मेचीनगर । मेचीनगर–८ मा बन्न लागेको सेनेटरी ल्याण्ड फिल्ड साइडको जग्गामा स्थानीयले विरोध गरेका छन् ।
मेचीनगर नगरपालिकाले करिव १३ करोड लगानीमा बनाउन लागेको ल्याण्ड फिल्ड साइडको जग्गामा स्थानीयले अवरोध गरेका हुन् ।
मेचीनगर–३ र ५ को वडा नजिकै ८ नम्बर वडामा बन्न लागेको उक्त जग्गामा फोहोरको र्दुगन्ध फैलिन सक्ने भन्दै त्यहाँका वडाबासीले विरोध जनाएका छन्।
ल्याण्ड फिल्ड साइड बनाउन नदिने पक्षमा मेचीनगर–३ का स्थानीय समाजसेवी ऐनु भट्टराईको संयोकत्वमा संघर्ष समिति समेत गठन गरिसकेको छ ।
बुधबार मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य, उपप्रमुख मिना पोखरेल उप्रेती लगायतका जनप्रतिनिधि र संघर्ष समितिका संयोजक भट्टराई लगायत पदाधिकारीहरुवीच छलफल समेत भएको थियो ।
छलफलमा उक्त जग्गामा नगरपालिकाले जसरी पनि बनाउने र स्थानीयले कुनैपनि हालतमा बनाउन नदिने भएपछि सहमति हुन नसकेको संयोजक भट्टराईले बताए ।
उपप्रमुख उप्रेतीका अनुसार चालु आर्थिक वर्षको उक्त जग्गामा ल्याण्ड फिल्ड साइड बनाउन ३ करोड रुपैयाँ आएको छ । योवर्ष बनाउन सकिएन भने उक्त रकम फ्रिज भएर जाने उनले बताइन् ।
त्यहाँका वडाबासीसँग सहमति हुने उनको भनाई छ ।
छलफलमा संघर्ष समितिका तर्फबाट तीन वटै वडाका स्थानीय समाजसेवीहरु केदार गिरी, नारायण गिरी, पवन मेचे, महेन्द्र लावती, अग्निमाया मेचे, नरेश लावती, पदम पौडेल, विष्णु गिरी, दिलिप आङदेम्वे, प्रविण धिमाल, नन्दकुमार भारती लगायतको सहभागिता थियो ।