लकडाउनमा बसेका बेला मान्छेका मनभित्र थुप्रै नयाँ विचार जन्मिरहेका छन् । त्यही विचारलाई ‘लकडाउन डायरी’को रुपमा प्रकाशित गर्दै जानेछौं । प्रस्तुत छ सूर्योदय टेलिभिजनका प्रोडक्सन डाइरेक्टर दिपेन भेटवालको विचार :-
चाइनाबाट कोरोना भाइरसको सङ्क्रमण सुरु भएदेखि हालसम्म लकडाउनको स्थिति स्वयम् आफ्नै देशले भोगिरहँदा धेरै समाचार र अपडेटहरु सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती छन् । तसर्थ पछिल्लो नयाँ ताजा समाचारसँग यहाँहरु जानकार नै हुनुहुन्छ भन्ने मेरो विश्वास । किनकि अहिले हामी सबै केही फुर्सदिला पनि भएका छाँै र लकडाउनले गर्दा पर्याप्त समय घरमा रहेर नयाँ ताजा समाचार हेरिरहेका हुन्छौँ ।
निश्चय नै अवस्था चिन्ताजनक छ । हाम्रो देश नेपाल मात्र नभई विश्वले नै अहिले अत्यन्तै कठिन र जोखिम परिस्थितिको सामना गरिरहेको छ । कतिपय मुलुक पूर्णरुपमा लकडाउनको स्थितिमा छन भने बाँकी रहेकाले आ–आफ्नै ढङ्गले सावधानी अपनाई मुलुकका अति आवश्यक उद्योग कलकारखाना सञ्चालन गरिरहेका छन् ।
यो महामारीका कारण ज्याला मजदुरी गरेर दुई छाक टार्नेका निम्ति आइपरेको विकराल समस्या र महामारी भोकमरीमा परिणत भइरहेको अवस्था हृदयविदारक छ । अर्कोतर्फ सरकारका साथै जनताले नै प्रदान गरेको राहतले नपुगेको स्थिति वास्तवमै दयनीय छ । यसैबिच हरेक वर्ग, ओहोदा र पदीय जिम्मेवारी सम्हालिरहेका ब्यक्तिले भोगिरहेको आ–आफ्नै किसिमको समस्या दुःखदायी छ । खैर यो त भयो कोरोनाले निम्त्याएको सङ्कट र आइपरेको समस्या । अब लागौँ लकडाउन सन्दर्भ र यस जुराएको अवसरतर्फ ।
सरकारले गत चैत्र ११ गतेदेखि जारी गरेको लकडाउनसँगै धेरैको जनजीवनमा परिवर्तन आएको देखिन्छ । लकडाउनको प्रभाव र नकारात्मक पाटो त एकातिर छँदैछ जुन हामीले दिनहँु मुलधारका सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत जानकारी पाइनैरहेका छौँ र आफैले पनि विषम परिस्थितिको प्रभाव आंकलन गर्न सक्छौँ । यति हुँदाहुँदै पनि अर्को दृष्टिकोण यानि कि अलग पाटोबाट हेर्दा ब्यक्तिगत जीवनमा केही सकारात्मक भूमिका समेत खेलेको छ । जसलाई हामीमध्ये कतिपयले आभाष पनि गरिरहेका हुनसक्छौँ ।
सधैँभरि कामकाजमा ब्यस्त रहने र परिवारलाई सोचेअनुरुप समय दिन नसक्ने धेरै मानिसहरुलाई लकडाउनले एउटा अवसर जुराएको छ । हुन पनि वर्तमान समयमा प्रायःजसो मानिसको दैनिकि ब्यस्त नै हुन्छ चाहे उनीहरुको काम जस्तोसुकै प्रकृतिको किन नहोस्, आफुलाई ब्यस्त राख्न र जीविकोपार्जनका निम्ति आयआर्जन गर्न प्रशस्त समय मानिसले कामका निम्ति छुट्याएका हुन्छन् । तसर्थ परिवार जीवनको एक महत्वपूर्ण पाटो भएकाले ब्यस्त दैनिकी भएका मानिसले पर्याप्त समय दिन चाहेर पनि सकिरहेका हँुदैनन् । यस्तो अवस्थामा लकडाउनले परिवारसँगै बस्न बाध्य बनाइदिएको छ जुन धेरैले चाहेर पनि यसअघि परिवारका सदस्यलाई समय दिन नसकेको बताइरहेका हुन्छन् ।
यससँगै अर्कोतर्फ कोरोना भाइरसका कारण स्यानिटाइजर र मास्कको प्रयोग अनिवार्य भएपछि लकडाउनका सन्दर्भमा घरमा बस्न बाध्य धेरैले ब्यक्तिगत सरसफाईका वावजुद घर, आँगन, नाला आदि वरपरका समग्रस्थल सरसफाइमा जुटेको समेत देखियो । जसकारण कोरोना मात्र नभई स्वतः सबै किसिमको भाइरस लाग्न नदिनका निम्ति सरसफाई सधैँभरिलाई अत्यन्त महत्वपूर्ण कुरा हो । सधैँ ब्यस्त रहने हामीमध्ये धेरैले शायद यसरी सरसफाईमा ध्यान नदिएको पनि हुनसक्छौँ । तर लकडाउनले नै जुराएको यो पाटो अत्यन्तै महत्वपूर्ण छ ।
यसैगरी पारिवारिक समय, सरसफाइसँगै जोडिएको अर्को पाटो हो अतिरिक्त क्रियाकलाप । प्रायःजसो अहिले पनि यो लोग्ने मान्छे र यो स्वास्नी भनी काम कर्तब्यसहित वर्गीकरण गर्ने चलन यथावत छँदैछ । समाज शिक्षित त हँुदै गइरहेको छ तर सभ्य भने अलि भइनसकेको तपाई हामी सहजै अनुमान लगाउन सक्छौँ । तसर्थ खाना बनाउने, घरको सरसफाई लगायतका कार्यहरु अहिले पनि विशेषगरी महिलाले नै अनिवार्य रुपमा गर्नुपर्ने धेरैको बुझाई छ । तर पनि ग्रामीणभन्दा पनि शहरी परिवेशमा भने श्रीमानले नै श्रीमतीलाई गृहस्थ जीवनमा पनि सघाइरहेको देखिन्छ ।
यतिमात्र होइन लकडाउनकै समयमा जीवनमा केही नयाँ गर्न रुचाउने श्रृजनशिल जमातका निम्ति केही नयाँ र श्रृजनशिल कार्य गर्न समय जुरेको छ । दैनिक कामकाज अथवा अध्ययनमा ब्यस्त रहने हँुदा नयाँ सोचका ब्यक्तित्वले समय लगाएर गर्ने नयाँ काम तथा आविस्कारका निम्ति लकडाउन एउटा अवसर बनेको छ । पर्याप्त अध्ययन र सोचका निम्ति समय जुरेकाले श्रृजनशील जमातका निम्ति विज्ञान प्रविधि, सङ्गीत, रचना, होस् या अन्य घरायसी सन्दर्भ सबै विधामा श्रृजनाका निम्ति अवसर बनिदिएको छ लकडाउन ।
यससँगै अर्को रोचक कुरा त के छ भने लकडाउन सन्दर्भ अनि यस भाइरसले सबैलाई एकै किसिमको ब्यवहार गरेकाले सबै मानिस एक हुन् भन्ने सन्देश पनि दिएको छ । चाहे हामी स्वीकारौँ या अस्वीकार गरौँ यथार्थमा लकडाउनले सबैलाई कोठामा बन्द गरिदिएको छ । समग्रमा सबैलाई मौन रहन बाध्य बनाएको छ, कडा स्वरलाई मलिन बनाएको छ, दम्भ र घमण्डलाई पराजित गरेको छ, धैर्यको पाठ सिकाएको छ । भोलिका निम्ति सोच्न बाध्य बनाएको र अन्ततः कोरोना भाइरस र लकडाउनको स्थितिले आफैलाई चिन्ने अवसर प्रदान गरेको छ ।
(लेखक झापाको सूर्योदय टेलिभिजनमा प्रोडक्सन डाइरेक्टर छन् । उनी वृत्तचित्र तथा लघु सिनेमाका निर्माता एवम् निर्देशक पनि हुन् ।)