठूलो सङ्घर्षले प्राप्त भएको लोकतन्त्र र गणतन्त्रमा समेत आम नेपालीले चाहना गरे जस्तो परिवर्तनको अनुभूति गर्न नपाएको बताए । शान्ति समाजकी केन्द्रीय कोषाध्यक्ष रेनुका पौडेलले देश अझै सङ्कटमा रहेकाले यो कष्टलाई हटाउन यो अभियान सञ्चालन गरिएको बताइन् ।

कार्यव्रmममा प्रसिद्ध छन्दवादी कवि सुदय सत्यालले कविता वाचन गरेका थिए । धुलावारी चोकमा आयोजित कार्यव्रmममा विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता, नागरिक समाजका अगुवा, विभिन्न सामाजिक सङ्घ संस्थाका प्रतिनिधि तथा स्थानीयको उल्लेखनीय उपस्थिति रहेको थियो ।

शान्ति समाजका जिल्ला अध्यक्ष ज्ञानेन्द्र निरौलाको सभापतित्वमा सम्पन्न कार्यव्रmमको स्वागत केन्द्रीय सदस्य पुष्प पौडेल र सञ्चालन जिल्ला सचिव ऋषि तिम्सिनाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: