लोक चित्रकलातिर तानिए कला उत्सवका दर्शक

  प्रकाशित मिति
२० फाल्गुन २०७५, सोमबार ०९:३१



अम्बिका भण्डारी

भद्रपुर । लोक चित्रकलामा सामाजिक जनजीवन, परम्परागत संस्कृति र मौलिक पहिचान झल्किने हुँदा यसको लोकप्रियता बढ्दो छ ।
झापाको काँकडभिट्टामा शनिवारदेखि जारी तीन दिवसीय ‘कला साहित्य उत्सव’मा प्रदर्शनीमा राखिएका लोक चित्रकलाले दर्शकको माया मात्र पाएका छैनन्, कलाकारको प्रतिभालाई समेत चिनाउन मदत पुर्याएको छ ।

प्रदर्शनीमा राखेको एउटा लोकचित्रको मूल्य रु. दुई हजार निर्धारण गरिएको थियो । तर प्रदर्शनीमा अलोकन गर्न आएका एक व्यक्तिले सो चित्रलाई रु. पाँच हजार तिरेर खरिद गरेको झापाका उदीयमान चित्रकार विनोद राजबंशीले बताए ।

‘यति राम्रो चित्रको रु. दुई हजार दाम अलि कम भयो जस्तो लाग्छ, कतिसम्म दाम राख्न सकिन्थ्यो भनेर उहाँले मलाई सोध्नु भयो’, देही आर्टमा आवद्ध कलाकार राजबंशीले चित्र विक्री प्रसङ्ग बारे भन्नु भयो, ‘मैले पाँच हजार त परिहाल्छ नि सर मात्र के भनेको थिएँ, उहाँले खुरुक्क पाँच हजार दिएर चित्र किन्नु भयो ।’

 

रिडर्स झापाले हरेक दुई वर्षमा काँकडभिट्टामा कला साहित्य उत्सवको आयोजना गर्दैै आएको छ । उत्सवमा काँकडभिट्टाकै देही आर्टले कला क्षेत्रको संयोजनकारी भूमिका निर्वाह गरेको छ ।

यसपटक उत्सवमा ‘पूर्वी नेपालको सुन्दरता’ शीर्षकमा लोक चित्रकलाको प्रदर्शनी र प्रतियोगिता गरिएको छ ।

सांस्कृतिक विविधता भएको पूर्वी नेपालको विभिन्न जाति र समुदायको संस्कृति र परम्परालाई चित्रकलामा समेटिएको हुँदा प्रदर्शनीले दर्शक तानेको देही आर्टका संस्थापक छितेन शेर्पा बताउँछन् ।

कोठाको चेपारामा बसेर कुची खेलाउने कलाकारहरुलाई यो उत्सवले मुलुकभरिका प्रवुद्ध साहित्यकार तथा पत्रकारहरुको दृष्टिमा अगाडि ल्याइदिन सघाउ पुर्याएको उनी बताउँछन् ।

प्रतियोगितात्मक कला प्रदर्शनीमा पोखरा, काठमाडौं, धरान, धनकुटा, विराटनगर र झापाका कलाकारहरुको २५ वटा लोक चित्र राखिएको छ । दर्शकले ती चित्रमा मत दिनका लागि मतपेटिका समेत प्रदर्शनीस्थलमा राखिएको छ ।

बढी मत प्राप्त गर्ने चित्रलाई उत्सवको सोमवार हुने समापनमा पुरस्कार र प्रमाणपत्र प्रदान गरिने भएको छ ।

अमादब्लम हिमाल, कन्याम, पाथिभरा माता, किराती युवती, परम्परागत भाडावर्तन, चण्डी नाच, राजबंशी जातिले प्रयोग गर्ने मखुण्डो आदिका चित्रहरु प्रतियोगितामा सामेल छन् ।

उत्सवमा आइतबार ‘लोक चित्रकला’ विषयमा प्रख्यात कलाकर्मीहरुविच वहस समेत गराइएको छ । वहसमा सहभागी वक्ताहरुले लोक कला कुनै जाति र समुदायको मात्र नभएर राष्ट्रकै सम्पति भएको धारणा व्यक्त गरे ।

विराटनगरका मिथिला लोक चित्रकार एससी सुमनले विश्वभर मिथिला लोक चित्रकलाले नेपाललाई चिनाएको बताए ।लोक चित्रकलालाई हजुरआमा पुस्ताले जोगाएर राखेको र हाल त्यसलाई क्यान्भासमा उतारेर नयाँ पुस्ताले संसारभर चिनाएको उनको भनाई थियो ।

थारु लोक चित्रकलामा अभिरुचि राख्नु हुने सरोजा खड्गीले नेपाली परम्परा र संस्कृतिमा आधारित चित्रकलामा नेपाल धनी भएको उल्लेख गर्दै थारुहरुको ‘खड्की अचहरा’ विश्वमै दुर्लभ भेषभूषा भएको बताए ।

मोफसलमा बसेर दुई दशकदेखि निरन्तर कलाकर्ममा लागिरहनु भएको ललित कला प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य पवन राजबंशीले चित्र किनिदिने बानी नभएसम्म लोक चित्रकला फस्टाउन नसक्ने बताउनु भएको छ ।

उनले परम्परा र संस्कृति लोप हुँदै जाँदा लोककला समेत हराउँदै गएको बताए । उनले कला उत्सव र प्रदर्शनीले कलाकारिता गर्नेहरुलाई हौसला बढाएको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: