शनिश्चरे । अर्जुनधारा नगरपालिकाले भ्रमण बर्ष २०२० को अवसरमा आयोजना गरेको नगर महोत्सव जारी छ ।
नगरले पर्यटन बर्षलाई प्रर्बधन गर्ने उद्देश्यले नगरका प्रत्येक वडामा महोत्सव आयोजना गर्दै आएको हो । त्यसैक्रममा मङ्गलवार वडा नं १० मा महोत्सव आयोजना भएको छ ।
वडा नं १० मा विविध कार्यक्रम गरी महोत्सवको उद्ुघाटन गरिएको छ । महोत्समा कला, संस्कृति, साहित्य लगायतका कार्यक्रम गरिएको थियो । महोत्सवमा स्वास्थ्य शिविर, कृषि सेवा, पशु सेवा लगायतका सेवाहरु वडाबासीलाई प्रदान गरिएको थियो ।
कार्यक्रममा विभिन्न जातिय नृत्य तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । त्यसैगरी माटो तथा मल परिक्षण प्रयोगशाला सुरुङ्गाको प्राविधिक सहयोगमा निःशुल्क स्थलगत माटो परिक्षण शिविर तथा श्रीनाथ गण चारआलीले सर्पदंश सम्बन्धि जनचेतनामुलक कार्यक्रम समेत आयोजना गरेको थियो ।
कार्यक्रममा कलाकार विलशन बिक्रम राई र बुद्धि तामाङको समेत उपस्थिति थियो । अर्जुनधारा वडा नं.१० का अध्यक्ष वलदेवसिंह गोम्देनको सभापतित्वमा भएको महोत्सव उद्घाटन कार्यक्रममा प्रदेश नं.१ का सभा सदस्य झलकसिंह दर्लामीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा नगरपालिकाका प्रमुख हरिकुमार राना तथा उपप्रमुख कमला खतिवडा आचार्यको बिशिष्ट आतिथ्यतामा रहेको थियो । वडा सदस्य सकुन्तला वरालले स्वागत गरेको कार्यक्रमको सञ्चालन वडा सदस्य भोला वरालले गरेका थिए ।