ल्याइयो शब, रोयो मुलुक

  प्रकाशित मिति
८ असार २०७३, बुधबार १८:४२


afgan 1 afgan 4

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90
afgan 8

झापा, ८ असार । अफगानिस्तानको काबुलमा भएको आत्मघाती आक्रमणमा मृत्यु भएका १२ नेपालीको शव बुधबार अपराह्न काठमाडौँ ल्याइपुर्याउँदा सिङ्गै मुलुक भावविह्वल बन्यो ।

वैदेशिक रोजगारीका लागि अफगानिस्तान पुगेका १२ नेपाली तालिबानको आक्रमणमा मारिएको तीन दिनपछि उनीहरूको शब बाकसमा हालेर स्वदेश ल्याइएको हो ।

क्यानेडियन दूताबासमा सुरक्षागार्डका रुपमा कार्यरत उनीहरू ड्युटीमा जाने क्रममा आतङ्कवादी आक्रमणमा परेका थिए । घटनामा मारिएकाहरूको शव नेपाल सरकारले चार्टर विमान पठाएर नेपाल ल्याएको हो ।

मृतकको शव कफनमा राखिएको थियो भने बाहिर पासपोर्टको फोटोकपी टाँसिएको थियो । कमाउनका लागि विमान चढेर अफगान गएका आफन्तजन बाकसमा कैद बनेर फर्किँदा परिवार र आफन्तले आफूलाई थाम्न सकेनन् ।

कोही बाकसमा टाँसिएको तस्वीर सुमसुम्याइरहेका देखिन्थे भने कोही त्यही बाकसलाई अँगालो हालेर डाँको छोडिरहेका थिए ।
विमानस्थलमा आफन्तको रुवाबासी चलेको थियो । काबुलमा ज्यान गुमाएकाहरूको पत्नी, छोराछोरी तथा आफन्त भावविह्वल थिए । चार महिने छोरा काखमा बोकेकी सञ्चिता लामा पनि पति जितेन्द्रसिंह कार्कीको शव बुझ्न विमानस्थल पुगेकी थिइन् ।

यो शोकको घडीमा विमानस्थलमा प्रधानमन्त्री, परराष्ट्रमन्त्री र गृहमन्त्रीसमेत उपस्थित थिए । मृतकहरूप्रति श्रद्धान्जलि दिन प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान एवम् परराष्ट्रमन्त्री कमल थापा, गृहमन्त्री शक्ति बस्नेत लगायत विमानस्थल पुगेका थिए ।

शब लिन दुधे वालक बोकेरै

चार महिनाको दुधे बालक बोकेर रुपन्देही बुटवलकी सञ्चिता थापा आफ्ना पति जीतेन्द्र सिंह थापाको शव बुझ्न एयरपोर्ट आइपुगेकी थिइन् ।

अर्धचेत अवस्थामा रहेकी उनले आफ्नो दुधे बच्चालाई सम्हाल्न समेत सकेकी थिइनन् ्। उनका आफन्तले बच्चा बोकेका थिए । तीन महिना अघि मात्र छोरो हेर्न जितेन्द्र नेपाल आएका थिए ।

बाह्र दिनमै बाकसमा

प्रशस्त धन कमाउला र आफ्नो परिवारलाई सुखसय बनाउँला, छोराछोरीको पठनपाठन र लालनपालन गरौला भन्ने सुनौलो सपना बोकेर विदेशिएको मात्र ११ दिन पुगेको थियो ।

‘हुने हार दैव नटार’ भनेझै केवल त्यो सपना र त्यो परिवारको खुसी लामो समय टिक्न सकेन पर्वतका एक परिवारमा ।
ज्यान गुमाउनेमा पर्वत कुश्मा–२ स्थायी घर भई परिवारसहित काठमाडौँ बस्दै आएका विदुरबहादुर सुवेदी क्षेत्री पनि छन् ।

गत महिना छुट्टिमा घर आएका सुवेदी क्षेत्री ११ दिन अघिमात्रै २८ जेठको उडानमा काबुल पुगेका थिए । परिवारका चार भाइमध्ये साइला छोरा रहेका उनी नेपाली सेनाबाट अवकाश प्राप्त गरी सेक्युरिटी गार्डमा रोजगारीका लागि अफगानिस्तान पुगेका हुन् ।

दश हजार अझै उतै
अफगानिस्तानमा कति नेपाली छन् भन्ने यकिन तथ्याङ्क सरकारसँग छैन । वैधानिक भन्दा अवैधानिक बाटोबाट अफगानिस्तान जानेहरूको सङ्ख्या ठूलो रहेको अनुमान छ ।

सरकारले आर्थिक वर्ष ०६२÷६३ मा अफगानिस्तानमा निश्चित क्षेत्रको रोजगारीमा जान खुला गरेको थियो । अहिलेसम्म वैधानिक ढङ्गबाट ८ हजार ६ सय १४ जना नेपाली अफगानिस्तान गएको सरकारीको तथ्याङ्कले देखाएको छ ।

जसमध्ये ५ हजार २ सय ९१ व्यक्तिगत श्रम स्वीकृतिमा र ३ हजार ३ सय २३ म्यानपावरमार्फत संस्थागत श्रम स्वीकृतिमा गएका हुन् । यीमध्ये कति नेपाल फर्किए भन्ने जानकारी सरकारसँग छैन ।

तर, अवैधानिक ढङ्गबाट १० हजारभन्दा बढी नेपाली रोजगारीका लागि अफगानिस्तान गएको अनुमान छ ।
विदेशमा वैध र अवैध जुन रुपमा पुगे पनि नागरिकको सुरक्षाका विषयमा सरकार सचेत रहेको श्रम तथा रोजगार मन्त्रालयका सचिव विष्णु लम्साल बताउँछन् ।

आइतबारको भयानक घटनापछि अफगानिस्तानमा कार्यरत थुप्रै नेपालीहरू त्रासमा छन् । नेपालमा रहेका उनीहरूका आफन्त र परिवारजन पनि त्रस्त छन् ।

काबुल घटनापछि मृतकको शव लिन काबुल पुगेको विमानमा २४ जना नेपाली घर फर्कनुले अफगानिस्तानमा रहेका धेरै नेपाली घर फर्किन चाहन्छन् भन्ने सन्देश दिएको छ ।
विमानमा फर्कन चाहनेलाई ल्याउने भन्ने सूचना दिएको छोटो समयमा नै २४ नेपालीले फिर्ता हुने निर्णय गरेको देखिएको छ ।

काबुलबाहेक थुप्रै सहरमा नेपालीहरू सुरक्षा गार्डसहित विभिन्न काममा छन् । ‘आउट डोर’ काम गर्नेहरू धेरै अब अफगानिस्तानबाट बाहिरिने सम्भावना छ ।

सरकारले अफगानिस्तानमा रहेका नोपाली फिर्ता ल्याउन विशेष प्रवन्ध गर्छ कि गर्दैन भन्ने चासो र चिन्ता त्यहाँ रहेका नेपाली र नेपालमा रहेका उनीहरूका आफन्तलाई छ ।
किन भयो नेपालीमाथि आक्रमण ?
अफगानिस्तानको राजधानी काबुलमा तालिवानको आक्रमणमा १२ नेपालीको मृत्यु भएपछि धेरै नेपालीको मन रोएको छ । सम्वन्धित परिवार र आफन्त शोकमा छन् । र, यो आँशु र शोकसँगै सबै नेपालीको मन मस्तिष्कमा प्रश्न उठेको छ, आखिर किन तालिबानीहरूले नेपाली नागरिकमाथि निशाना बनाए ?

नेपालीहरू वैधानिक र अवैधानिक बाटो भएर अफगानिस्तानमा मात्र होइन, इराक, सिरिया जस्ता द्वन्द्वग्रस्त देशमा काम गर्न पुगेका छन् । काबुलमा मारिएका नेपालीहरू राम्रो तलबको लोभमा ज्यान नै जोखिममा हालेर त्यहाँँ पुगेका हुन् ।

नेपालीहरूले अफगानिस्तानमा सुरक्षागार्डका रुपमा काम गर्न थालेको भर्खर पनि होइन । बर्षौंसम्म सुरक्षित रहेका नेपालीमाथि आखिर तालिवानले किन आक्रमण गर्यो त ? शायद सरकारले अब यो प्रश्नको जवाफ खोज्ला ।

अफगानिस्तानमा क्यानेडियन मात्र होइन, बेलायती, अमेरिकी दूताबासको सुरक्षामा समेत नेपालीहरू खटिएका छन् । सेक्युरिटी कम्पनीहरूले नेपाली भूपू सैनिक तथा गैरसैनिक युवालाई त्यहाँ लगेका छन् ।

झण्डै १ लाख रुपैयाँ मासिक तलब हुने भएपछि नेपाली युवा ज्यान हत्केलामा राखेर आफगानिस्तान पुगेका हुन् । तर, सोमबार १४ नेपालीको ज्यान जाने गरी तालिबानले आत्मघाती आक्रमण गरेपछि अफगानिस्तानको गन्तव्यमाथि नेपालीहरू निराश बनेका छन् ।

तालिबानले आक्रमण आफ्नै उद्देश्यका लागि गर्यो होला । तर, क्यानेडियन दूतावासले नेपालीहरूको सुरक्षामा निकै असावधानी अपनाएको पाइएको छ । बेलायती कम्पनीले नेपालीलाई दूताबासको सुरक्षामा खटाएको थियो । तर, कम्पनीले उनीहरूको सुरक्षामा उचित बन्दोबस्त गरेको देखिएन ।

दूताबासको सुरक्षार्थ खटिएका एक नेपालीले बताए अनुसार उनीहरूलाई सुरुदेखि नै बासस्थानबाट दुताबाससम्म ल्याउन लैजान समान्य बसको प्रयोग गरिँदै आएको थियो । जबकि राम्रा कम्पनीहरूले बुलेट प्रुफ गाडी प्रयोग गर्ने गरेका छन् । सडकमा हिँड्दा स्कटिङ र सुरक्षा चेकजाँच गर्ने गर्नुपर्ने व्यवस्था छ । तर, जो मारिए, उनीहरूका हकमा कम्पनीले कहिल्यै त्यसो गरेन ।

दूताबासमा खटिँदा आधुनिक हतियार बोक्ने गरे पनि बाहिर निस्केपछि उनीहरू सर्वसाधारणजस्तै खाती हात हुन्थे । त्यसैले बसमा हिँडेका नेपालीहरूमाथि निशाना बनाउन तालिवानीलाई सहज भयो ।

अमेरिकी फिर्तापछि तालिबान फेरि हिंसात्मक विद्रोहको बाटोमा गयो । र, अहिलेसम्म त्यहाँ गृहयुद्ध चलिरहेको छ । अमेरिकी सेनाको नेतृत्वमा नेटो फौजले झण्डै डेढ दशक तालिबानसँग युद्ध लड्यो ।

यो युद्धमा कहीँ न कहीँ नेपाल जोडियो । नेपाली सेना प्रत्यक्षरुपमा लड्न त गएन । तर, बेलायती सेनामा रहेका गोर्खा सैनिकहरू तालिबानविरुद्ध लड्न गए । नेपाली सेनाले तालिबानलाई मारेका वीरताका धेरै कथाहरू प्रकाशित भए ।

यसले कहीँ न कहीँ तालिबानलाई उत्तेजित बनायो । अहिले पनि तालिबानको प्रमुख शत्रु पश्चिमाहरू नै हुन्, जसलाई उसले आक्रमणको निशाना बनाउँदै आएको छ । तर, नेपालीहरू कहीँ ब्रिटिस गोर्खा सैनिकका रुपमा त कहीँ सुरक्षागार्डका रुपमा पश्चिमाहरूको सहयोगीका रुपमा देखिए । र, आक्रमणको निशानामा परे ।

नेपाली सेनाका पूर्वउपरथी केशरबहादुर भण्डारीले भन्छन्, ‘तालिबानले पश्चिमाहरूलाई दुश्मन मान्छ । र, पश्चिमाहरूलाई सहयोग गरेकाले हामीलाई पनि दुश्मनै मानेको हुनुपर्छ ।’

तालिबानीहरू र नेपालीवीच खासै त्यस्तो कुनै कनेक्सन देखिँदैन । तर, यसका केही बाछिटाहरू चाँहि देखिने गरेका छन् । सन् १९९९ डिसेम्बरमा काठमाडौँबाट अपहरणमा परेको इण्डियन एयरलाइन्सको विमान अफगानिस्तानको कान्दाहार पुर्याइएको थियो । र, घण्टौँको वार्तामा भएको समझदारीअनुसार भारतीय जेलमा रहेका मौलाना मोसुद अजरलाई बुझाइएको थियो । उक्त विमान कान्दहारपछि दुबई लगेर छाडियो । तर, ती अपहरणकारीहरूलाई अफगान सरकारले आश्रय दिएको मानिन्छ । सम्भवतः यही घटनाले सम्भवतः तालिबानलाई नेपाल र नेपाली चिनायो ।

काबुल आक्रमणलाई लिएर तालिवानले उसले कोही अछुतो छैन भन्ने सन्देश दिएको छ । तालिवानले नेपालीहरूलाई निशाना बनायो भन्ने निष्कर्षमा पुगिहाल्न हतार होला । तर, यो गम्भीर प्रश्न हो । यसबारे सरकार गम्भीर हुनुपर्ने सुरक्षाविदहरू बताउँछन् ।

यदि तालिबानले नेपालीलाई नै निशाना बनाएको हो भने सरकार बेलैमा सचेत हुनुपर्छ । किनकि अफगानिस्तानमा धेरै नेपाली छन्, जो सुरक्षा गार्ड वा अमेरिकी सैन्य क्याम्पमा काम गर्छन् ।

सैन्यविद डा. इन्द्रजित राई नेपालीलाई निशाना बनाएको भए अवस्था गम्भीर हुन सक्ने बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: