ल्याप्चे लेखक र परस्त पत्रकार

  प्रकाशित मिति
२२ माघ २०७३, शनिबार १७:३३


gn
‘म जतिसुकै स्वतन्त्र भएर लेख्छ, भन्छु तर कता कता एउटा विचार र सिद्धान्तको पक्षधर जस्तो हुन्छु, मेरा कथा र कविताका पात्रहरुलाई म स्वतन्त्र छोड्न खोज्छु, कता कता तिनीहरु एउटा विचारको भरिया बन्न पुग्छन् ।’ ‘म आफुलाई निश्पक्ष र व्यवसायिक पत्रकार हुँ भन्छु तर समाचार लेख्तै जाँदा कतिपय ठाउँमा म आफूलाई आफैले हेर्दा राजनीतिक दलको मुखपत्रको कारिन्दा जस्तै पाउँछु ।’
यी माथिका दुईवटा छोटकरी कथन मेरा एकजना लेखक र पत्रकार दौतरीका हुन् । मलाई पनि त्यस्तो लाग्छ मान्छे कोही पनि विधार शुन्य त हुँदैन । अक्कल र विकेकको तलमाथि हुन सक्छ । अझ त्यसमाथि लेखक र पत्रकार त विचार शुन्य भन्ने त कल्पना गर्दा पनि ऐठन हुन्छ । सिङ्गो समाजकै सम्वाहक मानिने लेखक–पत्रकारलाई समुक्ष समाजले नै बुद्धि भएका मान्छे भन्ने गर्छ ।

माथिकै विषयलाई पोयो लाउँदै जाँदा अहिले लेखक र पत्रकारको हालत हविगत कस्तो छ भन्ने सत्य कैरनकै उदघाटन गर्न खोजिएको हो । समाजिक हिसाबले अब्बल मानिने यो वर्ग र पेशा फट्टिक सेतो नै हुनुपर्छ भन्ने मेरो जिकिर होइन । तर कुनै न कुनै रुपमा उनीहरु पनि कुनै वाद र पक्षको हिसाबले प्रभावित हुदैनन्, हुन सक्तैनन् र हुनुहुँदैन भन्ने पनि होइन । अझ उनीहरुले सिङ्गो समाज मात्रै होइन त्यसका केस्रा केस्रालाई नजिकबाट नियालेर पर्गेलेका हुन्छन् तब त एउटा लेखकले आफ्नो सृजनामा समाज बोल्न सक्छ । उता पत्रकारले त्यही समाजको सूचना त्यही समाजमा पस्किरहेको हुन्छ ।

झट्ट सुन्दा मात्र होइन गहनाका हिसाबले पनि लेखकीय क्षेत्र र पत्रकारिता जगत समाज, राष्ट्र र दुनियाँ डोहो¥याउने एउटा नेतृत्व पक्ष पनि हो । नेपाली समाजकै कुरा उक्काउँदा बहुदलीय व्यवस्थाको स्थापना यताका वर्ष नेपाली सञ्चार र स्रष्टाको हर्षलायक यात्रा बनेको छ । अझ लोकतन्त्रको स्थापना पछि त यी दुवै क्षेत्रमा राम्रै सुब्बेफाप्पे भयो अर्थात प्रकाशन र प्रसारणको क्षेत्रले छलाङ नै मा¥यो भन्नुपर्छ । लेखक र पत्रकारहरुका आ–आफ्नै सङ्घ सङ्गठनहरु खुले । तर, सत्य ओकलेर भन्नुपर्दा हामीले आफ्नो पेशाको हक, अधिकारको क्षेत्रमा यसको गुणात्मक विकासमा भन्दा पार्टी कारिन्दाको रुपमा परिणत हुँदै गएको कुरा कसैलाई पचे नपचे पनि ड्याउ गरेरै भए पनि पचाउनु नै पर्छ ।

हामीले सबैले दलको कमाण्डलु बोक्यो, दलकै डम्फुमा नाच्यौं र दलकै तालमा हास्यौं अर्थात विवेकलाई बन्दक बनायौं । बुझे पनि नबुझे पनि दलका, दलका पनि नेताका बफदार झोले कुम्ले बनेर दलले खोलिएका लेखक–पत्रकारका सङ्गठनका कार्यकर्ता र नेता बन्ने आतुरमा विवेकशुन्य र विचारविहीनहरुका सामु नतमस्तक बन्न पुग्यौं । कुनै दल वा सङ्गठनको सदस्यता नभिरेको मान्छेलाई मान्ने भन्न पनि आनाकानी ग¥यौं, क्षमता, पेशागत इमान्दारिता र पेशाको आत्मसम्मान गर्नेलाई भन्दा नेताका सामु निगुरमुन्टी गरेर आर्शिवाद माग्ने होडमा चल्यौं र अन्त्यमा मनभरी गुम्सिएका अभिव्यक्ति भएर पनि पार्टी र नेताको कथित भयमा ल्यापप्चे लेखक र परस्त पत्रकारिताको साँघुरो घेरामा गुडुल्की परेर आत्मरतिमा बाँच्न अभ्यस्त भयौं ।

अहिले कै प्रसङ्गको चर्चा गर्ने हो भने पनि पार्टी, पार्टीका पनि गुट निकट लेखक र पत्रकारको मण्डली छ भन्दा लजाउनु पर्दैन । जुन लेखक र पत्रकार पार्टी सदस्य छैन त्यो कलियुगमा लेखक र पत्रकारको नेतृत्व गर्ने दलविहीन प्रतिनिधिहरुको स्वतन्त्र सङ्गठन छ भने त्यहाँ पुग्नै सक्दैन । अहिले देशभर पत्रकारहरुको चुनावी माहौल र चटारो छ ।

झापा जिल्लाकै हकमा पनि सुने अनुसुार फागुन ७ गते महासङ्घ झापा, शाखाको निर्वाचन हुँदैछ । यो सत्य हो नेपाल पत्रकार महासङ्घ भनेको आम पत्रकारको स्वतन्त्र र साझा पेशागत संस्था हो । तर, यसको नेतृत्व गर्न जानेपनि पार्टी कै स्थानीयदेखि केन्द्रीय हाईकमाण्डकै पात्र र प्रतिनिधि हुन्छन् । पत्रकारहरुको सर्वपक्षीय विकासका लागि कुनै न कुनै दल निकट प्रतिनिधि हुन्छ नै, पत्रकार पनि सिद्धान्त र विचार बाहेकको प्राणी होइन । तर, सत्य त त्यो हुनुपर्ने हो ऊ पत्रकारिता गर्छ कि पत्रकारिताको खास्टो ओडेर राजनीतिक वा अरु केही गर्छ, ऊ पत्रकारिता पेशाले बाँचेको छ या पेशाको चन्दने टिको मात्र लाएर अरु केही गरेको बाँचेको छ, ऊ आफूलाई पत्रकारहरुको नेता बनाउन चाहन्छ तर ऊ स्वयम् नै पत्रकारिता गर्ने हो कि होइन यी र यस्ता पक्षहरुलाई अब हामीले केलाउनुपर्छ । तर, अन्तिममा हुने भनेको त्यही हो जो पार्टीले भन्छ, जो आफु परस्त छ, ऊ पत्रकार होस् कि नहोस्, उसले पत्रकारिता गरोस् कि नगरोस् पार्टी र पार्टीका नेता अझ गुटको रामभक्त भए पुग्छ । ठूलादेखि साना पार्टी र अब त जातिका पनि पत्रकारहरुका आफ्नै सङ्गठन बनेका छन् ।

जनीतिक दलका जनजर्गीय सङ्गठनको रुपमा जन्मिएका पत्रकार सङ्गठनका प्रतिनिधि आम व्यवसायिक पत्रकारहरुका साझा नेता बन्छन् या गुटका भुरे कार्यकर्ता । तर, अब यो थामेर थामिसक्ने अवस्थामा छैन । व्यवसायिक पत्रकारिताको जतिसुकै बखान गरे पनि दलका प्रतिनिधिहरुले महासङ्घ कब्जा गरिसकेका छन् भन्ने तथ्य पालो मिलाएर महासङ्घमा नेतृत्व गर्ने, अलोकतान्त्रिक चरित्र र निषेधको पद्दतिको विकासले उजागर गरेको छ ।

यतिसम्म कि फलानो र ढिस्कानोको सदस्य सङ्ख्याको आधारमा नेतृत्व गर्ने, यसपटक फलानो सङ्गठनले सभापति खाने, अर्काेपाली अर्काे सङ्गठनलाई दिने मानौं कि सरकार सञ्चालनमा देखिएको अलोकतान्त्रिक पालोपालोको सेण्डिकेट प्रथाको हुबहु कुरुप नक्कल जो जनतालाई जागा बनाउने भन्ने पत्रकारहरुको संस्थामा हुनु, देख्न, सुन्न र भोग्न कति लायक छ ?

पत्रकारहरुमा मात्र होइन चेतनाको विगुल फुक्ने भन्ने लेखकहरुको हालत पनि यो भन्दा लायक छैन । कुरा स्वतन्त्र लेखनीको भए पनि अवस्था ल्याप्चे नै छ । म निस्पक्ष हँु भनेर जसले भन्छ, म स्तवन्त्र लेख्छु भनेर जसले भन ेपनि उसको भनाई र लेखाईले एउटा न एउटा पक्ष त लिन्छ नै तर चुरो कुरो चाहिँ के हो भने ऊ कुने दल या व्यक्ति विशेषको लम्पटवादमा त्वम्शरणम गर्ने हो या त्यो भन्दा बढी समाज, राष्ट्र र जनतामा समर्पित छ भन्ने हो ।

ऊ पार्टी, गुटका व्यक्तिको निजी पूजारी हो या समाजका खातिर समाज पक्षधर हो भन्ने हो । फेरि पनि आफू सम्बद्ध सम्मानित संस्था नेपाल पत्रकार महासङ्घ झापा शाखाको यसपटककको नेतृत्व व्यवसायिक र पेशागत अधिकारका लागि पत्रकारिता नै गरेर मान र नाम पाएका पत्रकारिता नै गर्ने, यसैमा समर्पित रहने दृढ सङ्कल्पित थोरै पार्टी धेरै पत्रकारिता गर्नेहरु कै पक्षमा रहोस् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: