मेचीनगर वडा नं. ६ र १० का दावेदार

  प्रकाशित मिति
२२ चैत्र २०७३, मंगलवार ०९:५७


सिंहदरवारको अधिकार गाउँसम्म पुर्याउने गरी अठार बर्ष पछि हुन लागेको स्थानीय तहको चुनावको चहलपहल हरेक मतदाताको आँगनसम्म आइपुगेको छ । बैशाख १६ गते उम्मेदवारहरुको मनोनयन हुने र बैशाख ३१ गते मतदान हुने गरी निर्वाचन आयोगले चुनावी कार्यतालिका पहिल्यै सार्वजनिक गरिसकेको हुँदा यतिबेला सिङ्गो मुलुक चुनावी उत्सवमा होमिइसकेको छ ।

चुनावी उत्सवको यो माहोलबाट १ लाख ११ हजार ७ सय ९७ जनसङ्ख्या भएको सुदूरपूर्वको मेचीनगर नगरपालिका अछुतो रहने कुरै भएन । राजनीतिक दलहरुले टोल टोलसम्म कार्यकर्ताको भेला र बैठकलाई एक चरणमा सकेका छन् भने अब सम्भावित उम्मेदवारहरुको नाम धमाधम चयनको प्रक्रियामा छ । यतिबेला सामाजिक सञ्जाल र चिया गफमा समेत उम्मेद्वारहरुकै चर्चा हुने गरेको छ ।
चुनावमा कसले जित्ला र कसको जनाधार कति छ भन्नेतिर भन्दा पनि यतिबेला कस्ता अनुहारहरु भोट माग्दै आउलान् भन्नेतिर आम नगरवासीको बढी चासो छ । लामो अवधिपछि र राज्यको नयाँ पुनर्सँरचना बमोजिम अधिकारसम्पन्न स्थानीय सरकारकै स्वरुपमा हुन लागेको चुनावमार्फत नगर सत्ताको नेतृत्व लिन दल तथा नेताहरुको दौडधुप स्वाभाविकै लाग्छ ।

यही सन्दर्भमा लोकतन्त्र पोस्ट र रेडियो सरगमले संयुक्त रुपमा मेचीनगरको प्रारम्भिक चुनावी सरगर्मीलाई नजिकबाट नियालेर मेयर र डेपुटी मेयरका सम्भावित उम्मेदवारहरुको सर्वेक्षणमा आधारित विवरण यसअघि (चैत्र ८ गतेको अङ्कमा) प्राथमिकतासाथ प्रकाशन एवम् प्रसारण गरिसकेका छन् । जसलाई पत्रिका र रेडियोसहित दुबै मिडियाका अनलाइनमार्फत समेत एक साथ प्रस्तुत गरिएको विज्ञ पाठक वर्गलाई विदितै छ ।

यही सन्दर्भमा लोकतन्त्र पोस्ट र रेडियो सरगमले मेचीनगरको वडा नं. ६ (काँकरभिट्टा क्षेत्र) र वडा नं. १० (धुलावारी क्षेत्र)को वडाध्यक्ष पदका सम्भावित उम्मेद्वारहरुको सर्वेक्षण सम्पन्न गरेको छ । जसलाई पहिलेझैँ पत्रिका, रेडियो र अनलाइनमार्फत एकसाथ प्रकाशन र प्रसारण गर्दैछौँ ।

सम्भावित उम्मेदवारहरुको चर्चा सामाजिक सञ्जाल, चिया गफ र अनौपचारिक छलफलहरुमा भइरहेका छन् । हामीले तिनै चर्चाहरुलाई यस रिपोर्टमा थपक्कै ‘कपी पेस्ट’ गरेका होइनौँ । कतिपय आकांक्षीहरुले पत्रकारलाई प्रभावमा पारेर आफ्नो नाम पनि समावेश गरिदिन जोडबल गरिरहेका हुन्छन् । हामीले त्यस्तो अनुचित प्रभावलाई प्रतिबेदनको आधार बनाएका छैनौँ । लोकतन्त्र पोस्टका सम्पादक मोहन काजी र रेडियो सरगमका प्रबन्ध निर्देशक ज्ञानेन्द्र निरौलाको नेतृत्वमा लगातार केही दिन स्थलगत अध्ययन र खोज गरेर मेचीनगर ६ र १० को वडाध्यक्ष पदको सम्भावित उम्मेदवारहरुको नाम सङ्कलन गरिएको स्पष्ट पार्न चाहन्छौँ ।

सर्वेक्षण टोलीले विभिन्न राजनीतिक दलका नगरस्तरीय नेता, क्रियाशील कार्यकर्ता, बुद्धिजीवी, स्वतन्त्र विश्लेषक, आदिवासी जनजाति अगुवा, महिला नेतृ र सर्वसाधारणसँग सम्भावित उम्मेदवारहरुको बारेमा प्रत्यक्ष अन्तक्र्रिया गरेको छ । भेटघाटमा संलग्न अधिकांश महानुभावहरुले आफ्नो नाम सार्वजनिक नगरिदिन आग्रह गरेको हुँदा यस रिपोर्टमा उनीहरुलाई ‘कोट’ गरिएको छैन ।
हामीले हरेक वडाका सय जनाभन्दा बढीलाई अध्ययन क्रममा भेटघाट गरेका छौँ । जसमा राजनीतिक तहका नेता तथा कार्यकर्ताको सङ्ख्या आधाभन्दा बढी नै थियो । हरेकलाई हाम्रो एउटै प्रश्न थियो–‘हरेक दलबाट वडा अध्यक्ष पदमा उम्मेदवार बन्न सक्ने ३÷३ जनाको नाम के होला ?’

चुनावमा दल वा स्वतन्त्र माध्यमबाट उम्मेदवारी दिन पाइन्छ । झापामा ३१ दल दर्ता छन् र मेचीनगरमा एक दर्जनभन्दा ज्याद दल कुनै न कुनै रुपमा क्रियाशील छन् । तर हामीलाई नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेकपा माओबादी केन्द्र र नयाँ शक्ति पार्टीको तर्फबाट उम्मेदवार बन्न सक्नेहरुको नाम मात्र सर्वेक्षणका सहभागीहरुले बताउन सके । जसका कारण अरु दलहरुको सम्भावित उम्मेदवारहरुलाई यस रिपोर्टमा समावेश गर्न असमर्थ भयौँ । सर्वेक्षणका कतिपय सीमा हुन्छन्, यी ४ दल वाहेक अन्यको चर्चा गर्न नसकिएकोमा हामी क्षमाप्रार्थी छौँ ।

हाम्रो विश्वास के छ भने हामीले सर्वेक्षणका क्रममा पाएको र त्यसलाई सूचीकृत गरिएको पहिलो, दोस्रो र तेस्रो नाम बाहिरबाट उम्मेद्वारहरु छनोट हुन वा नहुन पनि सक्छन् । जस्तो कि हालै मात्र राप्रपाले मेचीनगरको मेयरमा अशोक सुब्बा र डेपुटी मेयरमा सविना बजगाइँलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । यो निर्णय हामीले चैत्र ८ गते सार्वजनिक गरेको पहिलो सर्वेक्षणसँग ठ्याक्कै मिलेको छ । यसलाई संयोग मात्र भन्दा पनि सर्वेक्षणको सफलताको रुपमा आम पाठकले विश्वास गर्नुले हामी उत्साहित अवश्य भएका छौँ ।

उम्मेदवार तोकिदिने काम मिडियाको होइन भन्ने हामीले बुझेका छौँ । तर, लोकतन्त्रको आधारभूत तहसम्म अभ्यास गर्ने सबैभन्दा ठूलो अवसर स्थानीय चुनाव नै भएकाले आम मतदातामा जागरुकता सिर्जना गर्ने दायित्वको निर्वाह गर्ने हाम्रो यो निरन्तरको प्रयासलाई आत्मसात गरिने अपेक्षा गरेका छौँ ।

र्वेक्षणको यो समाचारलाई उम्मेदवारको घोषणाको रुपमा नबुझिदिनु हुन हामी सरोकारवाला सबै पक्षलाई पुनः विनम्र निवेदन गर्दछौँ । हामी आम पाठक एवम् वौद्धिक जगतबाट स्वस्थ टिप्पणी, रचनात्मक आलोचना र सुझाव प्राप्त हुने अपेक्षा गर्दछौँ ।

वडा नं. ६ मा मुख्य दलका आकांक्षी धेरै

1
पन्ध्र वडामा विभाजित मेचीनगर नगरपालिकामा जनसङ्ख्या, राजनीतिक नेतृत्व, सामाजिक गतिशिलता, व्यापार व्यवसाय जस्ता कारणबाट साविकको मेचीनगर–१० अर्थात हाल मेचीनगर–६ (काँकरभिट्टा क्षेत्र)को खास महत्व छ । शक्ति आर्जन गर्ने कुरामा राजनीतिक दलहरुले यस वडाको अध्यक्ष पदलाई प्रतिष्ठाको रुपमा लिएको देखिन्छ । हामीले सर्वेक्षण गर्दा यहाँ धेरै आकांक्षी भेटिए पनि मुख्य तीन दावेदारहरुलाई क्रमागत रुपमा र अन्य दललाई समग्रतामा नाम सार्वजनिक गरिएको छ ।

काङ्ग्रेसको पहिलो नम्बरमा ललित
वडा नं. ६ (काँकरभिट्टा क्षेत्र)मा नेपाली काङ्ग्रेसबाट वडाध्यक्षको आकांक्षी धेरै देखिए पनि टिकट पाउने दौडमा ललित तामाङ पहिलो नम्बरमा देखिएका छन् ।
होटल व्यवसायी सङ्घका क्षेत्रीय अध्यक्ष तथा मेची उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष समेत रहेका तामाङले काङ्ग्रेस भित्र शालिन र भद्र व्यक्तित्वका रुपमा पहिचान बनाएका छन् । उनी पार्टी भित्रका आकांक्षीमध्ये टिकट पाउने दौडमा पहिलो नम्बरमा रहेको सर्वेक्षणमा देखिएको छ ।

त्यसैगरी महिला नेतृ डम्बरकुमारी थापामगर वडा अध्यक्षको दौडमा दोस्रो नम्बर रहेको सर्वेक्षणले देखाएको छ । काङ्ग्रेस जिल्ला सदस्य तथा महिला सङ्घ मेचीनगरको पूर्व सभापति समेत रहेकी थापा महिलालाई वडा अध्यक्षमा उमेद्वार बनाउने चर्चा चलिरहेका मध्ये अग्रपङ्तिमा छिन् ।

काङ्ग्रेस १ नम्बर क्षेत्रीय समितिका उपसभापति हर्क फ्याक वडा नं. ६ को वडा अध्यक्षको टिकट पाउने सम्भावित मध्ये तेस्रो नम्बरमा रहेका छन् ।

जनजातिहरुको उल्लेखनीय सङ्ख्या रहेको र पार्टीभित्र गतिलो पकड भएका कारण उनी प्रभावशाली मानिन्छन् ।

यी तीन जना बाहेक पनि काङ्ग्रेसभित्र यस वडाको अध्यक्षको आकांक्षीहरु सर्वेक्षणका क्रममा देखिएका छन् । जसमा युवा नेता वालाजित राई, ईन्द्र खरेल, लक्ष्मण बस्नेत, मोहन निरौला, गोपाल शिवाकोटी र हस्त आङदम्बे वडा अध्यक्षको दौडको दाबेदार रहेको सर्वेक्षणले देखाएको छ ।

एमालेमा राजु अगाडि
नेकपा एमाले मेचीनगरका अध्यक्ष खेमराज पोखरेल (राजु) वडा नं. ६ को अध्यक्षको टिकट पाउने दौडमा अगाडि देखिएका छन् ।
पोखरेल पार्टी भित्रबाट टिकट पाउनेमध्ये सबैभन्दा बलियो रहेको सर्वेक्षणले देखाएको हो ।

प्रभावशाली युवा नेता राजु कार्की वडा अध्यक्षको टिकट पाउन सक्ने दौडमा दोस्रो नम्बरमा देखिएका छन् । युवा सङ्घका केन्द्रीय सचिवालय सदस्य समेत रहेका कार्की सर्वेक्षण अनुसार दोस्रो नम्बरमा छन् ।

वडा नं. ६ को अध्यक्षको टिकटको दौडमा एमाले जिल्ला नेता देवकुमार राई तेस्रो नम्वरमा देखिएका छन् । एमाले मेचीनगरका ईन्चार्ज समेत रहेका राई वडा अध्यक्षको उम्मेद्वार बन्ने दौडमा तेस्रो नम्बरमा रहेको हाम्रो सर्वेक्षणले देखाएको छ ।

एमाले भित्र वडा अध्यक्षको दौडमा अन्य थुप्रै आकांक्षी रहेको सर्वेक्षणले देखाएको छ । जसमा सहकारी अभियन्ता लक्ष्मीप्रसाद उप्रेती, युवा नेता राम ओली, मजदुर नेता राजकुमार श्रेष्ठ, ठाकुर प्रसाद शिवाकोटी, बालकृष्ण थापा र गोबिन्द गिरी एमाले भित्र वडा अध्यक्षका दाबेदार रहेको सर्वेक्षणले देखाएको छ ।

माओबादीमा ज्ञानेन्द्रको  पल्ला भारी
मेचीनगर वडा नं. ६ को अध्यक्षको उम्मेद्वार बन्ने दौडमा नेकपा माओबादी केन्द्रका ज्ञानेन्द्र घिमिरे पार्टीभित्र सबैभन्दा बलिया देखिएका छन् ।
वडाको माओबादी केन्द्रको अध्यक्ष समेत रहेका घिमिरे पार्टी भित्रबाट वडा अध्यक्षको टिकट पाउने दौडमा पहिलो नम्बरमा रहेको सर्वेक्षणले देखाएको छ ।
त्यस्तै, सञ्चार उद्यमी राजु दाहाल वडा अध्यक्षको दौडमा दोस्रो नम्बरमा देखिएका छन् । उनी काँकरभिट्टाबाट प्रसारित सीमाना एफएमका प्रबन्ध निर्देशक एवम् महेन्द्रद्वार सहकारीका अध्यक्ष समेत रहेका छन् ।
दाहाललाई सर्वेक्षणले वडा अध्यक्षको टिकट पाउनेमा दोस्रो नम्बरमा देखाएको छ ।

वडा अध्यक्षको दौडमा माओबादीका युवा नेता बिकास थापा तेस्रो नम्बरमा रहेको सर्वेक्षणले देखाएको छ । माओबादी केन्द्रमा रुपनारायण भट्टराई, भुपाल ओली, हरि निरौला र राजु पौडेलको नाम वडा अध्यक्षको दाबेदारको रुपमा रहेको सर्वेक्षणमा देखिएको छ ।

नयाँ शक्तिमा छैन होडबाजी
रोजेको चुनाव चिन्ह पाउन सङ्घर्षरत रहको नयाँ शक्ति पार्टी नेपालको तर्फबाट मेचीनगर वडा नं. ६ को वडा अध्यक्षको दावेदारमा चर्चित लेखक एसपी लुईटेल र बीरबहादुर श्रेष्ठको नाम सर्वेक्षणले देखाएको छ ।
लुईटेल पार्टीका बुद्धिजीवी फाँटका जिल्ला संयोजक हुन् भने श्रेष्ठ नयाँ शक्तिका केन्द्रीय सदस्य हुन् ।

जनजाति र मजदुर निर्णायक
नेपालको पैर्वी प्रवेशद्वारका रुपमा रहेको र मुलुकका बिभिन्न क्षेत्रमा जाने यातायातको मुख्य केन्द्र समेत रहेकाले पनि मेचीनगर ६ को सामरिक महत्व छ ।
चुनावी सरगर्मी बढ्दै गर्दा यहाँ रहेको यातायात मजदुरको सङ्ख्या पनि निर्वाचनका लागि निर्णायक मत मानिएको छ । सबै मुख्य दलका भ्रातृ सङ्गठन रहेका मजदुर सङ्गठनमा मात्र एक हजार हाराहारी मतदाता रहेका छन् ।
यसैगरी, यस वडामा जनजाति समुदायको मात्र करीब ३० प्रतिशत मत रहेको सर्वेक्षणले देखाएको छ । यस्तो अवस्थामा चुनाव जित्न राजनीतिक दलहरुले जनजाति र मजदुर समुदायलाई फकाउने रणनीति अख्तियार गर्नु पर्ने देखिन्छ ।
वडा नं. १० मा  युवाको दावेदारी बलियो

2
साविकको मेचीनगर वडा नं. १, २ र ३ समायोजन भई बनेको मेचीनगर–१० धुलावारी क्षेत्र जनसङ्ख्याका हिसावले नगरको दोस्रो ठुलो वडा हो । जनसङ्ख्या सहित दलका नेतृत्वको उपस्थिति र व्यावसायिक गतिविधि तथा नयाँ संरचनामा नगरको भौगोलिक केन्द्रको रुपमा रहेकाले पनि वडा नं. १० मेचीनगरको अर्को महत्व राख्ने वडाका रुपमा चिनिन्छ ।

काङ्ग्रेसमा पनेरु अगाडि
नेपाली काङ्ग्रेसबाट वडा नं. १० का लागि अध्यक्षको टिकट पाउने दौडमा युवा नेता सुवेसकुमार पनेरु (सुदय) अन्य आकांक्षी भन्दा अगाडि रहेको सर्वेक्षणले देखाएको छ ।

काङ्ग्रेस जिल्ला सदस्य समेत रहेका परोपकार सेवामा सक्रिय पनेरु वडामा युवा पुस्तामाझ लोकप्रिय छन् । काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि टेकबहादुर लिम्बू (भरत) वडा अध्यक्षको टिकट पाउने दौडमा दोस्रो नम्बरमा देखिएका छन् । पूर्व जनप्रतिनिधि समेत रहेका लिम्बू वडा अध्यक्षको टिकट पाउनेमा दोस्रो नम्बरमा रहेको सर्वेक्षणले देखाएको छ । त्यस्तै, वडा नं. १० मा वडा अध्यक्षको आकांक्षी रहेका बद्री खड्का पार्टीभित्र टिकटको दौडमा तेस्रो नम्बरमा रहेको सर्वेक्षणले देखाएको छ ।

काङ्ग्रेसका क्षेत्रीय सदस्य खड्का पछिल्लो पटक पार्टी गतिविधिमा सक्रिय देखिन्छन् । यी बाहेक पनि वडा नं. १० को अध्यक्षका आकांक्षी काङ्ग्रेस भित्र अन्य पनि देखिन्छन् । जसमा जीवनकुमार प्रधान, रविन बस्नेत र अजय घिमिरेको नाम पनि वडा अध्यक्षका आकांक्षीका रुपमा आएको छ ।

एमालेमा वीपी पहिलो
नेकपा एमालेको तर्फबाट वडा नं. १० मा अध्यक्षको उम्मेद्वार बन्ने दौडमा युवा नेता वीपी भट्टराई पहिलो नम्बरमा छन् । युवामाझ लोकप्रिय भट्टराई पार्टी भित्रबाट वडा अध्यक्षको टिकट पाउने सम्भावनामा दोस्रो नम्बरमा रहेको सर्बेक्षणले देखाएको छ । एमाले मेचीनगरका वर्तमान सचिव कृष्ण कनाल वडा अध्यक्षको टिकटको दौडमा दोस्रो नम्बरमा देखिएका छन् ।

बजार क्षेत्रमा राम्रो पकड बनाएका युवा व्यवसायी कनाल सर्वेक्षणका आधारमा टिकटको दौडमा दोस्रो स्थानमा देखिएका छन् । त्यस्तै, धुलावारीका स्थापित व्यवसायी नरप्रसाद पौडेल वडा अध्यक्षको दौडमा तेस्रो नम्बरमा रहेका छन् । सर्बेक्षण अनुसार परिपक्क नेता पौडेल तेस्रो रोजाइमा पर्ने देखिएको छ । उक्त वडामा एमालेबाट अध्यक्षको टिकटको दौडमा मेचीनगर नगरपालिकाका पूर्व कर्मचारी माधव पौडेल, धुलावारी खानेपानीका उपाध्यक्ष अशोककुमार खडोलिया र अनिल पौडेल समेत रहेको सर्वेक्षणले देखाएको छ ।

माओवादीमा गोपालको पल्ला भारी
मेचीनगर वडा नं. १० को वडा अध्यक्षको टिकटको दौडमा नेकपा माओवादी केन्द्रभित्र गोपाल गुप्ताको पल्ला भारी देखिएको छ । धुलाबारीका पुराना ब्यवसायी गुप्ता माओवादी केन्द्रबाट टिकट पाउनेमा पहिलो नम्बरमा रहेको सर्बेक्षणले देखाएको छ । त्यस्तै दलबहादुर कट्टेल वडा अध्यक्षको टिकटको दौडमा दोस्रो नम्बरमा रहेका छन् । माओवादीका पाका नेता कट्टेल गुप्तापछि टिकट पाउनेमा दोस्रो रहेको सर्बेक्षणमा देखिएको छ । पूर्व जनप्रतिनिधि हृदय राजबंशी माओवादी केन्द्रबाट वडा अध्यक्षको टिकट पाउनेमा तेस्रो नम्बरमा रहेको सर्बेक्षणले देखाएको छ । माओवादी केन्द्रमा १० नं.वडाका लागि अध्यक्षमा बाबुराम राजबंशी र रामहरि नेपालको नाम समेत सर्बेक्षणका क्रममा देखिएको छ ।

नयाँ शक्तिबाट गोकुल
नयाँ शक्ति नेपालको तर्फबाट वडा नं. १० को वडा अध्यक्ष पदमा गोकुल हुमागाईंले टिकट पाउने सम्भावना बलियो देखिएको छ । सामाजिक क्षेत्रमा क्रियाशील युवा व्यवसायी हुमागाई पार्टीभित्र वडा अध्यक्षका टिकटको दौडमा पहिलो नम्बरमा रहेको सर्वेक्षणले देखाएको छ । नयाँ शक्तिबाट चन्द्रजीत राई वडाध्यक्षको दौडमा दोस्रो र लिला खड्का तेस्रो नम्बरमा रहेको सर्वेक्षणमा देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: