वन्यजन्तुका कारण बुद्धशान्तिबासी समस्यामा

  प्रकाशित मिति
६ माघ २०७७, मंगलवार ०६:४३



झापा, ६ माघ । जंगली हात्तीको समस्याबाट पीडित बनेका बुद्धशान्ति गाउँपालिकाका बासिन्दा बाँदर, मृगलगायतका वन्यजन्तुको कारण पछिल्लो समय झन् ठूलो समस्यामा परेका छन् ।

रातभर जंगली हात्तीको आक्रमणबाट जोगिन जाग्राम बस्दै आएका बुद्धशान्ति २ र ३ का बासिन्दा उज्यालो भएपछि बाँदर, हरिण, मृग र मयुरले आफूले लगाएको अन्नबाली र तरकारी बाली खाएर नष्ट गर्न थालेपछि थप समस्यामा परेका हुन् ।

नजिकै रहेको आदर्श नमूना सामुदायिक वन र किसानले लगाएको रबर खेती घना बनेसँगै मानवबस्ती भित्र बन्यजन्तुको आक्रमण बढी हुने गरेकोे मानव र बन्यजन्तु द्वन्द्व निरुपण समितिका अध्यक्ष सीताराम बास्तोलाले बताए ।

“सुरुमा हात्तीको मात्र समस्या थियो”, उनले भने “अहिले बाँदरले घरमा पकाएर राखेको भात समेत खाएर हैरान पारेको छ । रातभर हात्ती लखेट्यो, उज्यालो भएपछि बाँदर र मृग, हरिण ।” उनले वन्यजन्तुका कारण बुढाबुढी र बालबालिकामा मनोबैज्ञानिक असर समेत परेको बताए ।

बास्तोलाकै अध्यक्षतामा समिति निर्माण गरेर स्थानीय तह, जिल्ला प्रशासन कार्यालय र डिभिजन वन कार्यालयलाई समेत वन्यजन्तु नियन्त्रणका लागि दबाब सिर्जना गरेको बताउनुभयो ।

बर्षभरि खानका लागि किसानले जो गरेको अन्न बारीमा खाइदिने र घरमा थन्काएको अन्न समेत बाँदर र हात्तीबाट जोगाउन समस्या भएपछि किसान थप पीडित बनेका छन् ।

दिनभर किसानले लगाएको रबर खेती र बनमा बस्ने हात्ती अनि रातभर बस्ने अन्य वन्यजन्तुले दिएको दु ःखका कारण स्थानीयबासीले बसाई सर्नुपर्ने बाध्यता आइसकेको स्थानीय मुना खतिवडाले बताइन् । “ज्यान जोगाउनु कि अन्न” उनले भनिन् “अब बसाई सर्नुको विकल्प नै छैन ।”

डिभिजन वन कार्यालय झापाका कर्मचारी ओम भट्टराईले हात्तीको समस्या रहे पनि अन्य वन्यजन्तुको समस्या बारे थाहा नभएको बताए । उनले जिल्लामा रहेका १३÷१४ वटा रैथाने हात्तीले जलथल, दुहागढी, पृथ्वीनगरलगायतका क्षेत्रमा समेत दुःख दिइरहेका कारण स्थानीय माग बमोजिम वनको साइरनसहितको गाडी बुद्धशान्तिमा मात्र राख्न नसकिने बताए ।

उनले वनका सीमित कर्मचारीले रातभर सबै क्षेत्रमा सुरक्षा दिइरहेको बताउँदै भने “आफू केही नगर्ने अरुसँग मात्र भरपर्ने हुँदा पनि समस्या बढेको हुनसक्छ । स्थानीय सामुदायिक वनसँग भएको ट्याक्टरमा साइरन जोडेर हात्ती खेदाउन उहाँहरु आफैंले पनि सक्नुहुन्छ, प्रहरी चौकी राखे जस्तो वनका कर्मचारी सधै राख्न सकिदैन ।”

उनले स्थानीय सामुदायिक वनसँग भएको ट्याक्टरमा रु. पाँच हजारको साइरन जडान गरेर बुद्धशान्तिवासीले जंगली हात्ती लेखेट्न आफै पनि सक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: